close

फुल स्पीड इन्टरनेट चलाउन सकिने वर्ल्डलिंकको फाइभजी राउटर, नेट टीभी निःशूल्क

टेकपाना टेकपाना

साउन १४, २०७७ १५:५२

फुल स्पीड इन्टरनेट चलाउन सकिने वर्ल्डलिंकको फाइभजी राउटर, नेट टीभी निःशूल्क

काठमाडौं । वर्ल्डलिंकले हालसालै फाइभजी अफर सुरु गरेको छ । नेपालमै पहिलो पटक वाईफाई फाइभ जी सुरु गरेको कम्पनीले त्यसका लागि विशेष अफर सार्वजनिक गरेको हो ।

अफरअन्तर्गत कम्पनीले बिभिन्न प्लानहरु तयार पारेको छ । जसमा ३० एमबीपीएस गतिको इन्टरनेट एक महिनाका लागि जडान गर्दा १५५० रुपैयाँ लाग्नेछ । जसमा एक महिनासम्म टेलिभिजन र मोबाइल एपमा नेट टीभी स्ट्याण्डर्ड निःशूल्क रुपमा प्राप्त गर्न सकिनेछ ।

http://45.32.118.189/2020/18482/

यतिमात्र नभएर कम्पनीले तीन मिहिनाका लागि ४५ सय, र एक वर्षका लागि १५ हजार रुपैयाँ निर्धारण गरेको छ । यी सम्पूर्ण प्याकेजमा टेलिभिजन तथा मोबाइल दुवैमा चलाउन मिल्ने गरी नेट टीभी स्ट्याण्डर्ड निःशूल्क रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अहिले राउटरको नजिक हुँदा समेत इन्टरनेट फुल स्पीडमा चलिरहेको हुँदैन । हाई ब्याण्डविथको इन्टरनेट प्याकेज लिँदा समेत सेवाप्रदायकले भनेजति इन्टरनेट स्पीड नदिएको गुनासो प्रायःजसो प्रयोगकर्ताहरुले गरिरहेका हुन्छन् ।

ब्याण्डविथ हाई हुँदा पनि स्लो हुने र केही दूरीमा समेत वाईफाईले नटिप्ने समस्या सहरी क्षेत्रका प्रयोगकर्ताको साझा समस्या जस्तै बनेको छ । यसै किसिमको समस्या समाधानको रुपमा वाईफाई फाइभजी ल्याइएको वर्ल्डलिंकले जनाएको छ ।

कम्पनीले तीन महिनाको टेस्टिङ पुरा गर्दै प्याकेजको रुपमा आफ्ना सबै ग्राहकलाई फाइभजी ब्याण्ड राउटर उपलब्ध गराउन थालेको हो । नोकियाको यो डुअल ब्याण्ड राउटरले दुई वटा सिग्नल फाल्न सक्छ ।

जसमा एउटा ५ गिगाहर्ज र अर्को २.४ गिगाहर्जको फ्रिक्वेन्सी ब्याण्ड सपोर्ट गर्दछ । डुअल ब्याण्डको यो राउटर लिने ग्राहकले नजिक हुँदा ५ गिगाहर्जमा वाईफाई चलाउन सक्ने र टाढा हुँदा २.४ गिगाहर्ज ब्याण्डमा प्रयोग गर्न सक्ने कम्पनीका मार्केटिङ म्यानेजर तेञ्जिङ सेगलले जानकारी दिए ।

अहिलेको वाईफाई किन चल्छ स्लो ?

वाईफाई स्लो चल्ने समस्या धेरैको साझा समस्या हो । तपाईं यदि सहरमा हुनुहुन्छ भने मोबाइल तथा ल्यापटपमा वाईफाई अन गर्दा वरपर भएका सबै वाईफाईको सिग्नल त्यसमा देखिन्छ ।

अहिले बजारमा भएका सबै राउटर २.४ गिगाहर्जमा आधारित छन् । जसमा धेरै च्यानल समेत थोरै हुन्छन् । एउटै ब्याण्डमा धेरै राउटर नजिककैको दूरीमा चलिरहँदा आपसमा सिग्नलहरु जुधिरहेका हुन्छन् । जसले गर्दा इन्टरनेट राम्रोसँग नचल्ने समस्या आउँछ ।

वाईफाई एनालाइजर एपबाट कुन सिग्नलसँग तपाईंको वाईफाई सिग्नल जुधिरहेको छ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । तर पाँच गिगाहर्जमा राउटरहरु समेत कम छन् । सपोर्ट गर्ने च्यानलहरु समेत तुलनात्मक रुपमा धेरै हुने भएकाले यसमा इन्टरनेट फुल स्पीडमा प्रयोग गर्न सकिन्छ ।

खासमा दूरसञ्चार प्रविधि र वर्ल्डलिंकको फाइभजी राउटर एउटै प्रविधि भने होइन । वास्तवमा फाइभ गिगाहर्जमा चल्ने राउटर भएकाले कम्पनीले यसलाई फाइभजी राउटरको रुपमा ब्राण्डिङ गर्न थालेको हो ।

सामान्यतया यो राउटरको बजार मूल्य १० हजार जति पर्न आउँछ । तर कम्पनीले भने नियमित प्याकेजमै यो राउटर प्रयोग गर्न सकिने गरी अफर सार्वजनिक गरेको छ ।

वर्ल्डलिंकले अहिले दुई किसिमका राउटरहरु उपलब्ध गराउन थालेको छ । जसमा सिंगल ब्याण्ड राउटरका लागि २५०० सय र डुअल ब्याण्ड फाइभजी राउटरका लागि ५५ सय रुपैयाँ रेन्टल चार्ज राखिएको छ ।

कम्पनीका नयाँ तथा पुराना ग्राहकहरुले नियमित प्याकेजमै निर्धारित रेन्टल चार्जमा यो राउटर प्रयोग गर्न सक्ने मार्केटिङ म्यानेजर छोगेलले बताए । उनले भने, ‘बढी स्पीडको इन्टरनेट प्याकेज रोज्ने ग्राहकले राउटरका लागि बुझाउने रेन्टल चार्ज अझै सस्तो पर्न जान्छ ।’

तर फाइभजी राउटरको वाईफाई सबै मोबाइल डिभाइसहरुमा सपोर्ट नगर्न सक्छ । पछिल्ला नयाँ डिभाइसमा मात्रै यो राउटरलाई सपोर्ट गर्न सक्ने सिस्टम रहेको छ । कम्पनीको आँकलन अनुसार हाल बजारमा रहेका ६० प्रतिशत डिभाइसहरुले फाइभजी राउटरको वाईफाईलाई सपोर्ट गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०