close

एनसेलसँग सहकार्य गर्न प्याब्सनले गर्‍यो टेलिकमको ‘बदनाम’

टेकपाना टेकपाना

साउन १८, २०७७ १९:१३

एनसेलसँग सहकार्य गर्न प्याब्सनले गर्‍यो टेलिकमको ‘बदनाम’

काठमाडौं । ई–शिक्षा प्याकेजसँग जोडेर कम्पनीको बदनाम गराउन खोजेको भन्दै नेपाल टेलिकमले निजी विद्यालयहरुको संगठनविरुद्ध वक्तव्य जारी गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले ‘ई लर्निङको प्याकेज सुविधा सम्बन्धमा’ भन्दै वेबसाइटमा परिपत्र अपलोड गरेपछि कम्पनीले आपत्ति प्रकट गरेको हो ।

टेलिकमका अनुसार संगठनले ई-शिक्षा प्याकेजका लागि कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात विभिन्न चरणमा दुई पक्षीय छलफल समेत भएको थियो । छलफल सकारात्मक भएपश्चात तत्कालका लागि कम्पनीले उपलब्ध गराइरहेको ई–शिक्षा प्याकेज सम्बन्धी विवरण संगठनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको थियो ।

त्यसका साथै अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डेटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक रहेकोे टेलिकमले जनाएको छ । ‘संगठनसँगको छलफल बमोजिम कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्‍याइसकेको थियो,’ टेलिकमले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

तर, गएको बिहीबार प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई ‘ई–लर्निङ प्याकेजको सम्बन्धमा’ भन्दै परिपत्र आफ्नो वेबसाइटमा अपलोड गर्‍यो । यसै विषयलाई लिएर टेलिकमले कम्पनीसँगको छलफल सकारात्मक रुपमा अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहित परिपत्र गरिएको भन्दै ध्यानाकर्षण जनाएको हो ।

टेलिकमको विज्ञप्तीमा भनिएको छ, ‘आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमति नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमती व्यक्त गर्दछ ।’

टेलिकम लक्षित परिपत्र जारी गरेको भोलिपल्ट प्याब्सन र एनसेलबीचको सहकार्यमा २५० रुपैयाँमा २० जीबी डेटा र दैनिक १२० मिनेट टकटाइम सहितको ई–शिक्षा प्याकेज ल्याइएको थियो । जसअनुसार जूम, गूगल मीट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा प्राप्त गर्न सकिने जनाइएको छ ।

त्यससँगै एक जीबी थ्रीजी तथा फोरजी डेटा, दुई जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० वटा अन नेट एसएमएस सेवा समेत दिन थालिएको छ ।

कोभिड–१९ को कारणले उब्जिएको विषम परिस्थितिमा आफूले मुलुकभर पुनः पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल तथा भूमिका निर्वाह गरिरहेको टेलिकमले जनाएको छ ।

कम्पनीका ग्राहकवर्ग तथा अनलाइन अध्ययनका लागि पहल गरी प्रतिवद्ध रहेका शैक्षिक संस्था तथा विद्यार्थीवर्गप्रति उसले आभार प्रकट गरेको छ ।

जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्ना सेवा सुविधाहरु सदा झैं जिम्मेवारीपूर्वक उपलब्ध गराइरहने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ । टेलिकमले गत वैशाख १४ गतेदेखि नै अनलाइन कक्षालाई लक्षित गर्दै ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ ।

यो प्याकेजको प्रयोग गरी हाल मुलुकभरका ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरुले अनलाइन कक्षामार्फत नियमित अध्ययन तथा अध्यापनका क्रियाकलाप गरिरहेका छन् ।

जसअनुसार विभिन्न प्रकारका एप्लिकेसनहरु प्रयोग गरी विद्यार्थी र शिक्षकले पाँच सय रुपैयाँमा ई–शिक्षा प्याकेजको रुपमा १८ जीबी डेटा प्राप्त गर्न सक्छन् ।

के थियो प्याब्सनको परिपत्रमा ?

प्याब्सनले बिहीबार आफ्ना सल्लाहकार, पदाधिकारी र सदस्य तथा समितिहरुलाई सम्बोधन गर्दै एउटा परिपत्र जारी गरेको थियो । जसमा सहकार्यका लागि टेलिकमलाई प्राथमिकता दिइएको तर कम्पनीको उदासिनता र ढिलासुस्तीका कारण सम्भव हुन नसकेको उल्लेख छ ।

एनसेलको प्रसंसा गर्न टेलिकमको आलोचना गरिएको उक्त परिपत्र प्याब्सनले अहिले आफ्नो वेबसाइटबाट हटाइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०