close

साउदी अरामकोलाई पछि पार्दै एप्पल बन्यो विश्वकै मूल्यवान कम्पनी

टेकपाना टेकपाना

साउन १८, २०७७ १४:१४

साउदी अरामकोलाई पछि पार्दै एप्पल बन्यो विश्वकै मूल्यवान कम्पनी

गत वर्ष साउदी अरामको विश्वको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी थियो । तर  १० प्रतिशतभन्दा बढी शेयर वृद्धिसँगै प्रविधि उद्योग जगतको दिग्गज कम्पनी एप्पलले नयाँ रेकर्ड कायम गरेको छ ।

यससँगै एप्पल अब साउदी अरामकोलाई पछाडि पार्दै विश्वको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी बन्न पुगेको छ। समाचार संस्था रोयटर्सको रिपोर्टका अनुसार एप्पलको प्रति शेयर मूल्य ४२५.०४ डलर पुगेको छ ।

पछिल्लो दिनको शेयर कारोबारसँगै एप्पलको मूल्य १.८१७ ट्रिलियन डलर पुगेको छ । जबकि अरामको मूल्य १.७६ ट्रिलियन डलर रहेको छ । 

साउदी अरबको राष्ट्रिय आयल कम्पनीलाई एप्पलले पछि पारेको यो नै पहिलो पटक हो । यस अघि एप्पल अमेरिकाको शीर्ष सार्वजनिक कम्पनीका लागि माइक्रोसफ्ट कर्पसँगको होडमा रहेको थियो ।

एप्पलले केवल शेयर बजारमा मात्र नभएर सिंगो प्रविधि उद्योगमा समेत महत्त्वपूर्ण स्थान बनाएको छ । जसले गर्दा बजारमा कम्पनीसँग जोडिएका हरेक विषयले प्रयोगकर्ताको समेत ध्यान खिच्ने गरेको छ ।

कम्पनी आईफोन १२ ल्याउने तयारीमा छ । जसको विषयमा थुप्रै प्रकारका लीक र खुलासा बाहिर आएका छन् । तर हालसालै आएको एउटा रिपोर्टका अनुसार कम्पनीले हरेक वर्ष जस्तै यस पटक सेप्टेम्बरमा आईफोन १२ सार्वजनिक गर्ने छैन ।

कोभिड १९ का कारण उत्पादनमा ढिलाइ हुने भएकाले प्रयोगकर्ताले आईफोन १२ का लागि अक्टुबरसम्म कुर्नुपर्ने हुन सक्छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०