close

मोबाइल टावरबाट उत्सर्जन हुने बिकिरणको जोखिम रोक्न तोकियो मापदण्ड

टेकपाना टेकपाना

साउन १५, २०७७ १६:४८

मोबाइल टावरबाट उत्सर्जन हुने बिकिरणको जोखिम रोक्न तोकियो मापदण्ड

काठमाडौं । मोबाइल टावरबाट उत्सर्जन हुनसक्ने बिकिरणको जोखिम न्युनीकरणका लागि सरकारले मापदण्ड तयार पारेको छ । मानिसको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै मात्र मोबाइल टावरबाट सिर्जित विद्युतीय चुम्बकीय विकिरण (ईएमआर) बाट सर्वसाधारण तथा कामदारको सुरक्षा सम्बन्धी विनियमावलीमा, २०७६ जारी गरेको छ ।

पुस १८ गते बसेको बोर्डबाट पारित भएको विनियमावली प्राधिकरणले भर्खरैमात्र सार्वजनिक गरेको हो । यो सँगै अब मोबाइल टावर स्थापना र सञ्चालन गर्ने दूरसञ्चार सेवा प्रदायकले तोकिए बमोजिम मात्र विद्युतीय चुम्बकीय विकिरण उत्सर्जन हुने व्यवस्था गर्नेपर्ने भएको छ ।

विनियमावलीअनुसार सामान्य मानिस र सो टावरमा काम गर्ने व्यवसायिक व्यक्तिहरुको लागि भनेर फरक मापदण्ड तोकिएको छ । त्यस्तो बिकीरण उत्सर्जनको मापदण्ड रेडियो फ्रिक्वेन्सी रेन्जअनुसार पनि फरक फरक हुने पर्ने उल्लेख गरिएको छ ।

विनियमावलीअनुसार मोबाईलको बेस स्टेशनका लागि १० देखि ४०० मेगाहर्जको तहमा ईलेक्ट्रिक फिल्ड स्ट्रेन्थ २८ भोल्ट प्रति मिटर हुनुपर्नेछ । म्याग्नेटिक फिल्ड स्ट्रेन्थ ०.०७३ एम्प्लि प्रति मिटर र पावर डेन्सिटी २ वाट प्रतिमिटर स्क्वायर हुने पर्नेछ ।

त्यसैगरी, ४०० देखि २ हजार मेगाहर्ज, २ देखि ३०० गीगाहर्जको ईलेक्ट्रिक फिल्ड स्ट्रेन्थ, म्याग्नेटिक फिल्ड स्ट्रेन्थ र पावर डेन्सिटी सामान्य मानीस र कामदारको फरक–फरक तोकिएको छ ।जसअनुसार साधारण मानिसहरुको लागि कामदारको लागि भन्दा ५ गुणा कम विद्युतीय चुम्बकीय बिकीरण उत्सर्जन गर्ने किसिमले टावरको स्थापना गर्नुपर्ने प्रावधान छ ।

टेलिफोन टावरको बेस स्टेसनमा काम गर्दा कर्मचारीलाई अब सेवाप्रदायकले अनिवार्य रुपमा सुरक्षा उपकरण तथा उपायहरु प्रदान गर्नुपर्नेछ । प्राधिकरणले एक्सिडेन्स जोनमा कामदार प्रवेश गर्दा अपनाउनु पर्ने विभिन्न सुरक्षा उपाय र मापदण्ड पनि नयाँ विनियममा ल्याएको छ ।

सेवा प्रदायकले टावरमा रेडियो फ्रिक्वेन्सी प्रयोग हुने सेलुलर मोबाइल बेस स्टेशन जडान तथा सञ्चालन गर्दा प्राधिकरणबाट निर्धारित अधिकतम ईएमएफ एक्सपोजर सिमा भन्दा नबढ्ने गरी नन आयोनाईजिङ विकिरण जोखिम सर्वसाधारमा नहुने सुनिश्चितता गर्नु पर्ने प्रावधान राखिएको छ । टावरको वरिपरी सर्वसाधारणको पुहँच नहुने गरी व्यवस्था गुर्नपर्ने, आईटीयुले तोकेको मापदण्ड पुरा गर्नुपर्ने उल्लेख गरिएको छ ।

सेवा प्रदायकले टावरमा जडित रेडियो प्रणालीको ईएमएफ एक्सपोजरबाट हुनसक्ने संभावित जोखिमको खतरा र त्यस्तो जोखिमको खतरा न्यूनीकरण गर्ने जानकारीसहितको चेतावनी चिन्ह र लेबलिङ राख्नुपर्ने भएको छ । त्यस्तो चिन्हहरु मध्ये आरएफ पहेँलो दिशानिर्देश चिन्ह, सूचना चिन्ह, सावधानी चिन्ह, चेतावनी चिन्ह गरेर ४ प्रकारको चिन्ह टावरमा प्रयोग गरिएको हुनुपर्ने प्रावधान राखिएको छ ।

विनियमावलीअनुसार भवनको छत वा छानामाथि टावरको जडान गर्दा त्यस्तो बेस स्टेशनको एन्टेना कम्तिमा ३ मिटर भन्दा अग्लो हुनेपर्ने, एउटै टावर संरचनामा एक भन्दा बढी सेवा प्रदायकहरुको रेडियो एन्टेना रहेमा त्यसलाई कलेक्सन ईएमएफ एक्सपोजर सीमाको पालना गर्नुपर्ने जस्ता प्रावधान रहेको छ । यी सम्पूर्ण प्रावधान फोरजी र फाइभजीमा आधारित मोबाइल नेटवर्क जडान तथा सञ्चालन गर्दा समेत लागू हुने विनियमावलीमा उल्लेख गरिएको छ ।

सेवा प्रदायकले पनि सेवा प्रदायकले टावर संरचनामा रेडियो फ्रिक्वेन्सीको बेस स्टेशन जडान सकिएपछि तोकिएअनुसार जाँच गरी तोकिएको ढाँचामा स्वघोषणा गरी सेवा प्रदायकले प्राधिकरणमा बुझाउनुपर्ने भएको छ ।

टावर साईटमा एन्टेना जडान गर्नुभन्दा अगाडि नै आरएफईएमएफ एक्सपोजरको वस्तुगत विश्लेषण तथा सिमुलेसन गर्नुपर्ने, आरएफ एक्सपोजरको मापदण्डको मूल्यांकन गरेर प्रतिवेदन बुझाउनुपर्ने प्रावधान राखिएको छ ।

तोकिएको प्रावधान लागु भए नभएको भन्ने विषयमा प्राधिकरणले अनुगमन गर्नेछ । उक्त अनुगमनबाट आएको प्रतिवेदन सार्वजनिक गरिने उल्लेख गरिएको छ । सेवा प्रदायकले सो बिनियमको पालना नगरेमा ऐन नियम अनुसार सजाय हुने विनियमावलीमा उल्लेख छ ।

टावर जडित सेलुलर बेस स्टेशन सञ्चालन गर्दा सेवाप्रदायकले इएमएफ एक्सपोजर सम्बन्धी तोकिएको मापदण्ड उल्लंघन गरेको पाइएमा त्यस्ता टावरमा जडित सेलुलर बेस स्टेशनलाई प्राधिकरणले तत्काल बन्द गर्न सक्ने प्रावधान राखिएको छ ।

EMR-Related-Bylaw

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०