close

सांसद लिङदेनको प्रश्न : ‘एनसेलले साढे २ अर्बमै सकेको फोरजीमा टेलिकमलाई १८ अर्ब किन लाग्यो ?’

टेकपाना टेकपाना

साउन १६, २०७७ १३:३६

सांसद लिङदेनको प्रश्न : ‘एनसेलले साढे २ अर्बमै सकेको फोरजीमा टेलिकमलाई १८ अर्ब किन लाग्यो ?’

काठमाडौं । सांसद राजेन्द्र लिङ्देनले एनसेलले साढे दुई अर्बमै विस्तार गरेको फोरजी सेवाका लागि टेलिकमले २० अर्ब खर्चेको विषयमा प्रश्न उठाएका छन् । शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा बोल्ने क्रममा सांसद लिङदेनले यस्तो प्रश्न उठाएका हुन् । 

एनसेलसँग तुलना गर्दा टेलिकम निकम्मा भइसकेको उल्लेख गर्दै उनले केचन कवलका ठाउँले भारतीय सीम बोक्ने गरेको सुनाए । ‘हाम्रो टेलिकमले त्यहाँ काम नदिने, तर एनसेल टिप्ने,’ उनले गुनासो गर्दै भने, ‘कयौं पटक भन्यौं । तर भद्रपुरमा अझैं सेवा सुधार हुन सकेको छैन । त्यहाँका मान्छेले परिवारसँग फोनमा कुरा गर्न पाएका छैनन ।’

यस्तो अवस्थामा कति प्रतिशत प्रगति भयो भनेर आंकडा सोध्नुको कुनै अर्थ नहुने सांसद लिङदेनको भनाई थियो । ‘हामीले जुन सेवा प्रदान गरिरहेका छौं, त्यो संसारकै महंगो मध्येमा पर्छ,’ उनले भने, ‘एनसेलले साढे दुई अर्बमा सकेको फोरजी सेवाका लागि टेलिकमले चाहिं किन १८ अर्ब लालगायो ? त्यो बाहिर हामीले बुझ्ने गरी आउन पर्‍यो । सेवा पनि एनसेलकै राम्रो हुने, तर टेलिकमले भने १८ अर्बमा मात्र सक्ने ?’

डीपीआर गर्दा नै ३५ अर्बको बनाएको र हामीले १८ अर्ब सक्यौं भनेर मान्छेहरुलाई मूर्ख बनाउने काम टेलिकमले गरेको सांसद लिङदेनको आरोप थियो । ‘म काठमाडौं हुँदा वर्ल्ड लिङ्कको इन्टरनेट चलाउँछु,’ उनले भने, ‘झापामा भने  टेलिकम चलाउँछु, सेवा चाहिं आकाश जमिनको फरक छ ।’

उनले आईसिटी प्रोग्राम भनेर स्कूलमा कम्प्युटर बाँड्ने काम शिक्षा मन्त्रालयको हुनुपर्नेमा सञ्चारबाट अगाडि बढाइएको विषयमा समेत प्रश्न उठाएका थिए । उनले भने, ‘यो काम सञ्चार मन्त्रालयको हुँदै होइन,’ उनले भने ।

अर्का सांसद यज्ञराज सुनुवारले टेलिकमको सेवालाई व्यंग्य गर्दै भने, ‘टेलिकमले एकदमै राम्रो सूचना दिने गरेको छ, माफ गर्नुहोला, तपाईंले डायल गर्नुभएको फोनमा संपर्क हुन सकेन । यस्तो सूचना त दिएकै छ ।

निजी एरलाइन्स मोटाउने, निगम दुब्लाउने, निजी स्कूल मोटाउने सरकारी स्कूल दुब्लाउने, निजी दूरसञ्चार कम्पनी मोटाउने, टेलिकम दुब्लाउने, यस्तै भइरहेको छ ।’

यस्तो नहोस् भन्ने कोणबाट काम हुनुपर्ने सांसद सुनुवारको भनाई थियो । ‘प्रारम्भमा यति अनियमितताको कुरा आउँछ भन्ने मलाई लागेको थिएन,’ उनले भने, ‘असार साउन पानीले संपर्क विच्छेद, चैत वैशाख हुरीले, मंसिर पुष चिसोले विच्छेद, टेलिकमको सेवा कहिले च्ल्छ ?  कोरोनाका कारण अप्टिकल फाइबर विस्तार भएन , फोरजी विस्तार हुन सकेन, कमजोरी लुकाउने यो राम्रो बहाना बनेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०