close

प्राविधिकहरुका लागि सजिलो मर्मतले ल्यायो ‘कोभिड रिलिफ फण्ड’

टेकपाना टेकपाना

साउन १५, २०७७ ११:३८

प्राविधिकहरुका लागि सजिलो मर्मतले ल्यायो ‘कोभिड रिलिफ फण्ड’

काठमाडौं । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ठूलो संख्याले लकडाउन अवधिमा निकै कष्ट झेल्नु पर्‍यो । यसैबीच सजिलो मर्मत सेवा (एसएमएस) ले ‘एसएमएस कोभिड रिलिफ फण्ड’ मार्फत् आफ्ना साझेदार प्राविधिक एवम् मिस्त्रीहरूलाई सहयोग गर्न थालेको छ ।

सजिलो मर्मत सेवासँगको सहकार्यमा हाल जम्मा ६५ जना प्राविधिकहरुले काम गर्दै आएका छन् ।लकडाउनका कारण उनीहरूलाई दैनिक गुजारा टार्न मुस्किल परेको छ ।  सोही अप्ठ्यारो अवस्थालाई मध्यनजर गर्दै एसएमएस रिलिफ फन्ड सुरु गरिएको हो ।

सजिलो मर्मत सेवासँग जोडिएका प्राविधिकहरूलाई कोभिड–१९ महामारीसँग जुध्न सघाउनु रिलिफ फन्डको लक्ष्य रहेको कम्पनीले जनाएको छ । उसले भनेको छ, ‘आर्थिक सहायताको आवश्यकता परेका प्राविधिकलाई सहयोग गर्नु यसको प्रमुख उद्देश्य हो ।’

एसएमएसले अप्ठ्यारोमा परेका प्राविधिकहरूलाई बिनाधितो र बिनाब्याजदर ऋण सुविधा प्रदान गरिने जनाएको छ । कोभिड–१९ भाइरसबारे पर्याप्त जानकारी दिएर उनीहरूलाई काममा फर्काउनका लागि पनि रिलिफ फन्ड प्रयोग गरिनेछ ।      

प्राविधिक र ग्राहक दुवैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्नुका साथै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काममा फर्किने सबै प्राविधिकहरूलाई कम्पनीले पीपीई उपलब्ध गराएको छ। साथै, कोभिड–१९ बारे पर्याप्त जानकारी दिन र कसरी लो कन्ट्याक्ट सर्भिस (न्यून जनसम्पर्क सेवा) उपलब्ध गराउन सकिन्छ भन्नेबारे बुझाउन कम्पनीले प्राविधिकहरूलाई तालिमसमेत दिँदै आएको छ । 

कम्पनीले आफूसँग आबद्ध ६५ जना प्राविधिकको बीमा गरिदिएको छ । उनीहरू सबैलाई पीपीई वितरण गरिएको थियो । जसमा मास्क, पञ्जा, चस्मा, स्यानिटाइजर र किटनासक रहेका छन् । 

सजिलो मर्मत सेवाले रिलिफ फन्डका लागि एक लाख रुपैयाँ प्रदान गरेको छ । जमर्नीका फ्रान्जिस्का डाइटेलले नेतृत्व गरेको माइन्डग्रोथ नामक संस्थाले पनि कोष विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

अनलाइन प्लेटफर्ममार्फत सजिलो मर्मत सेवाले घरायसी तथा व्यापारिक संस्थाका भवनको मर्मत–सम्भारलाई आवश्यक सम्पूर्ण मिस्त्री–सेवा उपलब्ध गराउँदै आएको छ । आफ्ना दक्ष प्राविधिकमार्फत् सेवा–सुविधा दिँदै आएको कम्पनीले नेपालको सर्वाधिक ठूलो सेवाप्रदायक एकाई बन्ने लक्ष्य लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०