close

सांसदहरुको गुनासो, ‘घाम लाग्दा चल्ने, बादल लागे नचल्ने टेलिकमको कस्तो सेवा हो ?

टेकपाना टेकपाना

साउन १६, २०७७ १३:९

सांसदहरुको गुनासो, ‘घाम  लाग्दा चल्ने, बादल लागे नचल्ने टेलिकमको कस्तो सेवा हो ?

काठमाडौं । सांसदहरुले टेलिकमको सेवाको गुणस्तरमाथि प्रश्न उठाएका छन् । शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा बोल्ने क्रममा सांसदहरुले घाम लाग्दा चल्ने, तर बादल लाग्दा नचल्ने भन्दै कम्पनीको सेवाको गुणस्तर सुधार गर्नुपर्नमा जोड दिएका हुन् । 

सांसद कमला रोकाले रुकुम पूर्वको चुनवाँगमा सफ्ट वियर नभएकै कारण त्यहा सेवा नपुगेको बताइन् । ‘पहिलेकोले ठेक्का तोड्यो, अहिले त्यसै छ,’ उनले भनिन्, ‘जनता बारम्बार गुनासो गर्छन, लकडाउनको बहाना देखाएर सामान आपूर्ति नहुँदा समस्या भइरहेको भन्ने गरिएको छ । घामसँगै टेलिकमको टावर आउँछ, घामसङ्गै अस्ताउँछ । रुकुमको सुरुवातमा यो हालत छ, गाउँ गाउँमा के होला ?’

अर्का सांसद दामोदर भण्डारीले नेपाल टेलिकमबाट अपेक्षा गरे अनुरुपको सेवा प्राप्त हुन नसकेको बताए । उनले भने, ‘स्कूल कलेजअवरुद्ध भइरहेको बेला लकडाउनको समयमा टेलिकम सेवाको महत्व झन् बढेको छ । तर सेवा प्रभावकारी हुन भने सकेको छैन । कुरा नसकिँदै फोन काटिने नियति अझैं हामीले भोगिरहेका छौं ।’

सांसद भण्डारीले एनसेलले टेलिकमले भन्दा राम्रो सेवा दिँदै आइरहेको उल्लेख गर्दै राज्यको लगानी रहेको कम्पनीले त्यसमा प्रतिस्पर्धा गर्न किन नसकेको भन्दै प्रश्न उठाए । ‘हामी सेवा दिने कुरामा किन चुकिरहेका छौं ?,’ उनले प्रश्न गर्दै भने, ‘एउटा निजी कम्पनीसँग राज्यले प्रतिस्पर्धा गर्न नसक्ने हो ? त्यसो हो भने यसलाई पनि निजीकरण गरौं ।’

बैंकमा इन्टरनेट नभएर सेवा प्रवाह हुन नसकिरहेको उल्लेख गर्दै उनले बैतडीमा भारतसँग सीमा जोडिएका स्थानहरुमा भारतीय दूरसञ्चार कम्पनीको सेवा लिनुपर्ने बाध्यता रहेको बताए । ‘त्यहाँका जनताले नेपाल टेलिकम चिन्दैनन् । बादल लागे सेवा बन्द हुन्छ,’ उनले भने, ‘यो नियति कहिलेसम्म ?’

अहिलेको प्रविधिलाई आम जनताको पहुँचमा पुर्‍याउने जिम्मेवारीबाट कुनै पनि कारण देखाएर उम्किन नपाइने सांसद भण्डारीको तर्क छ । 

यसैगरी अर्का सांसद सञ्जय गौतमले गम्भीर विषयमा छलफलका लागि आह्वान गर्दा समेत सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडा नआएको भन्दै आपत्ति जनाए । ‘मन्त्री नै नआउँदा यो छलफलले कुनै किसिमको समाधान दिन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘मन्त्री ज्यू अनिवार्य रुपमा उपस्थिति हुनुपर्ने थियो । यो मन्त्रालय संवेनशील छ, होइन भने मन्त्रीले नै राजीनामा दिनुपर्छ ।’

अहिलेको परिस्थितिमा ठोस कार्यनीति बनाएर अघि बढ्न सकेको खण्डमा मात्र नतिजा आउन सक्ने भन्दै सांसद गौतमले राजमार्गमा पनि टेलिकमको मोबाइ सेवाले काम नगरेको बताए । ‘हामी ठुलो ठुलो कुरा गर्छौ,’ उनले भने, ‘हामी कतिसम्म आफैलाई ढाँटेका छौं भन्ने यसले देखाउँछ । प्रविधिबाट घरमै बसेर पढाउछौं भनेका छौं । फोरजी सेवाको विषय ठोस रुपमा आउन सकेको छैन । किन यो सेवा समयमै विस्तार हुन सकेन ? यसले पार्ने आर्थिक प्रभाव बुझ्न जरुरी छ ।’

यूटिएलले पैसा लिएर जनताको करमाथि मनपरी गरेको भन्दै उनले डिजिटल नेपालको फ्रेमवर्कको गफ दिएर मात्रै नहुने भनाई राखे । उनले भने, ‘अब हामीले कसलाई ढाँट्ने ? कसलाई ठग्ने ? विकास समिति अब एक्सनमा आउनुपर्छ ।’

 सांसद आशा बेञ्जुले अहिलेको जमानामा पनि समस्या र सम्भावना देखाएर मात्र कुरा गर्ने प्रवृत्ति देखिएको भन्दै यस किसिमले समाधान नहुने बताइन् । ‘यतिबेला अनलाइन पढाइको कुरा हुँदैछ,’ उनले भनिन्, ‘बझाङको धेरै ठाउँमा नेपाल टेलिकमको टावर टिप्दैन, तर एनसेलको सेवा राम्रैसँग चल्छ । अलि चर्को घाम लागे वा पानी परे टेलिकमको चल्दैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०