close

अनलाइन कक्षा जस्तै, अनलाइन परीक्षा कति सम्भव ?

युजु खालिङ युजु खालिङ

साउन १७, २०७७ १६:५३

अनलाइन कक्षा जस्तै, अनलाइन परीक्षा कति सम्भव ?

काठमाडौं । सरकारले ६ साउनको मध्यरातदेखि लकडाउन खोल्ने निर्णय गरेसँगै देशभर स्थगित पठनपाठन कार्यक्रम पुनः सुचारु हुने दिशामा गएको छ । 

भर्ना प्रक्रियाको थालनी भएको छ । स्थगित परीक्षाहरु सुरु गर्नेगरी शैक्षिक संस्थाहरुले सूचना जारी गरिरहेका छन् ।  

इञ्जिनियरिङ अध्ययन संस्थान आईओईले आफ्ना स्थगित परीक्षाहरु सञ्चालन गर्ने सूचना जारी गरेको छ । संस्थानले स्नातक तह तथा स्नातकोत्तर तहका परीक्षाहरु आगामी भदौं महिनामा सञ्चालन गर्ने निर्णय लिएको छ । 

यस्तै चिकित्सा अध्ययन संस्थान आईओएमले पनि श्रावण ९ गतेदेखि आफ्नो स्नातक तह तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने घोषणा गरिसकेको थियो । 

तर परीक्षा सुचारु गर्ने आईओईको एकल निर्णयबाट पुल्चोक इञ्जिनियरिङ कलेजमा अध्ययनरत अनुसन्धान पोखरेल भने खुशी छैनन् । उनले आफ्नो असन्तुष्टि फेसबुक स्टाटसको रुपमा यसरी पोख्छन् ।  

‘यस्तो संवेदनशील विषय विद्यार्थीहरुको अहिलेको आवस्थालाई मात्र होइन, पछिको सन्दर्भलाई पनि विश्लेषण गरेर निर्णय लिन उचित हुन्छ । उपत्यका बाहिरका विद्यार्थीहरु उपत्यकामा कस्तो अवस्थामा फर्कन्छन् र त्यसपछि के कस्तो कठिनाईको सामना गर्नु पर्छ भन्ने कुरा पनि सोच्न जरुरी छ । सार्वजनिक यातायात, भोजनालय , छात्रावासदेखि लिएर सबै स्थानहरुमा प्रोटोकल परिवर्तन हुन्छ ।

सवारी साधनमा पनि सामाजिक दुरी जस्ता विधि अपनाउनु पर्ने हुदा भदौ महिनाको पहिलो वा दोस्रो हप्ताका लागि लामो दूरीको यातायात सेवा सहजै पाउन पनि निकै कठिन छ । विद्यार्थीहरुलाई परीक्षा केन्द्रसम्म पुग्न यही कारणहरुले गर्दा पहिलेभन्दा अवश्य पनि बढी समय पक्कै लाग्छ ।

कोभिड-१९ अघिको हाम्रो दैनिक जीवनलाई नियालेर हेर्नुहोस्, यस्ता विभिन्न कठिनाइहरू भेटिन्छन् । त्यसमाथि कोभिड-१९ को संक्रमण परीक्षा कोठाभित्र हुने सम्भावना बाहिरभन्दा निकै बढी छ ।

यस्तो अवस्थामा इञ्जिनियरिङ अध्ययन संस्थानको निर्णय अनुसार परीक्षा हुन मुश्किल मात्र होइन, असम्भव नै छ।’ 

भौतिक उपस्थितिमा परीक्षा सुचारु गराउन तम्सिने, तर विद्यार्थीहरुको मानसिक तयारी र सम्भावित दुष्परिणामलाई विचार नगर्ने  हरेक शैक्षिक संस्थाका विद्यार्थीहरुमा यस्तै किसिमको असन्तुष्टी देखिन्छ । 

लकडाउनबीच अधिकांश शैक्षिक संस्थाहरुले सूचना प्रविधिको सदुपयोग गर्दै जूम, टिम्स, मीट जस्ता विभिन्न भिडियो कन्फ्रेन्सिङ एपको प्रयोग गरेर आफ्नो पाठ्यक्रमलाई अगाडि बढाए ।

तर जब विद्यार्थीहरुको शैक्षिक मूल्यांकनको समय आयो, तब धेरैले विकल्प बिहीन जस्तै बनेर भौतिक उपस्थितिमा परिक्षा लिन सूचना जारी गरिरहेका छन् । 

त्रिभुवन विश्वविद्यालयकै स्थगित कतिपय परीक्षाहरु अहिले लिने वा आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई पास गराउने भन्नेमा अन्यौलताको स्थितिमा छन् । यस बीच विद्यार्थीहरु पनि आफ्नो शैक्षिक उन्नयनको बाटो अवरुद्ध भएको जस्तो महसुस पनि गरिरहेका छन् । 

सरकारले भर्ना तथा शैक्षिक गतिविधिका लागि ढोका त खोलिदियो । तर संक्रमण र मृत्यु हुनेहरुको संख्या बढ्दै गइरहेको यस्तो विषम परिस्थितिमा परीक्षाको विषयमा भने उ जिम्मेवार रुपमा प्रस्तुत हुन सकिरहेको छैन ।  

परीक्षाको यो समस्यालाई  टड्कारो रुपमा सम्बोधन गर्ने विकल्पहरु हामीसँग नभएका भने होइनन् । दूरशिक्षा जस्तै दूरपरीक्षामा पनि नेपालमा राम्रै सम्भावना र अभ्यासका उदाहरण छन् । तर परम्परागत परीक्षा प्रणालीलाई नै निर्णायक मान्ने हाम्रो मनस्थितिले यी सम्भावनाहरुलाई ओझेलमा पार्दै लगेको छ । 

सन् १९९८ देखि दूर शिक्षाको अभ्यास गर्दै आइरहेको लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष पंकज जलान अहिलेको अवस्थामा नेपालमा दूर परीक्षा सम्भव देख्छन् । लकडाउन घोषणा भएको दोस्रो दिनदेखि नै लर्ड बुद्ध कलेजले अनलाइनमार्फत पठन पाठन गराउँदै आइरहेको छ ।

अब सेमेस्टरकै अन्तिम परीक्षा समेत एआई प्रोक्टर सफ्टवेयरबाट लिन लागिएको उनले जानकारी दिए । जनकपुरमा रहेको लर्ड बुद्ध फाउण्डेसनकै विद्यालयमा बैशाख २ गतेदेखि पठनपाठन सुरु गरिरहेको र विद्यार्थीहरुको टर्मिनल एक्जाम समेत यसै सफ्टवेयरबाट लिइसकेको जलानले बताए ।

कलेज तहमा परीक्षा लिनका लागि विश्वविद्यालयमा पत्र पठाइएको छ ।  ‘हामीले यो सफ्टवेयर ९ महिना अघि नै विकास गरेका हौं,’ अध्यक्ष जलानले भने, ‘कोभिड १९ नआएको भए सायद यसको प्रयोग ढिलो गरी हुन्थ्यो होला । तर कोभिडका कारण यसको प्रयोग चाँडै भयो ।’ 

इन्टरनेट पहुँच भएको अवस्थामा यो सफ्टवेयरबाट परीक्षा लिन/दिन सजिलो रहेको उनको अनुभव छ । ‘विद्यार्थीलाई हामी एउटा लिंक पठाउँछौं, उसले लिंक खोलेर सिस्टमभित्र परीक्षाका उत्तरहरु लेख्न सक्छ र उसको डिभाइसमा भएको क्यामेराबाट हामी उसलाई निरीक्षण गर्छौं ।

उसको डिभाइसको क्यामेरा हाम्रो सर्भरको नियन्त्रणमा हुन्छ । विद्यार्थीले क्यामेरालाई छोप्न वा केही गर्न खोज्यो भने रिपोर्टमा सबै रेकर्डिङ स्पष्ट देख्न सकिन्छ । यसरी उसको परीक्षा रद्द हुन्छ । उसले परीक्षा दिइरहँदा परीक्षा दिन खोलेको ट्याब बाहेक अन्य ट्याब चलाउन मिल्दैन ।

जस्तो क्रोमभित्र अर्को वेबसाइट खोलेर जवाफ लेख्छु भन्दा उसले पाउँदैन । त्यो साइटबाहेक उसले अनलाइनमा अर्को कुनै साइट खोल्नै पाउँदैन ।’

ई-जाँच कम्पनीले बनाएको यो सफ्टवेयर प्रयोग गर्न कम्तीमा ५ एमबीपीएस गतिको इन्टरनेट भने आवश्यक पर्छ । यसमा ल्यापटप वा मोबाइल फोन जुनसुकै ग्याजेटले पनि काम गर्नसक्छ ।

विगत पाँच वर्षदेखि शैक्षिक व्यवस्थापन प्रविधिमा काम गर्दै आइरहेको कम्पनी डिजिटल नेपालले पनि लकडाउनको बीचमा दूर परीक्षाका लागि छुट्टै सफ्टवेयर सिस्टम तयार पारेको छ । कम्पनीले वेबमा आधारित डिजिटल नेपाल स्कुल म्यानेजमेन्ट सफ्टवेयर विकास गरेको कम्पनीका सीईओ आदित्य राजले बताए । 

डिजिटल नेपालले उक्त सफ्टवेयरलाई लकडाउनको अवधिमा नै तयार पारेको हो । ‘चैत, वैशाख र जेठ गरी तीन महिना लगाएर हामीले यो सफ्टवेयर बनायौं र असार १ मा सार्वजनिक गर्‍यौं ।

अहिले बुढानिलकण्ठ स्कूल लगायत नेपालभरका ५०, ६० वटा विद्यालयहरुले सफलतापूर्वक यसको प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘यो सफ्टवेयर प्लस टूको इन्ट्रान्स परीक्षा तथा टेस्ट परीक्षामा समेत प्रयोग भइसकेको छ । अनलाइन कक्षाका दौरान टेस्ट परीक्षा पनि यसबाटै सञ्चालन गरेका थियौं ।’ 

परीक्षा अनुशासनको विषयलाई लिएर यो सफ्टवेयर एकदमै विश्वसनीय रहेको आदित्य बताउँछन् । ‘परीक्षा दिइरहँदा विद्यार्थीले चोरी गर्न पनि पाउँदैन । परीक्षा अवधिभर डिभाइसको स्क्रीन नै लक भएर बस्छ । अर्को ट्याब खोल्न, मिनिमाइज गर्न पनि पाइँदैन ।

कुनै उपाय लगाएर गूगल सर्च गर्न अर्को ट्याब खोल्दा परिक्षा नै आफै सब्मिट हुन्छ । त्यसपछि परीक्षा नै दिन पाइँदैन ।  प्रत्येक प्रश्नको लागि समय छुट्याइएको हुन्छ र त्यो समयभित्र उत्तर सकिएन भने त्यो प्रश्न स्वतः हराएर जान्छ । तीन घण्टाको परीक्षा अवधि छ भने त्यति समयमा जति लेख्यो, त्यति मात्र अटोमेटिक सब्मिट हुन्छ ।

तीनचार जना साथीसँगै बसेर गर्ने हो भने पनि प्रश्न चाहि सबैलाई फरक, तर रेन्डम अर्डरमा आउँछ । यो सिस्टमबाट परीक्षा लिने गरी विद्यालयहरुले जूम जस्ता विभिन्न भिडियो कन्फ्रेन्सिङ एपबाट विद्यार्थीमाथि निगरानी गर्न समेत सक्छन्,’ आदित्य राजले टेकपानालाई सुनाए ।

यस्तै लामो समयदेखि शैक्षिक प्रविधिको क्षेत्रमा काम गर्दै आइरहेको ई लर्निङसँग पनि ओपन सोर्सबाट विकास गरेको आई लर्न नामको दूर परीक्षा सफ्टवेयर छ । साना विद्यालयहरुका लागि कठिनाई देखिएता पनि उच्च शैक्षिक तहका परीक्षाहरुका लागि यो सफ्टवेयर एकदमै प्रभावकारी र सफल ठहर भइसकेको कम्पनीका सीईओ बिभोर बराल बताउँछन् ।

‘सिस्टमभित्र इक्जाम टाइमबाउण्ड हुन्छ । रेन्डम आउने अब्जेक्टिभ प्रश्न हुन्छन् । यसमा टाइम बाउण्ड हुने हुँदा विद्यार्थीहरुले लेखिरहँदा छलफल वा हल्ला गर्न पाउँदैनन् । ढिलो भएमा प्रश्न आफै हराएर जाने हुँदा चारपाँच जना साथीहरु एक साथ बसेर पनि परिक्षा दिन सकिन्छ,’ बिभोरले टेकपानासँग भने । 

चाबहिल स्थित कलेज अफ एप्लाइड साइन्सले ई लर्निङकै यही सफ्टवेयर प्रयोग गरेको सात वर्षभन्दा धेरै भइसकेको कलेजकी आईटी कोअर्डिनेटर कमल आचार्य बताउँछन् । 

यो अनलाइन लर्निङ पोर्टलमा कक्षा लिन, विभिन्न सामग्रीहरु अपलोड गर्न र परीक्षा समेत सञ्चालन गर्न मिल्छ । कलेजले सामान्य समयमा पनि यो सिस्टमबाट अनलाइन परीक्षा लिने गरेको छ । सामान्य टेस्ट परीक्षाहरु पनि यसैबाट लिने गरिएको आचार्यले टेकपानालाई बताए । 

‘हामी सिस्टममा जान्छौं । त्यहाँ प्रश्नहरु सेट गर्छौं । समय निर्धारण गरिदिन्छौं । तोकिएको समयसम्म त्यो सिस्टम अन हुन्छ । विद्यार्थीहरु परीक्षामा बस्न सिस्टमभित्र जान्छन् र तोकिएको समयभित्र विद्यार्थीहरुले सब्मिट गरे त्यसको मूल्यांकन गर्छौं ।

समय कटिसकेपछि सिस्टम बन्द हुन्छ र सब्मिट गर्न मिल्दैन । कलेजमा अहिले बीआईएम, बीबीए र सीएसआईटी विषयहरु चलिरहेको छ । यसबै कक्षाहरुमा यही सफ्टवेयर प्रयोग भइरहेको छ,’ आचार्यले भने । 

तर नेपालमा धेरै ठाउँमा विद्युत र इन्टरनेट सेवा नियमित नहुने  समस्या हुँदा अनलाइन परीक्षा सञ्चालनका लागि चुनौतिको विषय बन्न सक्छ । यस किसिमका अवरोधलाई हटाएर दूर परीक्षा सञ्चालन गर्न सकिने सम्भावना भने रहेको पुल्चोक इञ्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी अनुसन्धान पोखरेल बताउँछन् ।

तीन घण्टाको समय विद्युत र इन्टरनेटको अवरोध बिना ओपन बूक इक्जाम लिन कार्य समेत अन्तर्राष्ट्रियरुपमा प्रभावकारी प्रमाणित भइसकेको उनको भनाई छ ।

‘समय अवरोध बिनाको ओपन बूक इक्जाम पनि विकल्पको रुपमा प्रयोग गर्न हामीले सुझाव दिएकै हो । यसो गर्दा विद्यार्थीको खोज्ने र अनुसन्धान गर्ने बानी पनि बस्छ । साथै इन्टरनेट पहुँचमा नभएका विद्यार्थीहरुले नजिकैको इन्टरनेट सुविधा भएको ठाउँमा गएर अनुसन्धान गरेर आफ्नो पेपर सब्मिट गर्न पनि सक्छन् ।’

यस किसिमको परीक्षाका लागि इन्टरनेट पूर्वाधारले निकै महत्वपूर्ण भूमिका खेल्छ । सबै भूभागमा समानस्तरमा इन्टरनेट पहुँच विस्तार नभएको अवस्थामा यस प्रकारको परीक्षाले डिजिटल डिभाइडको अवस्था ल्याउने चुनौती छुट्टै छ । 

तर सम्भावना भएको क्षेत्रमा यस किसिमका प्रविधिमार्फत परीक्षा सञ्चालन गरेर अन्य क्षेत्रका लागि भिन्न विकल्प अपनाउन सकिने विज्ञहरु बताउँछन् । 

विद्यार्थीको क्षमतालाई वर्षको अन्तिममा लिइने एउटा पेपर परीक्षाले मूल्यांकन गर्नै नहुने ई लर्निङका सीईओ विभोर बराल बताउँछन् । लर्निङ म्यानेजमेन्ट सिस्टम यस्तो समयमा राम्रो प्रयोग हुन सक्ने उनको धारणा छ । ‘एउटा परीक्षाले विद्यार्थीको क्षमता मूल्यांकन गर्ने परम्परालाई हामीले विस्तारै तोड्दै जानुपर्छ ।

हामीले लर्निङ म्याेजमेन्ट सिस्टमको प्रयोगबाट पनि विद्यार्थीहरुको मूल्यांकन गर्न सक्छौं । यस्तो सिस्टममा विद्यार्थीहरु आफूसँग भएको डिभाइसबाट लग ईन गर्न सक्छन्,’ उनी भन्छन्, ‘उसले बुझाउने असाइनमेन्ट, दिने प्रिजेन्टेसन, प्रोजेक्ट वर्क सबै कुराहरु जुनजुन कुराबाट उसको मूल्यांकन हुनसक्छ, त्यो सिस्टममा प्वाइन्ट बनेर रहिरहन्छ । उसको पहिलेदेखिको संलग्नता, गतिविधिलाई सिस्टमले विस्तारै ट्र्याक गर्दै आइरहेको हुन्छ ।’

आईटी शिक्षाको क्षेत्रमा चर्चामा आइरहेका टूलहरुलाई अहिले आफैंले प्रयोग गरेर राम्रो उदाहरण स्थापित गर्न सकिएको लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष पंकज जलानको अनुभव छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०