close

फेसबुकमा अश्लील फोटो पठाउने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

साउन १६, २०७७ १७:५

फेसबुकमा अश्लील फोटो पठाउने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा अश्लील फोटो तथा सामग्री पठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार काठमाडौं बालाजू बस्ने ३८ वर्षीय सविनराज मिश्रलाई पक्राउ गरेको हो ।

मिश्रले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीय एक बालिकाको फोटो प्रयोग गरी फेसबुकमा फेक आईडीमार्फत अश्लील फोटो तथा सन्देश बनाएर बालिकाको दिदी र आफन्तहरुलाई पठाउने गरेका थिए । प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा तनहुँ भानु नगरपकालिका वडा नम्बर ८ स्थानीय घर भएका मिश्रको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट पक्राउ परेका सविनराज मिश्र विरुद्ध काठमाडौं जिल्ला अदालतमा पेश गरी सात दिनको म्याद थप लिएर अनुसन्धान जारी छ । उनी २०७६ मंसिर २४ गते विद्युतीय कारोबार ऐन अन्तर्गतकै कसुरमा काठमाडौं जिल्ला अदालतबाट एक लाख रुपैयाँ धरौटीमा छुटेको बताइएको छ ।

प्रहरीले अश्लील तथा यौनजन्य सामग्रीहरु कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय तथा अन्य माध्यमबाट प्रकाशन, प्रसारण र प्रदर्शन नगर्न सबैलाई सचेत गराएको छ । ‘सार्वजनिक नैतिकता तथा शिष्टाचार विरुद्ध हुने, व्यक्तिलाई अपमान तथा हैरानी गर्ने, घृणा वा द्वेष फैलाई समाजमा विकृती विसंगति बढाउने हुँदा कानूनद्धारा दण्डनीय भएका यस किसिमका कार्य नगर्न र नगराउनु हुन अनुरोध गरिएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०