close

एक हप्तासम्म ब्याट्री टिक्ने नोकियाका २ नयाँ फोन नेपालमा, यस्तो छ मूल्य

टेकपाना टेकपाना

साउन ११, २०७७ १४:३२

एक हप्तासम्म ब्याट्री टिक्ने नोकियाका २ नयाँ फोन नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । नोकियाले आफ्ना दुई नयाँ मोडलका फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि नोकियाको आधिकारिक विक्रेता टेलिटक प्राइभेट लिमिटेड कम्पनीले नोकिया १२५ र नोकिया १५० नेपाली बजारमा ल्याएको हो । 

तर यी फोनहरु स्मार्टफोन भने होइनन् । सार्वजनिक भएका दुवै नोकियाका की प्याड फोन हुन् । की प्याड फोन भए पनि यी फोनको डिजाइन भने एकदमै छरितो र सजिलो किसिमको छ । 

दुवै फोनमा ठूला ठूला की बटनहरु छन्, जसले फोनमा डायल गर्न र टेक्स्ट म्यासेज लेख्न एकदमै सजिलो बनाएको छ । यसको ब्याट्री पनि एकदमै राम्रो छ ।

एकपटक चार्ज गर्दा एक हप्तासम्म टिक्न सक्छ । आकर्षक रंगमा उपलब्ध यी फोनहरुमा कुनै समस्या भए ३६५ दिनभित्र साट्न मिल्ने ग्यारेन्टीको सुविधा पनि रहेको छ । 

नोकिया १२५

फोनको पहिलो मोडल १२५ को कुरा गर्दा यो फोनको स्क्रीन साइज २.४ इञ्च रहेको छ । यसबाट प्रयोगर्कताले राम्रो दृश्यको अनुभव बटुल्न सक्छन् ।

यो फोनमा क्लासिक स्नेक गेम र अन्य ‘ट्राइ एण्ड बाई’ जस्ता गेमहरु पनि राखिएको छ । दुई वटा सिमकार्ड प्रयोग गर्न मिल्ने यो फोनमा रहेको एफएम रेडियो वायरलेस छ । 

यो फोनको ब्याट्री एकदमै किफायती र टिकाउ छ । यसमा दुई हजार वटा सम्पर्क नम्बर नम्बर र पाँच सय एसएमएस अटाउन सक्ने स्टोरेज रहेको छ । नेपालमा यो फोनको मूल्य ३,०९९ रुपैयाँ राखिएको छ ।

नोकिया १५० 

नोकिया १५० मा नोकिया १२५ मोडलको तुलनामा अतिरीक्त नयाँ फिचरहरु छन् । ३२ जीबीसम्मको मेमोरी कार्ड लाग्ने यो फोनमा एमपी थ्री प्लेयर रहेको छ । यसमा भीजीए अर्थात् भिडियो ग्राफिक्स एर्रे क्यामेरा र फ्ल्यास लाइट छ । यो फोनमा ब्ल्युटुथबाट तस्वीरहरु आदानप्रदान गर्न सकिन्छ ।

नोकिया १२५ मा जस्तै यसमा पनि वायरलेस एफएम रेडियो चल्छ । यसमा भएको २.४ इञ्चको स्क्रीन साइज र फराकिला अनि ठूला की बटनले फोन डायल गर्न तथा टेक्स्ट म्यासेज गर्न सजिलो भएको छ । 

यो फोनमा पनि क्लासिक स्नेक गेम र अन्य ट्राइ एण्ड बाई गेमहरु रहेका छन् । नोकिया १५० मा  डुअल सिम प्रयोग गर्न सकिन्छ । यी फोनहरुको बडी उच्च गुणस्तरीय र किफायती पोलिकार्बोनेटबाट बनेको छ । यो फोनको मूल्य भने ३,६५० रुपैयाँ रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०