close

यूजी बन्यो नेपालकै ‘पहिलो’ ईकमर्स सामाजिक सञ्जाल

टेकपाना टेकपाना

साउन ९, २०७७ १७:४६

यूजी बन्यो नेपालकै ‘पहिलो’ ईकमर्स सामाजिक सञ्जाल

काठमाडौं । स्टार्टअप कम्पनी अर्बन गर्ल्सले आफ्नो ईकमर्स प्लेटफर्मलाई सोसल ईकमर्स प्लेटफर्मको रुपमा अपग्रेड गरेको छ । कम्पनीले नेपालमै ‘पहिलो पटक’ सोसल ईकमर्सको रुपमा आफ्नो मोबाइल एप र बेव एपको बेटा भर्सनको परीक्षण थालेको हो ।

यूजीले हाल सातवटा नयाँ फिचरमा काम गरिरहेको छ । जुन कम्पनीको एपको नयाँ लोगोमा समेत देख्न सकिन्छ । गरगहनाको बिक्रीबाट सुरु भएको यूजीको अनलाइन व्यापार मेकअप, घर सजावटका सामग्रीहुँदै केक डलिभरीसम्मको सेवा दिँदै आइरहेको छ । 

सन् २०१६ मा आफ्नै केक फ्याक्ट्री स्थापना गर्न सफल यो कम्पनीले अहिले आफ्नो प्लेटफर्ममा थप छ वटा नयाँ सेवाहरु इन्टिग्रेट गरेको हो । 

यूजी बजारमा अहिले छ वटा नयाँ सर्भिस फिचरहरु थप गरेका छौं,’ कम्पनीका सहसंस्थापक तथा सीटीओ किरण तिमसिनाले भने, ‘अहिले हाम्रो एप गूगल प्ले स्टोरको प्रारम्भिक चरणमा छ । एप र वेब दुवैमा सबै फिचर समान रुपमा काम गर्ने छन् ।’ 

सोसल ईकमर्स यूजीमा यस्ता छन्, फिचरः

अटोमोबाइल

यूजी बजारले थप गरेको पहिलो सर्भिस फिचर हो, अटोमोबाइल । गत वर्षदेखि नै यो फिचरको विकास गर्न थालिएको तिमसिनाले बताए । यसमा ब्राण्ड कम्पनीले अटोमोबिल लिस्टिङ गर्न तथा प्रयोगकर्ताले त्यसै आधारमा बूकिङ गर्न सक्नेछन् ।

साथै सेवाग्राहीहरुले आफूले चलाएको अटोमोबाइलको फोटो एप ग्यालरीमा अपलोड गर्न तथा रिभ्यू गर्न सक्नेछन् ।  प्रयोगकर्ताले आफूले चाहेअनुसार अटोमोबाइलहरुको दायरा र आवश्यकता खुलाएर सर्च गर्न सक्छन् ।

यही मोड्युलमा भएको अटोमोबाइल फाइण्डर अप्सनले प्रयोगकर्तालाई उपयुक्त अटोमोबाइल सिफारिस गर्नेछ । त्यसैका आधारमा प्रयोगकर्ताले अटोमोबाइल सर्च गरेर बिक्रेता कम्पनीलाई अनुरोध पठाउन सक्छन् । 

एचआर मोड्युल 

यो मोड्युल अहिले आन्तरिक परीक्षणकै क्रममा छ । यो एउटा जब भ्याकेन्सी प्लेसमेन्ट सर्भिस (रोजगारी सम्बन्धी) फिचर हो । यसमा बुधबारदेखि इन्टरभ्यू मोडल थप गरेर परीक्षण जारी छ ।

यो मोडलमा विजनेस हाउसहरुले आफ्नो लागि आवश्यक भ्याकेन्सी लिस्टिङ गर्न सक्नेछन् । यसमा अहिले पनि केही भ्याकेन्सीहरु छन्, जुन तपाईंले यूजी बजारको वेबसाइटमा समेत देख्न सक्नुहुनेछ ।

‘हामीले आन्तरिक भ्याकेन्सी हाम्रै एचआर मोड्युलबाट पुरा गर्दै आएका थियौं । हाम्रो सिस्टम एकदमै प्रभावकारी भएकै कारण यसलाई अरुले समेत निःशूल्करुपमा प्रयोग गर्न सक्ने बनाउन खोजेका हौं’ सहसंस्थापक तिमसिनाले टेकपानालाई सुनाए ।

यसमा विजनेस हाउसहरुले आफ्नो भ्याकेन्सी क्रियट गर्न र क्यान्डिडेटहरुलाई सर्ट लिस्टिङ गर्न सक्छन्  । साथै क्यान्डिडेटहरुले पनि यसबाट सोझै सीभी  पठाउन सक्छन् । अनलाइन तथा अफलाइन इन्टरभ्यू, इन्टरभ्यूको नोटहरु राख्ने, त्यसलाई शेयर गर्ने र रिजल्ट प्रकाशन गर्न सकिने सुविधा पनि यसमा छ ।   

कन्टेस्ट फिचर

यूजीले साढे दुई वर्षदेखि प्रयोग गर्दै आइरहेको कन्टेस्ट फिचर (प्रतिस्पर्धा गराउन सकिने) मा तीन महिनाअघि व्यापक अपडेटपछि लाइभ गरेको थियो । सुरुमा यसमा फोटो कन्टेस्ट र भिडियो कन्टेस्ट मात्र रहेको थियो । 

सामान्यतया फेसबुकबाट कन्टेस्ट गरिरहेको कम्पनीले यसलाई थप व्यावसायिक बनाउन आफ्नै वेबसाइटमा सहभागी हुने, भोटिङ तथा कमेन्ट गर्न सकिने किसिमको मोड्युलको विकास गरेको हो । यसमा साथीहरुलाई एड गरेर सामाजिक सञ्जालमा जस्तै अन्तरक्रिया गर्न सकिन्छ । 

क्वीज मोड्युल

क्वीज मोड्युल चाहिँ रमाइलो गेम जस्तै हो । कम्पनीले आन्तरिक प्रयोजनका लागि बनाएको यो मोड्युल अरुलाई समेत उपयोगी हुने विश्वासका साथ बाहिर ल्याइएको हो ।

किरण भन्छन्, ‘यहाँ ईण्ड युजरहरुले समेत क्वीज क्रियट गरेर पोस्ट गर्न सक्छन् । जसमा क्वीजलाई प्राइभेट र पब्लिक दुवै तरिकाले पोस्ट गर्न सकिन्छ ।

पब्लिक रुपमा पोस्ट गरेको क्वीज सबैले देख्न सक्छन् । तर प्राइभेटको लागि भने लिंक शेयर गर्नुपर्ने हुन्छ । यसभित्र विभिन्न किसिमको क्वीज खेल्न सकिने फिचर छ ।’  

सोसल कनेक्सन 

नयाँ मोड्युलको रुपमा रहेको सोसल कनेक्सनमा एउटा प्रयोगकर्ताले  अर्कोलाई  कनेक्सन रिक्वेस्ट (फेसबुकको फ्रेण्ड रिक्वेस्ट जस्तै) पठाएर जोडिनुपर्ने हुन्छ । कनेक्ट भइसकेपछि साथीको बर्थडे, बेसिक प्रोफाइल, बायो, आफूले बिक्री गर्न राखेको सामान, कृयट गरेका क्वीजहरु सबै अर्को प्रयोगकर्ताले हेर्न सक्छन् ।

यो फेसबुकको कनेक्सन जस्तै हो । ‘हाम्रो उद्देश्य भनेको प्रयोगकर्ताहरुलाई एकअर्कासँग जोडेर  साथीभाईबीच एक क्लिकमा सोझै गिफ्ट पठाउन सक्ने बनाउनु हाे । यो फिचर एपमा सोमबारसम्म लाइभ हुने अपेक्षा गरेका छौं ।’  

अफर र बिडिङ

कम्पनीले इब्बेको जस्तै मोडलका लागि अक्सन र अफर फिचर विकास गरेको हो । यसमा हरेक सेवाग्राहीहरुले आफ्नो सामान सिधै बिक्री गर्न सक्छन् । सामान बिक्री गर्न अफर र बिडिङ दुई तरिका छन् ।

बिक्रेताले कुनै सामान बिडिङ सिस्टममा राख्दा बिड मूल्य पनि बढ्दै जान्छ र त्यो निश्चित अवधिभित्र सकिन्छ । निर्धारित समय सकिएपछि उच्च मूल्य कबोल गर्ने व्यक्तिले त्यो सामान किन्न सक्छ । सबै प्रक्रिया स्वचालित रुपमा हुने भए पनि अन्तिममा कारोबार भने म्यानुअल नै हुन्छ ।

जुन ईमेल र फोन नम्बरबाट समेत नै शेयर गर्न सकिन्छ । यसआधारमा क्रेता र बिक्रेताले एक आपसमा सम्पर्क गर्नसक्छन् ।

अफर फिचर

अफर फिचर नेपालको परम्परागत बार्गेनिङ (हाटबजारमा खशी किन्दाको सौदाबाजी जस्तै) जस्तै छ । यसमा बिक्रेताले कुनै सामान बिक्रीका लागि राख्दा क्रेताले नै निश्चित मूल्य अफर गर्न सक्छन् । एपले मूल्य अफर गर्ने तीनवटा मौका दिन्छ ।

अफर चित्त बुझ्दो भयो भने बिक्रेताले म्यानुअलरुपमा स्वीकार गर्छ । अफर गर्दैगर्दा क्रेताले भन्न मन लागेको कुरा नोट गरेर पठाउन सक्छ र बिक्रेताले त्यसलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने विकल्प रोज्न सक्छ । यो अफर सुविधा चाहिँ एक प्रयोगकर्ता र अर्को प्रयोगकर्ताबीच प्रयोग हुन्छ । 

ईकमर्स

यो यूजीको मूख्य मोड्युल हो । यसमा कम्पनीले आफ्ना सहित अरुका सामान समेत बिक्री गर्दै आइरहेको छ । यो चाहिँ कम्पनीको बिजनेस टू विजनेस मोडलमा आधारित छ । कम्पनीले मोड्युलमा समेत अपडेट जारी राखेको छ ।

अहिले तपाईंले यूजी एपमा कुनै पनि प्रडक्ट खोल्नु भयो भनें, बिक्रेताको एउटा डेडिकेटेड पेज फेला पार्न सक्नुहुन्छ । त्यहाँ बिक्रेताको आफ्नै मेनु, ब्याकग्राउण्ड, लोगो र प्रडक्ट लिस्टहरु देखिन्छ ।

यसमा बिक्रेताले ब्याक ईण्डमा बसेर सिंगो पेज नै कस्टमाइज गर्न सक्छन् । सेलर ड्यासबोर्ड आगामी सोमबारदेखि लाइभमा आउने कम्पनीले बताएको छ । 

सेलर लग ईन गरेपछि सबै कुरा कस्टमाइज गर्न सकिन्छ । आफ्नो अर्डर, मेनु सबै कुरा बिक्रेताले इच्छाअनुसार अरुभन्दा फरक र राम्रो बनाउन सक्छन् । प्रडक्टहरु सेलमा राख्नेदेखि डिस्काउन्ट कोड पनि क्रियट गर्न सकिन्छ ।

तर यो डिस्काउण्ट कोड सम्बन्धित बिक्रेताको वस्तुमा मात्र लागु हुन्छ । उदाहरणको लागि तपाईंको स्टोरमा सर्च गर्दा तपाईंको मात्र प्रडक्ट देखिनेछ । 

यी सबै फिचरमा कम्पनीले विगत दुई वर्षदेखि काम गरिरहेका थियो । तर अब भने सबै प्रडक्ट अन्तिम चरणमा पुगिसकेको किरणले बताए ।

साउन मसान्तसम्ममा यी सबै सर्भिस मोड्युल सहितको एप पूर्ण रुपमा सार्वजनिक गर्ने यूजीको योजना छ । ‘आवश्यक सबै संरचना तयार भइसकेको छ । साउन अन्तिमदेखि यसलाई पब्लिक बेटामा ल्याउँदै छौं ।’ 

यो एपले प्रयोगकर्तालाई धेरै प्रयोजनका लागि आपसमा जोडिने अवसर दिने कम्पनीले जनाएको छ । यूजी बजार अहिले बी टू बी (व्यवसाय-व्यवसाय), बी टू सी (व्यवसाय-ग्राहक), सी टू सी (ग्राहक-ग्राहक)  जस्ता विभिन्न किसिमका मोडलहरु अपनाउने तयारीमा छ । जसले यूजीलाई अब ईकमर्स प्लेटफर्मबाट सोसल ईकमर्स प्लेटफर्ममा रुपान्तरण गर्नेछ । 

एण्ड्रोइडमा यूजीको सोसल ईकमर्स एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०