close

सगूनको आईपीओ संकलन गैरकानूनी, लगानी नगर्न सेबोनको आग्रह

टेकपाना टेकपाना

साउन १६, २०७७ ८:५०

सगूनको आईपीओ संकलन गैरकानूनी, लगानी नगर्न सेबोनको आग्रह

काठमाडौं । अमेरिकामा दर्ता भएको सगूनको नेपालमा मिनी आईपीओ संकलन गर्ने कार्य गैरकानूनी देखिएको छ । एक सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालमा लगानी संकलन गर्ने उद्देश्यका साथ विज्ञापन लगायतका गतिविधि गर्ने सगूनको कार्यलाई गैरकानूनी घोषित गरेको हो ।

विदेशमा दर्ता भएको सगून इन्कर्पोरेसन जस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्र सार्वजनिक निष्काशन जारी गरेको समाचार र विज्ञापनप्रति सार्वजनिक सूचना मार्फत बोर्डले गम्भीर ध्यानाकर्षण जनाएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २७ (१) मा संगठित संस्थाले नेपालमा धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने व्यवस्था छ ।

यसैगरी सोही ऐनकै दफा २९(१) अनुसार संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणका लागि सार्वजनिक निष्काशन गर्नुपर्ने हुन्छ ।

तर सामाजिक सञ्जाल सगूनले भने धितोपत्र सम्बन्धी ऐन तथा कानून विरुद्ध नेपाली लगानीकर्तालाई लक्षित गर्दै पटक पटक मिनी आईपीओकाे नाममा धितोपत्र निष्काशन गर्दै आईरहेको छ । ‘बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्र निष्काशन गर्ने कार्य गैरकानूनी हो,’ बोर्डले स्पष्ट पार्दै भनेको भनेको छ ।

सेबोनले जारी गरेको सार्वजनिक सूचना

त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाले लगानीकर्ताहरुको हित संरक्षण गर्न नसक्ने भन्दै बोर्डले स्वीकृति प्राप्त धितोपत्र निष्काशनमा मात्र लगानी गर्न लगानीकर्तालाई सचेत गराएको छ ।

साथै प्रचलित कानून अनुसार स्वीकृति नपाएका त्यस्ता निष्काशनमा लगानीकर्तालाई लक्षीत गरी सञ्चारका माध्यमबाट त्यस्तो सूचना वा विज्ञापन नगर्न नगराउन समेत बोर्डले चेतावनी दिएको छ ।

नेपालीहरुले नै लगानी गरेको सामाजिक सञ्जाल भन्दै सगूनले विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारका माध्यमबाट पछिल्लो समय लगानी संकलनको अभियान नै चलाएको छ । पाँच वर्ष अगाडि नै सार्वजनिक भएको यसले अपेक्षित रुपमा काम गर्न नसक्दा ठूलो घाटामा सहनु परेको छ ।

डाउनलोड संख्या देखाउन गूगल र फेसबुकमा विज्ञापनको सहारा लिइरहेको यो एपको डाउनलोड मुस्किलले पाँच लाख पुगेको भए पनि सक्रिय प्रयोगकर्ताको संख्या भने एकदमै थोरै छ ।

प्रधान कार्यालय अमेरिकामा रहेको गोविन्द गिरीको व्यक्तिगत कम्पनी सगून इन्कको सब्सीडरी सगून नेपाल प्रालि तिनकुनेमा र सगून इण्डिया प्रालि भारतको नोयडामा छ । तर सगूनका यी सबै कार्यालयको काम भने सधैंभर शेयर जारी गर्ने मात्र देखिन्छ ।

स्थापनाकाल देखि लगातार घाटामा गएको यो कंपनीको अंकित मूल्य ०.०००१ डलर मात्र रहेको शेयर लगानीका जानकार नुमनाथ पौडेल बताउँछन् । उनी भन्छन्, ‘गूगल-फेसबुक जस्तै कम्पनी बन्ने सपना देखाएर नेपालीको समवेदनामा खेल्ने बाहेक सगूनसँग लगानी उठाउने अरु कुनै आधार नै देखिँदैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०