close

टिकाउ ब्याट्री अनि ४ क्यामेरा भएको सामसङ एम ३१ एस सार्वजनिक

टेकपाना टेकपाना

साउन १६, २०७७ ११:२३

टिकाउ ब्याट्री अनि ४ क्यामेरा भएको सामसङ एम ३१ एस सार्वजनिक

काठमाडौं । सामसङ ग्यालेक्सी एम ३१ एस छिमेकी बजार भारतमा सार्वजनिक भएको छ । गत फेब्रुअरीमा सार्वजनिक भएको एम ३१ को अपग्रेडेड भर्सनको रुपमा कम्पनीले एम ३१ एस ल्याइएको हो ।

यो फोन ग्यालेक्सी एम सिरिजको सबैभन्दा नयाँ फोन हो । यसमा पञ्च होल डिस्प्ले र क्वाड रियर क्यामेरा सेटअप रहेको छ । 

डुअल नानो सिम लाग्ने यो फोन एन्ड्रोइड टेन तथा यूआई भर्सनमा आधारित रहेको छ । यसमा ६.५ इञ्चको फूल एचडी प्लस सुपर एएमओएलईडी इन्फिनिटी ओ डिस्प्ले रहेको छ ।

साथै ४२० निट्सको उच्चतम ब्राइटनेस र गोरिल्ला ग्लास थ्री प्रोटेक्सन यसमा रहेको छ । प्रोसेसरको कुरा गर्दा यसमा अक्टा कोर एक्सिनस ९६११ चिपसेट रहेको छ ।

यसअघिको एम ३१ र एम ३० एस मोडलमा पनि यही प्रोसेसिङ चिपसेट प्रयोग गरिएको थियो । क्यामेरा सेटअपको कुरा गर्दा यो फोनमा ६४ मेगापिक्सेलको प्राइमरी सोनी आईएमएक्स ६८२ सेन्सर राखिएको छ ।

यस्तै यसमा १२ मेगापिक्सेलको सेकेण्डरी सेन्सर र १२३ डिग्रीको अल्ट्रा वाइड एंगल लेन्स पनि रहेको छ । साथै यसमा पाँच मेगापिक्सेलको डेप्थ शूटर र पाँच मेगापिक्सेलकै म्याक्रो शूटर रहेको छ । 

यसको अगाडितिर ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा र पाँच मेगापिक्सेलको म्याक्रो शूटर रहेको छ । यो फोनको क्यामेरा सेन्सरले फोर के भिडियो समेत रेकर्डिङ गर्न सक्छ ।

यसमा स्लो मो भिडियो, एआर डुअल र एआर इमोजी जस्ता फिचर पनि समावेश छन् । यो फोनमा १२८ जीबीको अनबोर्ड स्टोरेज छ ।

जसलाई माइक्रो एसडी कार्डबाट अझै धेरै बढाउन सकिन्छ । यसको कनेक्टिभिटी अप्सनको कुरा गर्दा यसमा फोरजी भीओएलटीई, वाईफाई ८०२.११ एसी, ब्लूटूथ भी ५.०, जीपीएस/ए जीपीएस, यूएसबी टाइप सी र ३.५ एमएमको हेडफोन ज्याक रहेका छन् । 

फिंगरप्रिन्ट सेन्सर समेत रहेको यो फोनमा ६ हजार एमएएचको ब्याट्री र २५ वाटको फास्ट चार्जर रहेको छ । फोनको मोटाई भने ९.३ एमएम रहेको छ ।

दुई भेरियन्टमा उपलब्ध यो फोनमा छ जीबी भेरियन्ट र्‍यामको मूल्य १९, ४९९ भारु रहेको छ भने आठ जीबी भेरियन्टको मूल्य २१, ४९९ भारु रहेको छ । मिराज ब्ल्याक र मिराज ब्ल्यू रंगमा उपलब्ध यो फोन नेपालमा भने नआउने सामसङ नेपालले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०