close

प्रतिस्पर्धी कम्पनीको फिचर नक्कल गरेको जुकरबर्गले स्वीकारे

टेकपाना टेकपाना

साउन १६, २०७७ १०:४२

प्रतिस्पर्धी कम्पनीको फिचर नक्कल गरेको जुकरबर्गले स्वीकारे

काठमाडौं । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले आफ्नो कम्पनीले प्रतिस्पर्धी कम्पनीहरुको एप र फिचरको नक्कल गरेको स्वीकार गरेका छन् । अमेरिकी कंग्रेसको एन्टीट्रस्ट उपसमितिको सुनुवाईमा जवाफ दिंदै जुकरबर्गले यस्तो स्वीकारोक्ती व्यक्त गरेका हुन् ।

उपसमितिले सुनुवाईमा जुकरबर्गलाई प्रतिस्पर्धी कम्पनीको एप तथा फिचर चोरी गर्ने रणनीतिबारे प्रश्न गरेको थियो । साथै फेसबुकले साना कम्पनीलाई आफ्नो कम्पनीसँग मर्ज हुन दबाब दिने गरेको भन्दै कंग्रेस सदस्यहरुले जुकरबर्गलाई प्रश्न गरेका थिए । यो आरोपको भने जुकरबर्गले खण्डन गरेका छन् ।

कंग्रेस सदस्य प्रमिला जयापालले जुकरबर्गसँग सन् २०१२ मा गरिएको इन्स्टाग्रामको अर्बौं डलरको अधिग्रहणलाई लिएर प्रश्न उठाएकी थिइन् । यो अधिग्रहणको सन्दर्भमा यसअघि पनि फेसबुकमाथि अनेक प्रश्नहरु उठिसकेका छन् ।

इन्स्टाग्राममा केन्द्रीत जयापालको प्रश्नको उत्तर दिंदै जुकरबर्गले अन्य एपहरुबाट फिचर नक्कल गर्नु व्यवसायको स्वभाविक रणनीति रहेको जवाफ दिए । जयापालले सन् २०१२ मा जुकरबर्ग र फेसबुककी सीओओ श्रेल स्याण्डबर्गबीच आदान प्रदान भएको चर्चित मेलको समेत चर्चा गरेकी थिइन् ।

जहाँ जुकरबर्गले स्याण्डवर्गलाई आफ्ना प्रतिस्पर्धीलाई पकड जमाउनबाट रोक्ने र आफू चाँडो अगाडि बढ्ने लेखेका थिए । स्याण्डवर्गले जुकरवर्गसँग सहमति जनाउँदै जवाफ दिएकी थिइन् ।

जयापालले फेसबुक प्रतिस्पर्धीको नक्कल गर्ने मामिलामा थप आक्रमक र फूर्तिलो हुँदै गइरहेको विचार व्यक्त गरेकी थिइन् । सो ईमेलमा आफ्ना प्रतिस्पर्धीको फिचरको नक्कल गर्ने फेसबुकको रणनीति देखिएको थियो ।

ईमेलमा आफ्नै कम्पनीका उच्च तहका कर्मचारी तथा रेनरेनका संस्थापक र चीनको बाइडु कम्पनीका संस्थापक रोबिन लीसँग वैठक बस्ने बिषय समेत समावेश थियो ।

२०१२ को उक्त ईमेल आदानप्रदानपछि फेसबुकले कतिवटा कम्पनीको फिचर नक्कल गर्‍यो भन्ने प्रश्नमा भने जुकरबर्गले उत्तर दिन अस्वीकार गरेका छन् । जयापालले फेसबुकलाई उसले कुनै कम्पनीलाई उसको फिचर जस्तै नयाँ फिचर आफूले समेत विकास गरिरहेको भनेर धम्की दिएको छ वा छैन भन्ने विषयमा पनि प्रश्न गरिन् ।

तर जुकरबर्गले आफूलाई सम्झना नभएको जवाफ दिए । तर फेसुबकले इन्स्टाग्राम किन्नुअघि इन्स्टाग्रामलाई उसको प्रडक्ट पछि पार्न आफूले पनि फेसबुक क्यामेरा एप प्रयोग गर्ने धम्की दिएको थियो ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०