close

कम्पनीमा दर्ता ईकमर्सलाई उद्योगमा नगरेको भन्दै कारबाही

टेकपाना टेकपाना

साउन ७, २०७७ १०:३५

कम्पनीमा दर्ता ईकमर्सलाई उद्योगमा नगरेको भन्दै कारबाही

काठमाडौं । वाणीज्य, आपूर्ति तथा उपभाेक्ता संरक्षण विभागले दर्ता नगरी सेवा सञ्चालन गरेको भन्दै ईकमर्स कम्पनीहरुमाथि कारबाही सुरु गरेको छ । विभागले दर्ता नगरी अनलाइन व्यवसाय संचालन गरेकाेले आरोपमा अफरिङ ह्यापिनेस नामक ईकमर्स कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागले उपभाेक्ता संरक्षण ऐन २०७५ काे दफा (२०) (२) अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेकाेले भन्दै सोही ऐनको दफा (३८) (ट) अनुसारको कसुर गरेका कारण दफा (३९) (घ) अनुसार उक्त जरिवाना गरिएको उल्लेख गरेको छ ।

ऐनको उक्त व्यवस्थामा कम्पनी दर्ता नगरी व्यवसाय सञ्चालन गरेको खण्डमा तत्काल ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान रहेको छ । दर्ता नगरी ईकमर्स सेवा सञ्चालन गर्दा उपभोक्ता ठगिन सक्ने भन्दै विभागले जरिवानाको सजाय गरेको हो ।

अफरिङ ह्यापिनेसले विगत तीन वर्षदेखि काठमाडौं उपत्यकामा विभिन्न किसिमका गिफ्टका सामग्रीहरु अनलाइन अर्डरको आधारमा होम डेलिभरीको सेवा दिँदै आइरहेको छ । अफरिङ ह्यापिनेस कम्पनीका सहसंस्थापक सन्तोष पाण्डेले आफूहरुले कम्पनी रजिस्टारको कार्यालय र वडा कार्यालयमा व्यवसाय दर्ता गरी ईकमर्स सेवा दिँदै आएको बताए ।

‘हामी २०७३ सालदेखि नै ईकमर्स व्यवसाय गर्दै आइरहेका छौं,’ उनले गुनासो गर्दै भने, ‘हामीलाई २०७५ मा आएको ऐन देखाएर ईकमर्स कम्पनीको रुपमा उद्योग विभागमा दर्ता नगरी सेवा सञ्चालन गरिएको भन्दै जरिवाना गराउने काम भयो ।’

उनले उद्योग विभागमा समेत व्यवसाय दर्ताका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको समेत जानकारी दिए । ‘हामीलाई अनलाइन व्यवसाय गर्न उद्योग विभागमा समेत दर्ता हुनुपर्छ भन्ने कुनै जानकारी थिएन,’ पाण्डेले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४