close

इतिहासमै पहिलोपटक खस्कियो गूगलको आम्दानी

टेकपाना टेकपाना

साउन १७, २०७७ ११:२८

इतिहासमै पहिलोपटक खस्कियो गूगलको आम्दानी

काठमाडौं । गूगलको प्यारेन्ट (अभिभावक) कम्पनी अल्फाबेटले यो वर्षको दोस्रो त्रैमासिकमा अहिलेसम्मकै ठूलो आम्दानी गिरावटको सामना गर्नुपरेको छ । यद्यपी कम्पनीले वाल स्ट्रिटको आम्दानीको अपेक्षालाई भने पुरा गर्न सकेको बताएको छ ।  

दोस्रो त्रैमासिक अवधिमा अल्फाबेट कम्पनीले ३८ अर्ब ३० करोड डलरको कूल आम्दानी गरेको छ । अल्फाबेटले ३७ अर्ब ४० करोड डलर आम्दानी गर्ने वाल स्ट्रिटको अपेक्षा थियो ।

तर गत वर्षको सोही अवधिको तुलनामा यो कूल आम्दानीको दुई प्रतिशत कम हो । एक वर्षअघिको ९ अर्ब ९० करोड डलरको खुद नाफाको तुलनामा यो पटकको खुद नाफा ६ अर्ब ९० करोड डलरमा झरेको छ ।

यस्तै गूगल सर्चको आम्दानी गत वर्ष २३ अर्ब ६० करोड डलर रहेकोमा यो वर्ष २१ अर्ब ३० करोड डलरमा झरेको छ ।

अल्फाबेटका लागि नाफा कमाउन सक्षम क्षेत्र भनेको यसपटक युट्युव रहेको छ । यस अवधिमा युट्युवको विज्ञापनतर्फको आम्दानी बढेर तीन अर्ब ८१ करोड डलर पुगेको छ ।

जुन गत वर्ष तीन अर्ब ६० करोड डलर रहेको थियो । यस्तै गूगल क्लाउडले पनि गत वर्षको सो अवधिमा दुई अर्ब दश करोड डलर आम्दानी गरेको थियो भने यस वर्ष तीन अर्ब एक करोड आम्दानी गरेको छ । 

तर दोस्रो त्रैमासिकको अन्त्यतिरको वृद्धिबाट आफू उत्साहित रहेको अल्फाबेटकी सीएफओ रुथ पोराटले बताएकी छिन् । यद्यपी विश्वभरको म्याक्रो इन्भाइरोमेन्टको अनिश्चितताबीच यस्तै ट्रेण्ड अगाडि पनि जारी रहला कि नरहला भन्ने विषय आँकलन गर्न अहिले नै ठीक समय नभएको उनको भनाई छ । 

कम्पनीका सीईओ सुन्दर पिचाईले कोरोना भाइरसको महामारीका कारण विश्वभरको आर्थिक अवस्था कमजोर भएको बेला प्रयोगकर्ताहरुले आफ्नो व्यवसायिक गतिविधिलाई अनलाइनमा सञ्चालन गरेको देख्दा स्थिरताको प्रारम्भिक संकेत मिलेको बताए ।

सो अवधिमा गूगल प्ले र युट्युवले राम्रो प्रदर्शन गरेको उनको भनाई छ । उक्त अवधिमा एप र गेम डाउनलोड ३५ प्रतिशतले बढेको छ । यस्तै सो अवधिमा अधिकांश मानिसहरुले वर्क फ्रम होम गर्दा क्लाउड सेवाको खपत पनि बढेको उनले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०