close

ट्वीटर ह्याक प्रकरणः ३६ जनाको डीएमसम्म पहुँच पाएको पुष्टि

टेकपाना टेकपाना

साउन ८, २०७७ १४:१९

ट्वीटर ह्याक प्रकरणः ३६ जनाको डीएमसम्म पहुँच पाएको पुष्टि

काठमाडौं । गत हप्ता चर्चित व्यक्तिहरुको ट्वीटर अकाउण्टमा हमला गरेको ह्याकरले ३६ वटा प्रयोगकर्ताको डाइरेक्ट म्यासेज (डीएम) सम्म पहुँच पर्‍याएको ट्वीटरले पुष्टि गरेको छ । ‘ह्याकरले लक्षित गरेका १३० अकाउण्टमध्ये ३६ वटाको डीएममा पहुँँच पाएको जस्तो लाग्छ, त्यसमध्ये एकजना नेदरल्याण्डका निर्वाचित सांसद् छन्,’ एक ट्वीट गर्दै बुधबार ट्वीटरले यो प्रकरणमा स्पष्ट पारेको छ ।

ट्वीटरका अनुसार बुधबारसम्म अन्य कुनै निर्वाचित सांसदको डीएमसम्म पहुँच पुर्‍याएको देखिएको छैन । गत हप्ता बिट्क्वाइन प्रवर्द्धन गर्ने ह्यााकरले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, जो बिडेन, एलन मस्क, जेफ बेजोस, किम कार्दासियन वेष्टजस्ता चर्चित व्यक्तिको ट्वीटर अकाउण्टमा हमला गरेको खबर सार्वजनिक भएको थियो ।

यसबाहेक ट्वीटरकै कर्मचारीको अकाउण्टमा हमला गरेर आन्तरिक प्रशासनिक सूचनामा समेत पहुँच राख्ने प्रयास गरेको पाइएको ट्वीटरले उल्लेख गरेको छ । ट्वीटर हमलाको यो प्रकरणपछि साइबर सुरक्षा विज्ञहरुले भने चिन्ता व्यक्त गरेका छन् ।

बिटक्वाइन प्रवर्द्धनका लागि खासगरी चर्चित व्यक्तिको अकाउण्टमा हमला गर्ने र व्यक्तिगत डेटा सार्वजनिक हुन सक्ने भन्दै सुरक्षा संवेदनशीलताप्रति उनीहरुले सचेत रहन आग्रह समेत गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४