close

अब अनलाइनबाटै कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

टेकपाना टेकपाना

साउन १९, २०७७ १८:२

अब अनलाइनबाटै कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने सम्पूर्ण कर्जाको भुक्तानी अब अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । कोषले कनेक्ट आईपीएसको माध्यमबाट कर्जा भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो । 

यसरी भुक्तानी गरिएको कर्जा सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआईसी एसिया बैंकमा रहेको कोषको तोकिएको खातामा जम्मा हुनेछ ।

ऋणीले सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाहरु कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्नसक्ने छन् । 

कनेक्ट आईपिएसको प्रणालीमा आबद्ध ५५ वटै बैंक तथा वित्तीय संस्थाहरुको खाताबाट ऋणीले अनलाइनमार्फत कर्जा भुक्तानी भुक्तानी गर्न सक्नेछन् । यससँगै अबदेखि ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय तथा बैंक काउन्टरसम्म पुग्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एक वर्ष अघि नेसनल पेमेन्ट इन्टरफेस एनपीआईको प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो । 

सोही सम्झौता अनुरुप गत वर्ष साउनदेखि नै कोषले प्रदान गर्ने धितो कर्जा लगायतका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ ।

जसअनुसार २०७७ असार मसान्तसम्म एनपीआईमार्फत ५ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यसका लागि ३२ हजार भन्दा बढी पटक कारोबार भएको कनेक्ट आईपीएसले जनाएको छ ।

कसरी भुक्तानी गर्ने ?

यसका निम्ति ऋणीले कनेक्ट आईपीएसको ई-पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराउनुपर्ने हुन्छ । त्यसपछिर बैंकमा रहेको खातालाई कनेक्ट आईपीएसमा लिङ्क तथा प्रमाणित गराई सजिलै भुक्तानी गर्न सकिनेछ । 

ऋणीले यहाँ क्लिक गरी कर्मचारी सञ्चय कोषको भुक्तानीलाई छनौट गरी मागिएको आवश्यक विवरण भरेर सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

 ऋणीले भुक्तानी गर्नुपर्ने कर्जा छनौट गरी मोबाइल तथा यूसीआईएन नम्बर तथा ऋणीको नाम लगायतका आवश्यक विवरण भरी रकम दाखिला गर्न सक्नेछन् । रकम भुक्तानी भएसँगै स्वतः कोषको प्रणालीमा भुक्तानी सफल भएको जानकारी पुग्ने कनेक्ट आईपीएसले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०