close

एप बिनै अनलाइन तालिम र कक्षा सञ्चालन गर्न सकिने नेपाली प्रविधि

युजु खालिङ युजु खालिङ

साउन १९, २०७७ १४:२८

एप बिनै अनलाइन तालिम र कक्षा सञ्चालन गर्न सकिने नेपाली प्रविधि

काठमाडौं । २८ वर्षीय गौरवमानसिंह बस्न्यात रुची र स्वभावले आफूलाई ह्युम्यानिटेरियन टेक्नोलोजिस्ट (मानवतावादी प्रविधिज्ञ) भन्न रुचाउँछन् । बीएससी सीएसआईटीमा स्नातक पुरा गरेपछि उनी एउटा आईएनजीओमा काम गर्न थाले । 

प्रविधिको प्रयोग गरेर समाजका समस्याहरुलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने भूमिकामा रहेर उनी अहिले पनि त्यहाँ जागिर गरिरहेका छन् । जसमा विभिन्न मुलुक पुगेर अनेक किसिमका विपद्‌मा परेका मानिसहरुको जीवनशैलीमा सुधार गर्ने स्टार्टअप स्थापनाको परियोजनामा उनले महत्वपूर्ण भूमिका खेलिसकेका छन् । 

विश्वभर लकडाउनको तयारी भइरहँदा यस्तै परियोजनाको शिलशिलामा उनी सेनेगलमा थिए । लकडाउन हुने खबर फैलन थालेपछि उनी बाँकी काम स्थगित गरी नेपाल फर्किए । गौरवले स्नातक त उत्तीर्ण गरेका थिए । तर कामको भागदौडमा हराउँदा स्नातकोत्तर तहको पढाई भने पुरा गर्न पाएका थिएनन् ।

उच्च तहको पढाई पुरा गर्ने उनको उत्कट चाहना भने पुरानै हो । तर यसमा काम र व्यस्तता सधैं बाधक बनेर उभियो । त्यसो त अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुबाट अनलाइन कोर्षका लागि अफर नआएका पनि होइनन् । तर ती कोर्षहरु निकै महंगा थिए ।

नेपालमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली भएकाले उपस्थिति अनिवार्य थियो । जसले उनको उच्च शिक्षाको चाहना अधुरै रह्यो । अरु बेला व्यस्त रहने उनलाई लकडाउनले भने राम्रै फुर्सदिलो बनाइदियो ।

त्यही फुर्सदमा उनले समाज र प्रविधिको परिदृश्यमा देखा परिरहेको परिवर्तनलाई खुबैसँग नियाल्ने मौका पाए । मानिसहरु मज्जाले अनलाइन कक्षा लिइरहेका थिए । इन्टरनेटको अवरोधले पार्ने समस्या बाहेक यसले भूगोलको आधारमा देखिने शैक्षिक विभेदलाई समेत हटाइरहेको थियो ।

मानिसहरु आआफ्नो स्थानबाट एउटा ग्याजेट्सको भरमा आवश्यक शिक्षा लिइरहेका थिए । तर त्यसका लागि विभिन्न किसिमका भिडियो कन्फ्रेन्सिङ एप डाउनलोड गर्नुपर्ने र त्यसका लागि पैसा तिर्नुपर्ने विषय गौरवलाई समस्या जस्तो महसुस भइरहेको थियो । 

‘लकडाउनमा विभिन्न किसिमका अनलाइन कोर्ष पनि आईरहेका थिए । मैले लिन पनि खोजें । तर त्यसका लागि विभिन्न सफ्टवेयर डाउनलोड गर्नुपर्ने झञ्जट थियो,’ गौरवले सुनाए, ‘मैले आफ्नो लागि मात्र होइन, अरुको स्थानमा रहेर पनि सोचिरहेको थिएँ ।

सबैसँग राम्रो फोन र ल्यापटप नहोला । तर एउटा ब्राउजर चाहिँ हुन्छ । यसैले मलाई कुनै छुट्टै सफ्टवेयर डाउनलोड नगरी पढ्न मिल्ने एउटा प्लेटफर्म बनाउनुपर्छ भन्ने लाग्यो । जसले फेसबुक चलाउन सक्छ, उसले पनि यहाँ कोर्ष क्रियट गर्न र पढ्न पाओस् भन्ने मेरो चाहना थियो ।’ 

मानवतावादी स्वभावका कारण समाजले खेपिरहेको विद्यमान एउटा समस्यालाई हल गर्न उनले प्रविधिको प्रयोग गर्ने सोच बनाए । आफू जस्तै समस्याबाट गुज्रिरहेकाहरुका लागि वान स्टप समाधानको खोजी गर्न उनी लागि परे । यसैबीच उनको दिमागमा सजिलो युजर इन्टरफेस र अनुभवयुक्त ‘सिकेबलको सोच पलायो । 

गौरवको शब्दमा, सिकेबल पुतलीसडकको डिजिटल भर्सन हो । ‘पुतलीसडक विभिन्न शैक्षिक संस्था, ट्युसन सेन्टर, आईईएलटीएस टोफेल र सीप प्रशिक्षण केन्द्रहरुको थलो हो । हामीले विकास गरेको सिकेबल त्यही पुतलीसडकको डिजिटल भर्सन हो ।

विभिन्न किसिमका शैक्षिक संस्था, सीप भएका व्यक्ति र प्रशिक्षण केन्द्रहरुले समेत हाम्रो साइटमा आएर आफैंले कोर्ष होस्ट गरेर पठन पाठन गराउन सक्छन्,’ बस्न्यात भन्छन् । 

गौरवको टिमले गत जुन २० मा लकडाउनकै बीच ई-लर्निङको अनलाइन प्लेटफर्म (मार्केट प्लेस) सिकेबललाई बजारमा ल्यायो । एक महिना पुरा गरेको सिकेबलमा हाल सात सयभन्दा धेरै विद्यार्थी र ६३ जना प्रशिक्षक, र इन्स्टिच्यटहरु छन् । अहिले सिकेबलमा करिब ३२ वटा सःशूल्क र १५ वटा ईभेन्ट सञ्चालन भइरहेका छन् । 

‘सिकेबल ई-लर्निङको अनलाइन मार्केटप्लेस हो । शिक्षक, क्षमता भएको व्यक्तिहरुले आफै कोर्ष क्रियट गरेर पढाउन सक्नुहुन्छ । पकौडा बनाउन जान्ने व्यक्तिले पनि यहाँ आएर सीप सिकाउन सक्छन् ।

सीप भएको व्यक्तिले सानोभन्दा सानो सीपको कोर्ष बनाएर भिडियो कन्फ्रेन्सिङको माध्यमबाट पढाउन सक्छन् । व्यक्तिले मात्र होइन, इन्स्टिच्युट आफैंले समेत पढाउन सक्छन्,’ गौरवले टेकपानासँग भने, ‘क्षमता भएका पढाउन सक्ने समूहहरु कोलाबोरेटर हुन् । उनीहरुले आएर आफ्नो सीप र कामको मार्केटिङ गर्नुका साथै यसलाई आम्दानीको वैकल्पिक स्रोत समेत बनाउन सक्छन् ।’

यो एउटा वान स्टप सोलुसन हो । न त यसमा घरभाडा लाग्छ, न त कुनै लजिस्टिक नै । यहाँ पढाइ हुने सामग्रीमा सिकेबलको वौद्धिक अधिकार पनि रहँदैन । ‘जसले पढाउँछ, उसैको अधिकार सुरिक्षत हुन्छ,’ गौरव भन्छन् । 

सिक्ने, पढ्ने समूह लर्नरको रुपमा रहन्छन् । उनीहरुका लागि निःशूल्कदेखि पाँचसय हुँदै नौ हजारसम्मका कोर्षहरु सिकेबलमा फेला पार्न सकिन्छ । कुनै कोर्ष तीन दिनका मात्रै पनि छन्, कुनै भने महिनौंसम्मका हुन्छन् । 

कोलाबोरेटरहरु आफैंले कोर्षको समयावधि निर्धारण गर्न सक्छन् । वेबसाइटमा गएर कोलाबोरेटरले कोर्ष र इभेन्ट क्रियट गर्न सक्छन् । यदि कोर्षहरु निःशूल्क छन् भने कोलाबोरेटरले सिकेबललाई कुनै शूल्क तिर्नु पर्दैन ।

तर, सःशूल्क कोर्ष हो भने २० प्रतिशत सेवा शूल्क कोलाबोरेटरको रुपमा छुट्याउनुपर्ने हुन्छ । लर्नरहरुले खल्ती डिजिटल वालेटबाट कोर्षको शूल्क बुझाउन सक्छन् । सिकेबलको छुट्टै एप छैन । यो प्लेटफर्म मोबाइलमैत्री वेब ब्राउजर एप हो ।

तर भविष्यमा प्रयोगकर्ताहरुबाट माग हुँदै गए छुट्टै मोबाइल एप समेत विकास गर्न सकिने गौरव बताउँछन् । सिकेबलमा पढ्न र पढाउन कुनै छुट्टै भिडियो कन्फ्रेन्सिङ प्लेटफर्मको प्रयोग पनि गर्नु पर्दैन ।

यसका लागि सिकेबलको आफ्नै भिडियो कन्फ्रेन्सिङ सिस्टम वेबसाइटमै एकीकृत गरिएको छ । वास्तवमा यो नै सिकेबलको मौलिक विशेषता हो । यसको भिडियो कन्फ्रेन्समा सहभागी हुन कुनै समयको सीमा समेत छैन ।

ई-लर्निङको अनलाइन मार्केटप्लेसमा सिकेबल पहिलो र एकमात्र कम्पनी भएको गौरव दाबी गर्छन् । ‘विभिन्न संस्थाहरु अहिलेसम्म आफ्नै इन्स्टिच्युटलाई बूस्ट गर्न अनलाइनमा जाने गरेका छन् । तर हामी सबै अटाउन सक्ने मार्केटप्लेस हौं । जहाँबाट अरु अनलाइनका माध्यममा बूस्ट गर्दा हुने खर्च समेत जोगाउन सकिन्छ ।

आकार, प्रयोगकर्ताहरुको साइनअप र अहिलेसम्मको जारी प्रक्रियाको आधारमा हामी नै पहिलो र एक्लो यस्तो मार्केट प्लेस हौं,’ गौरब भन्छन् । सिकेबलले विशेषगरी यो प्लेटफर्म १८ देखि ३० वर्षको उमेर समूहलाई लक्षित गरी ल्याएको हो । ब्रिज कोर्ष, आईईएलटीएस, टोफेल र प्राविधिक कोर्षहरुमा सिकेबलले विशेष ध्यान दिइरहेको छ ।

उनी भन्छन्, ‘प्राविधिक कोर्षका लागि अन्तराष्ट्रिय प्लेटफर्महरु पनि छन् । तर ती सबै अंग्रेजीमा छन् र अन्तरक्रियात्मक पनि हुँदैनन् । यसैकारण हाम्रो सिकेबल धेरैका लागि लाभदायी हुन सक्छ,’ गौरवले भने । 

तस्वीरः हरिजंग थापा/टेकपाना

भिडियो कन्फ्रेन्सिङले धेरै सर्भर खाने हुँदा हाल सिकेबलले सर्भरमा भारी खर्च गरेर एकैपटकमा पाँचवटासम्म ईभेन्ट होस्ट गर्न सकिने बनाएको छ । गौरवले आईएनजीओको जागिरको शिलशिलामा विभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छन् । त्यही जागिरकै कमाई जोगाएर सिकेबल सुरु गरेका हुन् । 

अहिले पनि उनले प्लेटफर्ममा बुट्सट्रयाप (आफ्नै खल्तीको लगानी) गरिरहेका छन् । एक महिनामा चार सयभन्दा धेरै लर्नर र ४९ जना कोलाबोरेटर आवद्ध भए । होस्ट भएका कूल कोर्षको संख्या २७ र  इभेन्टको संख्या १४ छ । त्यसबाट गौरव निकै उत्साहित बनेका छन् । नेपालमा काम गर्न गाह्रो छ, तर सम्भावना भने राम्रो भएको उनको बुझाई छ ।

कोलाबोरेटरले सःशूल्क कोर्षका लागि २० प्रतिशत मात्र सेवा शूल्कमा अनलाइन मार्केटप्लेसमा यो नै राम्रो विकल्प भएको गौरवको दाबी छ । यसबाट कोलाबोरेटर आफैंले आफ्नो कोर्ष र साइटको मार्केटिङ गर्ने हुँदा क्राउडसोर्सिङ मार्केटिङ अवधारणामा जाने कम्पनीको योजना छ ।

सकेसम्म निःशूल्करुपमा अन्यथा सहज र सुपथ मूल्यमा अनलाइन शिक्षा प्रदान गर्ने प्लेटफर्म नै आफ्नो उद्देश्य भएको गौरवको भनाई छ । हाल खल्तीसँगको सहकार्यमा सिकेबलले आफ्ना सबै २१ वटा सःशूल्क कोर्षका लागि कोलाबोरेटरबाट २० प्रतिशत सेवा शूल्क लिएकोमा लर्नरहरुलाई १५ प्रतिशत क्यासब्याक उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

आफ्नो मानवतावादी स्वभाव अनुसार सुरुमा गौरवले सबै कोर्ष निःशूल्क रुपमा उपलब्ध गराउने सोच बनाएका थिए । तर स्टार्टअपलाई त्यो अवधारणाबाट जोगाउन र निरन्तरता दिन असम्भव देखिएपछि उनले मध्यमार्गी विकल्प रोजेका छन् । आगामी दिन सिकेबलबाटै समाजका लागि केही योगदान पुर्‍याउने उनले सपना छ ।

भविष्यमा कोर्षहरु समेत निःशूल्क रुपमा उपलब्ध गराउने उनको उद्देश्य छ । साथै कलेजहरुसँग समन्वय गरेर आगामी दिनमा डिप्लोमा, ब्याचलर तथा मास्टर्सका कक्षा पनि यही प्लेटफर्मबाट उपलब्ध गराउने सिकेबलको योजना छ । 

यसबाहेक हाल उपलब्ध विभिन्न कोर्षहरुमा छात्रवृत्ति प्रदान गर्न कोलाबरेटरहरुसँग छलफल पनि भइरहेको गौरवले सुनाए । ‘काम गर्दै जाँदा दीर्घकालमा यसले धेरै समाधान दिने रहेछ भन्ने कुरा थाहा पाएँ,’ उनी भन्छन्, ‘गाउँघरमा इन्टरनेटको पहुँच विस्तार हुँदैछ, तर मानिसहरु त्यहाँबाट पढ्न सहरसम्म आइरहेका छन् ।

यस्ता प्लेटफर्म भएपछि उनीहरु यता आउन पर्दैन । यस हिसाबले हेर्दा हामीले स्थानीय स्तरमा प्रविधिको पहुँच पुर्‍याउने कार्यमा योगदान गर्न सक्ने रहेछौं भन्ने लागेको छ । म ह्युमानिटेरियन टेक्नोलोजिस्ट भएको कारण यस्तो क्षेत्रमा सधैं तानिदै आइरहेको छु । समाजको लागि सकेसम्म धेरै योगदान गर्न पाए हुन्थ्यो भन्ने मेरो सोच छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०