close

साना र मझौला व्यवसायको अर्डर जुटाउने ‘साथी’

युजु खालिङ युजु खालिङ

साउन ११, २०७७ १६:१

साना र मझौला व्यवसायको अर्डर जुटाउने ‘साथी’

काठमाडौं । अहिले बजारमा दिनहुँ नयाँ नयाँ ईकमर्स प्लेटफर्महरुले जन्म लिइहरेका छन् । जसले उपभोक्ताहरुको मागलाई सहजीकरण गर्दै बजारका वस्तु तथा सेवा उपभोक्ताको दैलोसम्म पुर्‍याइदिन्छन् । 

यद्यपी बिक्रेताको अनुहार नहेरी सामान खरिद नगर्ने हाम्रो परम्परागत शैलीमा यो नयाँ प्रणाली र व्यवसाय कतिका त लागि बेवास्ताको विषय बनिरहेको पनि हुन्छ । 

सामान खरिद गर्ने र बिक्री गर्नेबीचको गहिरो सम्बन्धलाई कायम राखेर उपभोक्तालाई सेवा प्रदान गर्न र साना तथा मझौंला व्यवसायलाई प्रवर्द्धन गर्न दुई महिनादेखि बजारमा एउटा नयाँ स्टार्टअप कम्पनीको रुपमा ‘अर्डर साथी’ सञ्चालन भइरहेको छ । 

‘अर्डर साथी’ नाम सुन्ने बित्तिकै कतिले यसलाई फूड मारियो र फूडमाण्डु जस्ता खाना तथा खाजाको डेलिभरी सेवा दिने कम्पनीसँग तुलना समेत गर्ने गरेका छन् 

अर्डर साथीकी सीईओ तथा सहसंस्थापक प्रयशा महर्जन भने खाना डेलिभरी गर्ने यी स्टार्टअप कम्पनीहरुभन्दा आफ्नो कम्पनीको सेवा बिल्कुलै भिन्न रहेको बताउँछिन् । 

वास्तवमा अर्डर साथी एउटा सोसल ईकमर्स प्लेटफर्म हो । यहाँ कुनै पनि व्यवसाय तथा कम्पनीले आफ्नो सामानको सूची एक्सेल फर्मेटमा बनाएर अर्डर साथीलाई दिएपछि कम्पनीले ड्यासबोर्ड बनाइदिन्छ । 

त्यो ड्यासबोर्डभित्र भेन्डर अर्थात् बिक्रेताहरुलाई एक्सेस दिइन्छ र उनीहरुले प्लेटफर्मबाट प्रत्यक्ष रुपमा सेवाग्राहीहरुसँग जोडिएर आफ्नो व्यवसाय गर्न सक्छन् ।

सेवाग्राहीहरुका लागि पनि यसमा सजिलो लग ईन छ । जसका लागि उनीहरुले लोकेसन, ईमेल लगायतका व्यक्तिगत जानकारी समेत यसमा खुलाइराख्नु पर्दैन । ग्राहकले सजिलै लग ईन गरेर आफूले चाहेको सेवा प्लेटफर्मबाट अर्डर गर्न सक्छन् । 

अर्डर साथीले अहिले विशेषगरी रेस्टुरेन्टले दिने सेवाको क्षेत्रमा काम गरिरहेको छ । यो प्लेटफर्ममा अहिले ४६ वटा रेस्टुरेन्ट आवद्ध भइसकेका छन् । यस बाहेक दुईवटा कौसी खेती सम्बन्धी उपकरणहरु बिक्री गर्ने र एउटा होममेड अचार बिक्री गर्ने भेन्डरका सामान तथा उत्पादनहरु अहिले अर्डर साथीमा उपलब्ध छन् । 

‘हामीले अहिलेसम्म ठूलो स्केलमा गरेको भनेको रेस्टुरेण्ट बिजनेस नै हो ।  हामीले रेस्टुरेन्ट तथा बार एसोसिएसनसँग सबै रेस्टुरेन्ट तथा बारलाई अनबोर्ड गर्ने गरी सम्झौता नै गरिसकेका छौं,’ सीईओ प्रियशाले बताइन् ।

अर्डर साथीको यो सेवा अहिले नेपालभित्र काठमाडौं , पोखरा, चितवन  र विरगञ्ज क्षेत्रमा उपलब्ध छ । त्यस बाहेक अमेरिकामा दुईवटा होटल लाइभ जान तयारी गर्दैछन् । भारतमा एक-दुई वटा रेस्टुरेन्ट विजनेसले समेत यो सिस्टम प्रयोग गरिरहेको प्रियशाले सुनाइन् । 

यसबाहेक अर्डर साथीले सामान डेलिभरीका लागि थर्डपार्टी डेलिभरी सर्भिसहरुलाई पनि आफ्न प्लेटफर्ममा आउन ठाउँ खुल्ला गरिदिएको छ । तिनै डेलिभरी सर्भिसबाट डेलिभरी गराउने कम्पनीको योजना रहेको छ । 

प्रियशा भन्छिन्,‘हामी आफै डेलिभरी गर्दैनौं । हामी थर्ड पार्टी डेलिभरी सर्भिसहरुलाई इन्टिग्रेट गर्दै लगिरहेका छौं । उहाँहरु आफैं आएर पनि हाम्रो प्लेटफर्ममा सेवा दिन सक्नुहुन्छ ।’ 

साना तथा मझौला कम्पनीहरुलाई डिजिटल प्लेटफर्ममा प्रवर्द्धन गर्ने उद्देश्य बोकेको अर्डर साथीले आगामी दिनमा थप आउटलेटहरुलाई समेत आफ्नो प्लेटफर्मा राख्ने योजना बनाएको छ । 

‘रेस्टुरेन्ट बाहेक ससाना खुद्रा भेन्डरलाई पनि हामीसँग जोड्दै लगिरहेका छौं । कौसी खेती पनि यसमा आएको छ । कौशी खेतीका लागि आवश्यक उपकरण मल, कुटो-कोदालो जस्ता सामग्री समेत हाम्रो प्लेटफर्ममा पाउन सक्नुहुन्छ ।

सँगसँगै अचार लगायतका होममेड प्रडक्ट पनि राख्दै लगेका छौं । त्यस्तै एकदुईहप्तामा ढाकाको क्लोथिङ स्टोर पनि ल्याउँदैछौं । अहिले हामीसँग चार पाँच वटा स्टोरहरु आवद्ध भएका छन् । अरु  के के समेट्न सकिन्छ भनेर अध्ययन गर्ने काम पनि सँगसँगै गरिरहेका छौं ।

ससानो मार्टलाई चाहिँ अनलाइनमा लैजान भ्याइसकेको छैनौं । तर प्रक्रिया भने चलिरहेको छ,’ उनले भनिन् ।  कम्पनीले सब्स्क्रिप्सन मोडलबाट आम्दानी गर्छ । 

प्रियशाले अगाडि भनिन्, ‘अहिले सुरुमा हामीले सब्स्क्रिप्सन मोडलबाट आम्दानी गर्दैछौं । जसले यो सेवा लिइरहेका छन्, उनीहरुले हामीलाई वार्षिक दश हजार रुपैयाँ  शूल्क बुझाउनुपर्ने हुन्छ । हामीले भेण्डरबाट पैसा उठाउछौं । अहिले दुई महिनाका लागि भने शूल्क नतिरे पनि प्रयोग गर्न सकिने अफर दिइरहेका छौं ।’

टेकपानासँगको कुराकानीमा सीईओ प्रियशाले सुनाइन्, ‘दुई महिना अघिदेखि सुरु भएको कम्पनीको अवधारणा पनि लकडाउनपछि मात्रै विकास गरिएको हो । त्यस अघि हामीसँग यस किसिमको कुनै योजना थिएन ।

हाम्रो अरु नै किसिमको विजनेस थियो । तर लकडाउनको समयमा घर बसिरहँदा हाम्रा बुबाआमाहरुमा अझैं पनि इकमर्स प्लेटफर्महरुको विषयमा पूर्ण विश्वासको वातावरण बनेको देखिएन । बरु नजिककै किराना पसल जाने, तर सिस्टम नबुझेको हुँदा अर्डर चाहिँ नगर्ने देखेपछि यस्तो किसिमको प्लेटफर्मले काम गर्छ भनेर हामीले अर्डर साथी सुरु गरेका हौं ।’ 

फार्मेसीको शैक्षिक पृष्ठभूमिबाट आएकी प्रियशा र  विभिन्न पेशामा आवद्ध उनका पाँचजना सहकर्मीले तीन वर्ष अघि समर्थ नेपाल नामक एनजीओ स्थापना गरेका थिए । प्रियशा आफैं पनि पहिले कान्तिपूर डेन्टलमा पढाउँथिन् ।

उनी बाहेक उनका एकजना साथी चिकित्सक, कोही प्रविधिक थिए । साथीहरुसँग मिलेर स्थापना गरेको कम्पनीले साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न समर्थ नेपालको स्थापना गरिएको थियो । 

‘साना तथा मझ्यौला संस्थाहरुलाई  आफ्ना उत्पादन तथा सामग्री प्रवर्द्धन गर्न अप्ठ्यारो भएको जस्तो लागेर हामीले समर्थ सुरु गरेका थियौं,’ प्रियशा भन्छिन्, ‘सुरुमा हामी सोसल मिडियामा गर्ने विज्ञापन तथा ग्राफिक डिजाइन बनाइदिने, फेसबुक र इन्स्टाग्राम ह्याण्डल गरिदिने काम गर्न थालेका थियौं ।

कुनै विजनेसका लागि एपहरु पनि बनाइदिन्थ्यौं । यसो गर्दागर्दै प्रविधि फिल्डमा म आइपुगें । यो कम्पनी सञ्चालन गरेको तीन वर्ष भइरहँदा कोभिडको बीचमा हामीले अर्डर साथी ल्याएका हौं ।’ 

वास्तवमा अर्डर साथी अहिले त्यही समर्थकै ईकमर्स प्रडक्ट जस्तो रुपमा सञ्चालन भइरहेको छ । भविष्यमा छुट्टै कम्पनी बनाउने योजना उनीहरुले बनाएका छन् । अहिले अर्डर साथीले इन्डिभिड्यूल ड्यासबोर्ड बनाएर साना तथा मझौला व्यवसायीहरुलाई आफ्नो व्यवसाय बढाउने ठाउँ दिइरहेको छ ।

‘हामीले यही महिनाको अन्त्यसम्ममा एग्रिगेटर पेज ल्याउने विचार गरिरहेका छौं । उदाहरणको रुपमा अर्डर साथीको रेस्टुरेन्ट प्लेटफर्ममा सबै रेस्टरेन्टको डिटेल,  काैसी खेतीमा सम्बन्धित सामग्री, फूडमा त्यसैअनुसारका व्यवसायहरु छुट्टा छुट्टै क्ल्स्टर प्लेटफर्मको रुपमा रहनेछन्,’ प्रियशाले भनिन् । 

कम्पनीले केही साताभित्रै बिक्रेताका लागि मोबाइल एप समेत ल्याउँदैछ । ग्राहकहरुका लागि एप आउन भने अझै केही समय लाग्ने प्रियशाले बताइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०