close

पहिलो पुस्ताका नेपाली ‘लेडी ह्याकर’

युजु खालिङ युजु खालिङ

साउन १०, २०७७ १९:५०

पहिलो पुस्ताका नेपाली ‘लेडी ह्याकर’

काठमाडौं । एथिकल ह्याकिङको विषयमा नेपालमा बुझाई कम, तर भ्रम धेरै छ । यसैकारण यो क्षेत्र खासै फस्टाउन पाएको छैन । यद्यपी रुची देखाएर ह्याकिङको क्षेत्रमा प्रवेश गर्ने युवाहरुको जमात भने कम छैन । 

तुलनात्मकरुपमा अन्य क्षेत्रभन्दा नयाँ क्षेत्रको रुपमा रहेको साइबर सुरक्षामा महिला सहभागीता एकदमै न्यून छ । तर संख्या थोरै भए पनि यस क्षेत्रमा नेपाली युवा महिलाहरुले पाइला भने चालिसकेका छन् ।

२४ वर्षीय ऐश्वर्य केसीले तीन वर्ष अघि इस्लिङ्गटन कलेजको आईटी डिपार्टमेन्टमा इन्टर्नको रुपमा करियर सुरु गरिन् । त्यस अघि इस्लिङ्गटनमा पढेका कुनै पनि छात्राले त्यहीँको आईटी डिपार्टमेन्टमा इन्टर्न गर्ने साहस देखाउँदैनथे । कलेजबाट नेटवर्किङ विषयमा स्नातक तह पुरा गरेपछि इन्टर्नको अनुभवमा उनले रिगो टेक्नोलोजीमा काम थालिन् ।

त्यसपछि स्थानीय एक साइबर सेक्युरिटी कम्पनीहुँदै उनी अहिले एउटा बैंकलाई साइबर थ्रेटबाट जोगाउने अभिभारा सम्हालिरहेकी छिन् । एथिकल ह्याकिङमा सक्रिय उनी विभिन्न प्लेटफर्ममा बगबाउन्टीको काम पनि गर्छिन् । 

नेपाली एथिकल ह्याकर ऐश्वर्य केसी

‘म बच्चाबेलादेखि नै प्रविधिमा रुची राख्थें । घरको वाईफाई बिग्रयो भनेँ, आफैं बनाउथें । ह्याकर बन्न पढ्ने छुट्टै कोर्ष हुन्छ भन्ने कुरा पढ्दापढ्दै थाहा पाएँ । एउटा आधार बनाएर माथि उठ्न भनेरै इन्टर्नशिप थालेकी थिएँ,’ उनी आफ्नो विगत केलाउँदै भन्छिन्, ‘त्यो बेला सबै केटाहरु मात्र थिए । अहिले पनि म काम गर्ने मेरो डिपार्टमेन्टमा केटी मान्छे म एक्लै छु । अरु सबै छोरा मान्छेहरु छन् । गेम खेल्दा छोरा मान्छेहरुभन्दा धेरै प्वाइन्ट ल्याउन खोज्थेँ ।’ यही स्वभाव देखेर त्रिभुवन विमानस्थलमा एउटा प्रोजेक्टमा सँगै काम गरेका म्यानेजरले रिगोमा कम्पनीमा आवेदन दिन सुझाएका थिए । 

ऐश्वर्या जस्तै २२ वर्षे एरिका जोशी पनि विगत डेढ वर्षदेखि यो क्षेत्रमा सक्रिय बनेकी छिन् । आफूजस्तै रुची भएका महिलाहरु यो क्षेत्रमा ल्याउन उनी आफ्नो अनुभवलाई ब्लगहरुमा उतारिरहेकी हुन्छिन् । आफूले जानेको सीपलाई विभिन्न कम्युनिटीमा शेयर गर्ने एरिकालाई यो क्षेत्रमा उनकै रुची र कौतुहलता मेटाउने स्वभावले डोर्‍याउँदै ल्याइपुर्‍याएको हो ।  

इस्लिङ्गटन कलेजबाटै कम्प्युटर प्रोग्रामिङमा स्नातक एरिका हाल एउटा प्रविधि कम्पनीमा क्वालिटी अस्योरेन्स इञ्जिनियरको रुपमा काम गर्दै आइरहेकी  छिन् । प्रविधि कम्पनीहरुले क्वालिटी अस्योरेन्स र सेक्युरिटी टेस्टिङलाई फरक रुपमा लिएको उनलाई चित्त बुझ्दैन । यही असन्तुष्टिले एरिकामा सेक्युरिटीप्रति रुची जगायो ।

उनले आफ्नै स्तरबाट यसबारे अध्ययन थालिन् । रुची र जिज्ञासाले उनलाई ह्याकरको दुनियाँमा काम गरिरहेका सिनियर दाइहरुसँग चिनजान गरायो । उनीहरुबाटै गाइडेन्स र प्रेरणाले आफूलाई निखार्दै लगिन् । काम गरिरहेको कम्पनीमा  ‘ओपन टु आइडियाज र ओपन टु अपरच्युनिटीज’ बाट सिकेका कुराहरु लागु गर्दै उनी विस्तारै एथिकल ह्याकिङको क्षेत्रमा लागिन् । 

एथिकल ह्याकर एरिका जोशी

‘क्वालिटी अस्योरेन्स भनेपछि सेक्युरिटी पनि आउनु पर्छ भन्ने मलाई लाग्छ ।  आईटी कम्पनीहरुलाई आफू सेक्युरिटी कम्पनी होइन भन्दैमा  सेक्युरिटीमा ध्यान दिन जरुरी छैन भन्ने नहोस् । क्वालिटी अस्योरेन्स भइसकेपछि जति पनि प्रडक्टहरु कम्पनीबाट डेलिभर हुन्छन्, त्यसमा सेक्युरिटी होस् र पछि पनि सेक्युरिटी थ्रेट हुने संभावना नहोस् भनेरै म सुरुदेखि लागिरहेकी छु ।’

२२ वर्षीय श्रृंखला भट्टराई भने ऐश्वर्य र एरिकाभन्दा फरक शैक्षिक पृष्ठभूमिबाट आएकी हुन् । भौतिक विज्ञान विषयमा स्नातक श्रृंखलाले साइबर सुरक्षाको विषयमा औपचारिक अध्ययन पनि गरेकी छैनन् । क्रिप्टोजेन कम्पनीमा सेक्युरिटी एनालिसिस्टको रुपमा एकवर्षदेखि कार्यरत श्रृंखलाले  साइबर सेक्युरिटीको विषयमा आधारभूत प्रशिक्षण चाहिँ लिएकी छिन् । अहिले उनी फिल्डमा काम गर्दै अनुभव बटुलिरहेकी छिन् । 

‘मैले चार वर्ष अगाडि मात्रै यो विषयको बारेमा थाहा पाएको हो । साथीहरुबाट थाहा पाएपछि रुची जाग्दै गयो र म यो फिल्डमा आएँ । प्रशिक्षण लिनु अघि पनि म यस्तै फिल्डमा इन्टर्नशिप गरिरहेकी थिएँ । अहिले काम गर्न थालेकै एक वर्ष भयो,’ श्रृंखलाले सुनाइन् । फरक पृष्ठभूमिबाट आएकी उनी यो क्षेत्रमा लागेर निकै उत्साहित छिन् । 

श्रृंखलाले टेकपानासँगको कुराकानीमा भनिन्, ‘सेक्युरिटी अपरेसन सेन्टर एसओसीमा अफेन्सिभ र डिफेन्सिभ दुई क्षेत्र हुन्छन् । म चाहिँ कम्पनीमा डिफेन्सिभ पार्ट हेर्छु । साइटमा आउने अट्याकलाई कसरी रोक्ने, माल्वेयरहरु पहिचान गर्ने, राम्रो र नराम्रो ट्राफिकलाई फिल्टर गर्ने जस्तो डिफेन्सको पार्टलाई विश्लेषणको काम गर्दै आएकी छु ।’ 

एथिकल ह्याकर श्रृङ्खला भट्टराई

एथिकल ह्याकिङको क्षेत्रमा प्रवेश गर्न सोही क्षेत्रको औपचारिक शैक्षिक पृष्ठभूमि हुन आवश्यक छैन भन्नका लागि श्रृङ्खला आफैंमा एउटा उदाहरण बनेकी छिन् । कम्प्युटर, नेटवर्क र प्रोग्रामिङको विषयमा आधारभूत ज्ञान छ भने जोकोही यो क्षेत्रमा आउन सक्छन् । 

आजको समयमा कम्प्युटरमा निकै धेरै अध्ययन सामाग्रीहरु उपलब्ध छन् । रुची, लगाव र निरन्तरता भएको खण्डमा स्वःअध्ययन गरेरै यो क्षेत्रमा प्रवेश गर्न सकिन्छ । इच्छा छ भने, यो क्षेत्र जटिल छैन । तर अरुले गरेको देखेर सतहीरुपमा प्रभावित भएन छिर्नेहरुलाई भने गाह्रो हुन सक्ने एश्वर्यको बुझाई छ । 

स्क्रिप्ट किडहरु हुन्छन्, जसले इन्टर्नियरबाट अगाडि नै बनेको एक्सप्लोइटहरु रन गरेर एक्सप्लोइट गर्छन्, उनीहरुलाई गाह्रो हुन्छ । किनभने उनीहरुले त्यसको बेस बुझेका हुँदैनन् ।

साइबर सुरक्षाको क्षेत्रमा श्रमशक्तिको माग बढिरहेका कारण डेडिकेटेड भएर यही फिल्डमा लाग्ने श्रृंखलाको अठोट छ । तर सूचना प्रविधिको क्षेत्र एकदमै तीव्र गतिमा उद्विकास भइरहेको क्षेत्र हो । यसरकाण आफूलाई हरेक विषयमा अपडेट लैजान सधैं ठूलो सकरात्मक दबाव महशुस हुने गरेको श्रृंखलाको अनुभव छ । 

‘यसमा सबैभन्दा राम्रो कुरा भनेको रिपिटेटिभ टास्क (दोहोर्‍याई रहनुपर्ने किसिमको काम) भन्ने हुँदैन । आज एउटा गर्‍यो, भोलि नयाँ कुराको अनुसन्धान गर्नुपरिरहेको हुन्छ । हरेक दिन नयाँ कुरा सिक्न पाइन्छ । एक प्रतिशत भए पनि कामले नै नयाँ कुरा त सिकाईरहेको हुन्छ । रुटिन लाइफ (समय तालिका बनाएर चल्ने किसिमको दैनिकी) छैन, यसमा ।

अनुसन्धान गरिएन, नयाँ कुरा सिकिएन, सीप विकास गरिएन भने आफैं पछाडि परिन्छ,’ श्रृंखला भन्छिन् ,‘हामीलाई हाम्रा सिनियरहरुले साधारणतयाः १६ घण्टा डेडीकेटेड भएर लाग्नु पर्छ भन्नुहुन्छ, तर यो सम्भव हुँदैन । यद्यपी आफ्नो करियर नै यसैमा लगाउने हो भने, यसमा धेरै समय दिनैपर्ने हुन्छ । कामले गर्दा सामान्यतयाः दैनिक आठदेखि दश घण्टासम्म यसैमा गइरहेको हुन्छ । बाँकी समय पनि यसैमा लगाउनुपर्ने हुन्छ । यसरी दैनिक रुपमा करिब १४ घण्टा त हामी यसैमा दिइरहेका हुन्छौं ।’

साइबर सुरक्षा र एथिकल ह्याकिङ उदयीमान क्षेत्र हो । यहाँ पछिल्लो युवा पुस्ताहरुको संलग्नता उत्साहजनक किसिमकले बढ्दै गएको छ । बगबाउन्टी प्लेटफर्म बगक्राउडको एउटा प्रतिवेदनले बग हन्टमा सहभागी हुने ह्याकरको संख्यामा नेपाल विश्वको शीर्ष दश मुलुकभित्र छ । 

ऐश्वर्य पनि समय समयमा विभिन्न बग बाउन्टी प्लेटफर्ममा बग हन्टको साइड जब गर्दै आइरहेकी छिन् । उनले ह्याकरवान बगबाउन्टी प्लेटफर्मबाट विभिन्न प्राइभेट संस्थाहरुमा बग फेला पारेकी छिन् ।  सबडोमेन टेकओभर गरेर बग फेला पार्दा उनले थुप्रै पटक पुरस्कार हात पारेकी छिन् । 

तर नेपालमा बगबाउन्टी प्लेटफर्म छैनन् । पछिल्लो समय यहाँ साइबर सेक्युरिटी रिसर्च कम्पनीहरु भने थपिँदै गएका छन् । ‘म बैंकमा काम गर्छु । बगबाउन्टी गर्नु पर्यो भने बकक्राउड र ह्याकरवानले प्लेटफर्म दिन्छ,’ उनी भन्छिन् ।

त्यसका लागि साइन अप गर्नुपर्छ । जोकसैले पनि साइनअप गर्न पाउँछ । सुरुमा साइनअप गर्ने बिगिनर (भर्खर सिक्दै गरेको) हुन्छ । उसले पब्लिक एप्लिकेसनमा टेस्टिङ गर्नुपर्छ । उसले पहिलो पटक परीक्षण गर्दा, त्यसमा सुरुमै सयौं, हजारौं ह्याकरहरुले परीक्षण गरिसकेका हुन्छन् । त्यो बेला बग पत्ता लगाउन निकै गाह्रो हुन्छ । 

यस्तोमा सीटीएफ गर्न सकिन्छ । ह्याकरवानको सीटीएफ छ, सीटीएफ गर्दै जान थालेपछि प्राइभेट इन्भिटेसन आउँछ । प्राइभेट इन्भिटेसन आयो भने प्रतिस्पर्धा कम हुन्छ । हजार जनाले ह्याक गर्ने एउटा एप्लिकेसनमा पाँचजनाले ह्याक गर्यो भने धेरै बग भेटिन्छ । 

बगबाउन्टी प्लेटफर्ममा क्रिटिकल बग (संवेदनशील कमजोरी) फेला पार्‍यो भने ह्याकरले धेरै पैसा पाउन सक्छ । लो इम्प्याक्ट (कम प्रभाव पार्ने) भएको बग भेट्टायो भने, त्यसको पैसा पनि कम हुन्छ । बगको इम्प्याक्टअनुसार प्लेटफर्मले ह्याकरलाई पैसा दिन्छ । 

‘ धेरै बग फेला पार्न सके २५-२६ लाख रुपैयाँसम्म पैसा पाउन सकिन्छ । भेटाउन सकिएन भने पैसा पाइँदैन । बगबाउन्टी गरेर घरमै बसी बसी सजिलै आम्दानि गर्न सकिन्छ । रिसर्च मटेरियलहरु टन्नै हुन्छन् । बगबाउन्टी गर्न सिक्नुहोस्, गर्दागर्दै एक्स्प्लोइट गर्न सकिएन भने यो क्षेत्रमा मेन्टरहरु पनि थुप्रै छन्, उनीहरुसँग सोधखोज गर्नुहोस् । उनीहरुले सिकाउँछन्,’ ह्याकिङको क्षेत्रमा करिअर बनाउन चाहनेहरुलाई ऐश्वर्यको सुझाव छ । 

सधैं बग बाउन्टीको मौका भने नपाइने श्रृङ्खला बताउँछिन् । ‘पाए त एकदमै राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘यो फ्रिल्यान्सर काम हो । तर जागिर नै गर्ने हो भने पनि यो फिल्डमा एकदमै राम्रो भविष्य छ । काम गर्ने मान्छेको कमी छ । त्यसैले गर्दा माग पनि धेरै छ । दीगो रुपमा सानदार जीवन चलाउन चाहनुहुन्छ भने नवप्रवेशीका लागि पनि यो एकदमै राम्रो फिल्ड हो ।’

पहिले सेक्युरिटीको कुरामा खासै कसैलाई चाँसो थिएन । अहिले सबै कुरा डिजिटाइज हुँदैछ । अनलाइन आउने मानिसहरुको संख्या तीब्र गतिमा बढ्दै गएको छ । दिन प्रतिदिन डेटा ब्रिच (तथ्याङ्क चोरी) का घटनाहरु भइरहेको छ ।  यसले मानिसहरुमा विस्तारै सेक्युरिटीको महत्व पनि आवश्यक रहेको बोध गराउँदै लगेको छ ।

कम्पनीहरु पूर्व सुरक्षा अपनाउने दिशातिर लागिरहेका छन् । जसले बजारमा श्रमशक्तिको माग निकै नै बढाइरहेको छ । यसको स्कोप बढेको छ । यी तमाम अवसर र स्कोपबीच एथिकल ह्याकिङको क्षेत्रमा आफूहरुले महिलाको संलग्नता भने न्यून देखेको एरिका बताउँछिन् । 

‘मानिसहरुले ह्याकिङ भन्ने बुझेकै छैनन्,’ एरिका भन्छिन्, ‘हामीले ह्याक गरेर भएको राम्रा कुराहरु कहिल्यै हाइलाइटमा आउँदैनन् । जहिल्यै पनि बैंक ह्याक भयो, एटीएम ह्याक भयो भनेर बेग्रेल्ती समाचारहरु भाइरल भइरहेका हुन्छन् ।’

महिला भएकै कारण एक किसिमले डर हुनु स्वभाविक नै हो । किन कि हाम्रो सामाजिक परिवेश र हुर्काई बढाई पनि त्यस्तै नै छ । एरिकाले साइबर बूलिङको बारेमा सुनिरहेकी हुन्थिन् । आफू पनि त्यही फिल्डमा जाँदा, त्यस्तै अप्ठ्यारोमा पर्छु कि भनेर सोच्थिन् । अहिले उनी आफैं भन्छिन्, ‘बल्ल अरुमा पनि ह्याकिङको अवधारणा विस्तारै स्पष्ट हुँदैछ ।’ ऐश्वर्यको अनुभव पनि त्यस्तै छ । उनी काम गर्दै आइरहेको ठाउँमा आजसम्म आफूलाई एक्लो महिलाको रुपमा देख्छिन् ।

‘पुरुष प्रधान भन्ने कुरा यो फिल्डमा हुँदैन । सबैले सहयोग र साथ दिन्छन् । सुरुमा काम गर्दा, क्लाइन्टकहाँ जाँदा मलाई मसँग पुरुष सहकर्मीको छ भनेर सोध्थे । काम गर्न थालेपछि यसले पनि सक्ने रहिछे भन्छन्,’ आफ्नो भोगाई साँट्दै उनी भन्छिन्, ‘यसमा केटी मान्छेले भने विश्वास जित्नुपर्ने चुनौती छ । तर केटाहरुले अगाडि नै विश्वास प्राप्त गरिसकेका हुन्छन् । केटीले चाहीँ काम गर्दै जान थालेपछि मात्रै अरुको विश्वास पाउने अवस्था छ । मिटिङमा जाँदा पुरुष साथीको कुरा सुनिदिन्थे, महिलाको सुन्दैन थे ।’ 

एरिका गाइडेन्सको कमीका कारण यो क्षेत्रमा महिला सहभागीता कम भएको ठान्छिन् । ‘महिलाहरु अलिकति डरको कारण पनि अगाडि आउन खोज्दैनन् । म पनि सुरु गर्दा एकदमै दुविधामा थिएँ । गाइडेन्स थिएन । कहाँबाट कसरी सुरु गर्ने केही थाहा थिएन । जब मैले काम सुरु गर्न थालेँ, तब आफ्नो अनुभवलाई ब्लगमा उतार्दै गएँ ।

यसबाट अरुलाई गाइडेन्स मिलोस् भनेरै मैले ब्लग लेख्न थालेकी छु । अहिले केही महिला साथीहरुले मलाई कसरी सुरु गर्‍यौ भनेर सोधखोज गर्न थालेका छन् । यो फिल्डमा रुची देखाउने केटीहरु छन्, तर गाइडेन्स राम्ररी पाउन नसकेर अगाडि आउन सकिरहेका छैनन् । यस क्षेत्रमा काम गरिरहेका महिलाहरु अगाडि आए भने रुची राख्ने अरु महिलाले पनि उहाँहरुबाट सिक्न सक्छन्,’ एरिका भन्छिन् । 

महिलाहरुलाई यो क्षेत्रमा पर्याप्त अवसरले पर्खिरहेको ऐश्वर्य बताउँछिन् । ‘यो फिल्डमा राम्रो सेक्युरिटी रिसर्चर महिलाहरुको सिफारिसमा अन्तर्राष्ट्रिय समुदायले समेत फेलोशिप दिन्छ । गूगल, ह्याकरवान, बगक्राउड लगायतका समुदायले सीटीएफ, ह्याकाथन जस्ता इभेन्टहरु आयोजना गरिरहेका हुन्छन् ।

यसमा जजसले राम्रो गर्छ वा राम्रो प्वाइन्ट ल्याउँछ उनीहरुलाई निःशूल्क अन्तर्राष्ट्रिय टूरको व्यवस्था हुन्छ,’ एश्वर्य यो क्षेत्रमा रहेको अवसर उजागर गर्दै अगाडि भन्छिन्, ‘गूगलको २०१९ को सीटीएफमा मेरो नाम निस्केको थियो ।

त्यति बेला मेरो ट्राभल र भिसा शूल्क समेत गूगलले बेहोरिदिएको थियो । सियानक, एफ्रिकट जस्ता इभेन्टहरुले महिलाहरुलाई हाई अमाउन्टमा फेलोशिपहरु दिन्छन् । त्यसका लागि रुची र लगाव चाहिँ हुनुपर्छ । इन्टरनेटमा यति धेरै स्रोत सामग्रीहरु हुन्छन्, जसलाई पढेरै अगाडि बढ्न सकिन्छ । अरुकोमा जागिर गरेर बस्न मन छैन भने, बगबाउन्टी गरेर बस्दा पनि हुन्छ।’

तर ह्याकिङ र साइबर सुरक्षाको क्षेत्रमा लाग्ने छोरी मान्छेहरु विशेषगरी प्रोग्रामिङ नाम सुन्नेबित्तिकै डराउने गरेको ऐश्वर्यको तीतो अनुभव छ । ‘बुटवल स्कोडर ग्रर्ल्स भन्ने एउटा संस्थाले आयोजना गरेको कार्यक्रममा बहिनीहरुलाई तिमीहरुको रुची केमा छ भनेर सोध्दा सबैले ब्लुटिममा भने । किनभने यसमा जान प्रोग्रामिङ चाहिँदैन भनेर उनीहरुलाई मैले अगाडि नै भनेकी थिएँ । कसैले पनि बगबाउन्टी, वेब एप्लिकेसन तिर जान्छौं भनेनन् ।’,  

ब्लुटिम साइबर सुरक्षाभित्रको डिफेन्स अर्थात रक्षा क्षेत्र हो । त्यसमा कुनै पनि संस्थाका लागि चौबिसै घण्टा सुरक्षा मनिटरिङ गर्नुपर्छ । संस्थामा कुनै अट्याक आएको छ की छैन, आएको छ भने कसरी डिटेक्ट गर्ने, जस्ता कुराहरु ब्लुटिमको जिम्मेवारीमा पर्छन् । ब्लुटिमले आईडीएस, आईपीएस, एसआइईएम आदी जस्ता  सेक्युरिटी डिभाइसबाट मनिटरिङ गर्छ ।

अट्याकरहरुले कन्टिन्यू अट्याक गरिरहेका हुन्छन् । अट्याकहरु डिटेक्ट गर्ने, फिल्टर गर्ने, अट्याकलाई ब्लक गरिदिने, चाहिने ट्राफिक कुन, नचाहिने कुन, त्यसको विश्लेषण गर्ने, केही माल्वेयर छिरेको छ कि छैन भनेर हेर्ने सबै काम ब्लुटिमले गर्दछ ।

तर बगबाउन्टी भनेको चाहिँ एप्लिकेसन ब्रेक गर्ने काम हो । ब्लुटिमले निरन्तर मनिटरिङ गरेर साइट जोगाउने काम गर्दछ । बग हन्टरहरुले भने एप्लिकेसन ब्रेक गरेर आधिकारिक संस्था वा कम्पनीलाई यसरी ब्रेक हुन्छ भनेर कमजोरीको जानकारी दिन्छन् । 

‘महिलाहरुमा प्रोग्रामिङ गाह्रो हुन्छ भन्ने सोच सुरुमै आउँछ । बग बाउन्टिका लागि अलि अलि प्रोग्रामिङ पनि चाहिन्छ । वेब एप्लिकेसन टेस्ट गर्ने भनेपछि, त्यसलाई ब्रेक गर्नु अघि एप्लिकेसन कसरी बनेको छ भनेर बुझ्नुपर्ने हुन्छ । त्यसका लागि प्रोग्रामिङ बेस चाहिन्छ । त्यो नभए बुझिँदैन । यसकारण महिलाहरु प्रोग्रामिङको नाम सुन्ने बित्तिकै डराउँछन्  । ब्लुटिमतिरको रुची पनि त्यसैले देखाउने गर्छन् । नेटवर्किङको कन्सेप्ट भए ब्लुटिमका लागि पर्याप्त हुन्छ,’ ऐश्वर्य भन्छिन् । 

साइबर सुरक्षा र ह्याकिङको क्षेत्रमा सिक्न र बुझ्नका लागि वृहत छ । यो क्षेत्र धेरै गहिरो छ । यसमा अन्तिम विन्दु नै हुँदैन ।  यसमा पदको कुरा गर्ने हो भने ठूलो पोस्ट सीटीओ नै हुन्छ । तर वास्तवमा सेक्युरिटी रिसर्चरको रुपमा अन्तिम विन्दु भन्ने नै हुँदैछ । 

‘यहाँ सर्भिसको फंसनालिटी र सेक्युरिटी दुवै महत्वपूर्ण छ भन्ने कुरा नै थाहा छैन । प्रविधि जति तैरिन सक्यो, उति नै गहिरो तलाउ हो । हरेक दिन नयाँ कुरा आउँछ, त्योसँगै थ्रेट पनि आउँछ ।  यो क्षेत्रमा कतिले अल्पकालीन रुची देखाउँछन् । काम गर्न थालेपछि छोड्नेहरु धेरै छन् । प्यासनेट भएर सिक्न थालेपछि रिसोर्सहरु पाउन गाह्रो छैन । महिलाहरुले आफूले गर्दै अरु महिलाहरुलाई तान्दै लैजानुपर्ने आवश्यकता छ,’ एरिका भन्छिन् ।  

नेपालमा प्रडक्ट सुरक्षालाई लिएर सचेतना नहुँदा सेक्युरिटी कम्पनीदेखि क्लाइन्ट सम्मले यो शीर्षकमा खर्च नै गर्दैनन् । त्यही प्रवृत्ति यहाँ एथिकल ह्याकरहरुका लागि एउटा निरुत्साहित गर्ने तत्वको रुपमा रहेको लेडी ह्याकरहरुको बुझाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०