close

अनलाइन कक्षामा खुला विश्वविद्यालय र दूरशिक्षा केन्द्रको अनुकरणीय अभ्यास

युजु खालिङ युजु खालिङ

साउन ६, २०७७ १४:३४

अनलाइन कक्षामा खुला विश्वविद्यालय र दूरशिक्षा केन्द्रको अनुकरणीय अभ्यास

काठमाडौं । कोभिड १९ का कारण जारी लकडाउनको प्रभाव शैक्षिक क्षेत्रमा व्यापक देखिएको सन्दर्भमा तपाईं हामी सबै विदितै छौं । यो संक्रमणकालीन शैक्षिक संकटलाई समाधान गर्न सबैजसो शैक्षिक संस्थाहरु अहिले खुला तथा दूरशिक्षाको अभ्यासमा जुटिरहेका छन् । तर बिना तयारी अचानक आइपरेको परिस्थितिसँग जुध्ने अन्तिम अस्त्रको रुपमा प्रयोग भइरहेको अनलाइन शिक्षालाई लिएर देशभर मतभेद तथा अलमलको स्थिति समेत देखा परेको छ । 

कनेक्टिभिटी र डिजिटल उपकरणको अभावमा यो प्रणालीको अभ्यास गर्दा शैक्षिक समानताको खाडल अझ वृहत् भएर जाने चिन्ता एकातिर छ । कतिपयले प्रयोगात्मक विषयका पाठ्यक्रमहरु अनलाइन माध्यम सुहाउँदो नभएको भन्दै यसलाई अप्रभावकारी ठहर गरिरहेका छन् । महामारी व्यापक रुपमा फैलिरहेको अवस्थामा प्रत्यक्ष कक्षामा सहभागी हुनसक्ने स्थिति छैन ।

कनेक्टिभिटी विस्तारको काम महामारीको कारणले झन् सुस्ताएको छ । स्मार्टफोन तथा ल्यापटप जस्ता ग्याजेट सामग्री किन्नसक्ने गरी सबैको हैसियत बनिसकेको छैन । महामारीकै कारण बजारमा ग्याजेट सामग्रीको अभाव देखिन थालेको छ र फेला परिहाले पनि झन् महंगो हुनथालेको छ । यस्तो अवस्थामा विद्यार्थीहरुको शैक्षिक क्यालेण्डरलाई खराब हुन नदिन दूरशिक्षा अबलम्बन गर्नु बाहेक हामीसँग अन्य विकल्प छैन । 

तर यो विकल्पभित्र थुप्रै विधि छन् र विद्यार्थीको पहुँच अनुसार ती विधिको समुचित प्रयोग गरेर अहिलेको अवस्थालाई सम्बोधन गर्नु पर्ने टड्कारो आवश्यकता छ । सिंगो मुलुक एकैपटक अचानक यसरी दूरशिक्षा प्रणालीको अभ्यास गरिहरँदा हामी प्रविधि र पूर्वाधारमा अगाडि रहेका विकसित तथा पश्चिमा मुलुकहरुको अभ्याससँग आफूलाई तुलना गरेर टिठ मानिरहेका छौं ।

तर हाम्रै देश नेपालमा पनि दूरशिक्षा तथा खुला शिक्षालाई नै आफ्नो मोडल बनाएर लामो समयदेखि अध्ययन अध्यायपन गराउँदै आइरहेका शैक्षिक संस्था पनि छन् । यिनै शैक्षिक संस्थाको अनुभव र पहलकदमी यो संकटको अवस्थामा धेरैका लागि अनुकरणीय हुने अपेक्षा गर्न सकिन्छ । 

Nepal Open University - Home | Facebook

दूरशिक्षाको अभ्यास गराउँदै आइरहेको नेपालको एकमात्र नेपाल खुला विश्वविद्यालयमा अहिले देशभरीका दुई हजार विद्यार्थीहरु अध्ययनरत छन् । चार वर्ष अघि स्थापना भएको यो विश्वविद्यालयले पछिल्लो दुई वर्षदेखि दूरशिक्षा अर्थात् अनलाइनबाटै अध्ययन अध्यायपन गराउँदै आइरहेको छ । यही मोडालिटीका कारण विश्वविद्यालयले कोरोना महामारी तथा लकडाउनको समयमा चौतर्फी सराहना बटुलिरहेको छ र वर्षैपिच्छे विद्यार्थीहरुको आकर्षण थपिँदै छ । 

हाल विश्वविद्यालयले अध्ययन टूलको रुपमा माइक्रोसफ्टको टिम्स प्रयोग गरिरहेको छ । यसबाहेक विश्वविद्यालयको आफ्नै लर्निङ म्यानेज्मेन्ट सिस्टम एलएमएस पनि छ । उक्त सिस्टम एउटा ओपनसोर्स सफ्टवेयर हो । त्यसलाई विश्वविद्यालयका ई लर्नर तथा सूचना प्रविधि अधिकारी पदमराज पन्तले सन् २०१८ मा आफैंले कस्टमाइज गरेका हुन् । 

‘जब विद्यार्थी हाम्रो विश्वविद्यालयमा भर्ना हुन्छन्, तब हामी उनीहरुलाई यूजरनेम र पासवर्ड दिन्छौं,’ पन्त भन्छन्,  ‘सिस्टमभित्र उनीहरुले लग ईन गरिसकेपछि त्यसभित्र रहेका पाठ्य सामग्री र अन्य संसाधनहरुमा पहुँच पाउन सक्छन् । गृहकार्य पनि त्यसैमार्फत बुझाउन सक्छन् ।

उनीहरुका सम्पूर्ण गतिविधि त्यहीबाट निरीक्षण हुन्छ । ग्रेडिङ पनि त्यसैमा हुन्छ । कुन विद्यार्थी कति समयसम्म उक्त सिस्टमभित्र बस्यो, के हेर्‍यो वा के हेरेन, कतिवटा असाइनमेन्ट बुझायो, कुन ठाउँबाट कुन आईपी एड्रेसबाट लग ईन गर्‍यो ती सबै कुरा हेर्न सकिन्छ ।’

कक्षाको दैनिक गतिविध नोट, रेकर्डिङ सबै उक्त सिस्टमभित्र राख्ने गरिएको छ र कुनै विद्यार्थीको कक्षा छुट्यो भने त्यो सिस्टमभित्र हेरेर विद्यार्थीहरुले सिक्न सक्ने वातावरण समेत सिस्टमभित्रै समाहित छ ।

विश्वविद्यालयमा अहिले स्नातकोत्तर तहमा ‘म्यानेजमेन्ट ल’, ‘हेल्थ साइन्स एण्ड टेक्नोलोजी’ र ‘सोसल साइन्स एण्ड एजुकेसन’ गरी तीन संकायहरुमा अध्यापन गराइन्छ । यी विषयहरु पनि प्राविधिक विषय नै हुन् । यस्ता विषयको अध्ययन हुँदा ल्यापटपबाट प्रोजेक्सनको भरपूर प्रयोग हुने गर्छ । यहाँ ल्याव केन्द्रीत विषय भने उपलब्ध छैनन् । साथै विश्वविद्यालयले शैद्धान्तिक विषयहरुमा एमफिलको शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।  

विदेशतिरको शैक्षिक अभ्यासलाई हेर्ने हो भने त्यतातिर ८० प्रतिशत अध्यापन प्रत्यक्ष रुपमा भौतिक कक्षाकोठाभित्र हुन्छ भने बाँकी २० प्रतिशत अनलाइनबाट गराइन्छ । तर खुला विश्वविद्यालयमा सत् प्रतिशत कक्षा अनलाइनमै सञ्चालन हुन्छन् । धेरै अप्ठ्यारा तथा प्रयोगात्मक शैक्षिक गतिविधिलाई व्यवस्थापन गर्न विश्वविद्यालयले तीन महिनामा एकपटक भौतिक उपस्थितिको व्यवस्था पनि मिलाएको छ । 

यहाँ अध्ययन गरिरहेका अधिकांश विद्यार्थीहरु श्रमजीवी विद्यार्थीहरु हुन् । भौतिक दूरी तथा कार्यव्यस्ताको कारण त्यस्ता विद्यार्थी खुला विश्वविद्यालयमा भर्ना हुने गरेका छन् । ‘कोभिड १९ अगाडि पनि हाम्रोमा रेस्पोन्स राम्रो थियो । पचास जनाको कोटा थियो, तर सयजना जति आउँथे । हामी अन्तरवार्ता, इन्ट्रान्स लिएर मात्र भर्ना गर्थ्यौं । अहिलेको सन्दर्भमा यसको माग र औचित्य अझै बढेको छ । पछिल्लो समय अन्य विश्वविद्यालय पनि यसमा गइरहेका छन्,’ पन्त भन्छन्, ‘यो परिपाटी अझै बढ्दै जाने निश्चित छ ।’ 

बाहिरको ट्रेण्ड हेर्दा अनलाइन कक्षामा ड्रपआउट रेसियो (कक्षामा गयल हुने दर) धेरै हुन्छ । तर खुला विश्वविद्यालयमा डेडिकेटेड विद्यार्थीहरु हुन्छन् । यस्तो मोडालिटी पाए पढ्थ्यौैं भन्नेहरु नै विश्वविद्यालयमा आउने गर्छन् । कार्य व्यस्तताले पढाई पुरा गर्न नसकेका विद्यार्थीहरु नै खुला विश्वविद्यालयमा पढिरहेका छन् । 

विश्वविद्यालयले अब भर्नाका लागि अन्तरवार्ता समेत अनलाइनबाट लिने तयारी गरिरहेको उनले सुनाए । साथै विश्वविद्यालयले सातवटै प्रदेशमा एउटा एउटा सेन्टर बनाउने योजना पनि उनले टेकपानालाई सुनाए । यस्तै विगत पाँच वर्षदेखि खूल्ला तथा दूरशिक्षाको अभ्यास गर्दै आइरहेको देशको अर्को सरकारी शैक्षिक संस्था हो खुला तथा दूरशिक्षा केन्द्र ।  

त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रमलाई डुअल मोडालिटीमा लाने उद्देश्यले पाँच वर्ष अघि स्थापना भएको त्रिविको खुला तथा दूरशिक्षा केन्द्रले अहिले चौंथो ब्याजलाई अध्यापन गराइरहेको छ । केन्द्रमा अहिले त्रिविकै दुई विषयहरु अंग्रेजी र गणित शिक्षाको स्नातकोत्तर तहको अध्यायपन भइरहेका छन् । राजनीतिशास्त्र र सार्वजनिक प्रशासन विषयलाई समेत यो मोडालिटीमा ल्याउने योजना बनिरहेको खुला तथा दूरशिक्षा केन्द्रका निर्देशक डा. गंगाराम गौतमले बताए । 

1

हाल यहाँ पहिलो नयाँ ब्याचमा अंग्रेजी तर्फ ३० र गणित तर्फ १४ जना विद्यार्थीहरु अध्ययनरत छन् । ‘अहिले हाम्रो चौथो ब्याच भएको कारण पहिलो ब्याचले थेसिस मात्र लेखिरहेका छन् । ग्र्याजुएट भइसकेका छैनन्,’ केन्द्रको अनुभव सुनाउँदै निर्देशक डा. गौतम भन्छन्, ‘पहिले त अनलाइन शिक्षा दोस्रो प्राथमिकताको शिक्षा हो कि भनेर विद्यार्थीको खासै आर्कषण थिएन । अहिले प्रयोग गर्दै गएपछि आकर्षण बढ्न थालेको छ ।’ 

केन्द्रले पनि अहिले लर्निङ टूलको लागि माइक्रोसफ्ट टिम्स र लर्निङ म्यानेजमेन्ट सिस्टमको रुपमा मोडलको प्रयोग गरिरहेको छ । केन्द्र आफैले मोडललाई कस्टमाइज गरेर प्रयोगमा ल्याएको हो । केन्द्रसँग सन् २०१५ देखिकै अनलाइन शिक्षा प्रणालीको जग भएको हुँदा कोभिड १९ को संकटले समेत उसलाई खासै प्रभाव पार्न सकेको छैन ।

पुरानै पूर्वाधार र अनुभवलाई टेकेर यो लकडाउनको समयमा केन्द्रले अध्ययन अध्यापनलाई निरन्तरता दियो । यद्यपी लकडाउनका कारण विद्यार्थीहरु सबै घर फर्किएका थिए । उनीहरु सबैलाई जोड्न चुनौती थियो र शिक्षकहरु पनि नयाँ प्रविधिसँग पूर्ण रुपमा अभ्यस्त भइसकेका थिएनन् । 

‘विद्यार्थीहरु सबै लकडाउनका कारण बाहिर थिए । उहाँहरुलाई कसरी एक ठाउँमा ल्याउने भन्ने चुनौती थियो ।  हामीले सबैभन्दा पहिले विभिन्न माध्यमबाट शिक्षक र विद्यार्थीहरुबीच सम्बन्ध स्थापित गराउने काम गर्‍यौं । दोस्रोमा हामीले सजिलै विद्यार्थी तथा शिक्षकहरुलाई माइक्रोसफ्ट टिम्सबाट क्लास लिन दुई दिनको प्रशिक्षण प्याकेज बनाएर तालिम दिन थाल्यौं,’ डा. गौतमले भने । 

त्रिविलाई यसरी सहायता दिँदै छ खुला तथा दूरशिक्षा केन्द्र 

हाल केन्द्रले त्रिभुवन विश्वविद्यालयका शिक्षकहरुको पेशागत  विकासका लागि सूचना तथा सञ्चार प्रविधिको अल्पकालीन कोर्षहरु पनि सञ्चालन गरिरहेको छ । ‘आईटीलाई शिक्षण विधि (पेडागोजी)मा कसरी एकीकृत गर्ने भनेर हामीले अहिले शिक्षकहरुको प्रशिक्षण कोर्ष सञ्चालन गरिरहेका हौं ।

कोभिडपछि देशभर रहेका त्रिविका शिक्षकहरुलाई प्रशिक्षण दिने योजनामा छौं । उहाँहरु नौं हजारको संख्यामा हुनुहुन्छ । हरेक आंगिक क्याम्पसका प्राविधिक अधिकृतलाई प्रशिक्षण दिन्छौं । अहिले हामी करिब ३५ सय जना शिक्षकहरुलाई प्रशिक्षण गराइरहेका छौं,’ निर्देशक गौतमले सुनाए ।

त्रिविको सम्पूर्ण कार्यक्रमलाई अनलाइन लाइभ क्लासबाट चलाउन व्यापक रुपमा शिक्षक प्रशिक्षण कार्यक्रम केन्द्र आफैंले सुरु गरेको छ । माइक्रोसफ्टसँग सम्झौता गरेर शिक्षकहरुका लागि युजर आईडीको लाइसेन्स पनि लिइसकेको उनले बताए । ‘अहिले हामीले लाइभ कक्षा मात्र लिएर भएन, विद्यार्थीहरुको सहभागीता, अन्तरक्रिया, असाइनमेन्ट, एसेसमेन्ट, सञ्चार सबै कुरालाई प्रवर्द्धन गर्ने काम गरिरहेका छौं ।

हाम्रा पाठ्यक्रमहरु भौतिक कक्षामा पढाउने गरी  डिजाइन भएका छन् । त्यसलाई अनलाइनबाट पढाउनु अर्को चुनौतीको विषय हो । हामी निकट भविष्यमा पाठ्यक्रमलाई पनि अनलाइनबाट पढाउन मिल्ने गरी परिमार्जन गर्नुपर्छ भनेर चरणवद्ध रुपमा काम गरिरहेका छौं ।’ 

यस्तै अहिले केन्द्र र त्रिविको पहलमा त्रिविका सम्पूर्ण ११७ वटै आंगिक क्याम्पसहरुमा आईसीटी सपोर्ट युनिट राख्ने काम सुरु भइसकेको छ । जसमा अहिले ९५ वटा युनिट तयार भइसकेको गौतमले जानकारी दिए । ती युनिटमा प्राविधिक, शिक्षक र प्रशासनका कर्मचारी राखिने र त्यसलाई हार्डवेयर र सफ्टवेयरले सशक्त पारिने योजना रहेको उनले सुनाए । शिक्षकहरुलाई प्रशिक्षण दिइसकेपछि विद्यार्थीहरुलाई पनि त्यो सपोर्ट युनिटबाट सहयोग दिइने गौतमको भनाई छ । 

‘हामी हरेक क्याम्पसको एकजना शिक्षक र एकजना कर्मचारीलाई टेक्निकल एडमिन सम्बन्धी तालिम दिइरहेका छौं । उहाँहरुले क्लास सेटअप गर्नुहुन्छ र विद्यार्थीलाई क्याम्पसले ट्रेस गरेर फोनमार्फत एसएमएसबाट लिंकहरु पठाइदिन्छ । त्यसपछि शिक्षकले पढाउँछन्,’ डा. गौतमले भने ।

कनेक्टिभिटीको समस्या समाधान गर्न इन्टरनेट सेवा प्रदायकहरुसँग समेत विशेष प्याकेजका लागि कुराकानी भइरहेको छ। नेपाल टेलिकम र एनसेलले त्यस्तो विशेष प्याकेज ल्याइसकेका छन् । ‘स्थानीय विकास मन्त्रालय अन्तर्गत सबै वडा कार्यालयलाई प्रविधिमैत्री बनाउने सरकारको योजना छ । त्यहीँ योजनामा टेकेर हामीले त्यो सेन्टरमार्फत विद्यार्थीलाई कसरी सेवा दिन सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने । 

त्रिभूवन विश्वविद्यालयले अहिले अनलाइन, प्रत्यक्ष र अनलाइन प्रत्यक्ष ब्लेन्डेड गरी तीन ‌ओटै पद्धतिलाई सँगसँगै लैजाने योजना बनाएको उनी बताउँछन् । दूरशिक्षा भन्ने बित्तिकै अहिले सबैले इन्टरनेटमा आधारित शिक्षा बुझ्ने गर्छन् । तर अहिले आएको प्रविधि नयाँ कुरा हो । हुलाकबाट पुस्तक पठाएर, टेलिफोन, रेडियो जस्ता आम सञ्चार माध्यमबाट शिक्षा प्रसार गर्नु पनि दूरशिक्षा नै हो ।

अनलाइन शिक्षालाई विद्यार्थीहरुको पहुँचको आधारमा परिभाषित गर्नुपर्ने खुला विश्वविद्यालयका सूचना प्रविधि अधिकृत पदमराज पन्त बताउँछन् । ‘अष्ट्रेलियाको विश्वविद्यालयको कुरा गर्ने हो भने उनीहरुले अनलाइनमा सामग्रीहरु राख्छन्, एफएममा पनि अडियो प्रशारण गर्छन्, वेबसाइटमा अडियो, भिडियो, वर्ड फाइल सबै हुन्छ ।

सरकारले स्थानीय क्षेत्रमा स्थानीय सर्भरलाई कतै लगेर मोबाइल एपहरुमा इन्स्टल गराइदिएको हुन्छ । कुनै समय विद्यार्थीहरु अनलाइन भएको बेला ती सामाग्रीहरु देख्न सक्छन् । अध्यापनका विभिन्न विकल्पहरु छन् । ग्रामीण क्षेत्रमा आईएसपीहरुले पहुँच बढाउँदै लगिरहेका छन् । स्थानीय निकायको मातहतमा शिक्षा समायोजन गर्ने काम भइरहेको छ ।

उनीहरुले स्थानीय शैक्षिक क्षेत्रसँग सहकार्य गरेर त्यहाँ आफ्नै केन्द्रमा इन्टरनेट कनेक्टिभीटी छ भने लर्निङ सेन्टर थप गर्न सक्छन्,’ पन्त भन्छन् । विश्व बैंकको एक रिपोर्ट अनुसार अहिले धेरै मुलुकहरुले अनलाइन टूलको अलावा टेलिभिजन, रेडियो, युट्युव तथा फेसबुक जस्ता सजिलै उपलब्ध हुने माध्यमबाट नै पठनपाठन सञ्चालन गरिरहेका छन् ।

शिक्षा प्रवाहको अलावा व्यवस्थापनको पाटो पनि प्रमुख हुन्छ । तर शैक्षिक संस्थाले लर्निङ म्यानेजमेन्ट सिस्टमबाट पनि त्यसको व्यवस्थापन गर्न सक्छन् । त्यसबाहेक यो संकटको घडीमा शैक्षिक गतिविधिलाई सहजीकरण गर्ने आफ्नै स्तरको भूमिका पनि हुनसक्छ । केन्द्रका निर्देशक डा. गौतम दीर्घकालमा अनलाइन कक्षाले भौतिक कक्षालाई पूर्णरुपमा विस्थापन गर्न नसक्ने बताउँछन् ।

किनभने त्यसमा, सामाजिक तथा मनोवैज्ञानिक पाटाहरु रहेका छन् । त्यसलाई प्रविधिले त्यति चाँडै विस्थापन गर्न सक्दैन । तर विश्वविद्यालयहरुमा केही विषयहरु पूर्णरुपमा अनलाइनमा लैजान भने सकिन्छ ।अहिले प्रविधिलाई टूलको रुपमा प्रयोग गर्दै जान कोभिड १९ ले एक किसिमको अवसर दिएको उनको बुझाई छ । अहिलेको अवस्थामा जे सम्भव छ, त्यसैबाट अध्ययन अध्यापनको कार्य अगाडि बढाउनुपर्ने निर्देशक गौतम बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४