close

टिकटक भिडियो बनाउनेलाई पैसा दिन २४० अर्बको कोष

टेकपाना टेकपाना

साउन १९, २०७७ १८:४१

टिकटक भिडियो बनाउनेलाई पैसा दिन २४० अर्बको कोष

काठमाडौं । इन्स्टाग्रामले टिकट भिडियो बनाउनेलाई शिकार बनाइरहेको खबर आउन थालेपछि टिकटकले आगामी तीन वर्षभित्र अमेरिकामा आफ्नो क्रियटर फण्डलाई एक अर्ब डलरभन्दा धेरै (करीब एक खर्ब २० अर्ब रुपैयाँ) बढाउने बताएको छ । यसअघि टिकटकले सो अवधिमा आफ्नो फण्डलाई २० करोड डलरसम्म पुर्‍याउने घोषणा गरेको थियो । 

विश्वभर रहेका टिकटक भिडियो क्रियटरहरुलाई भुक्तानी गर्न चीनको बाइटड्यान्स कम्पनीले क्रियटर कोषलाई कूल दुई अर्ब डलर (करीब २ खर्ब ४० अर्ब रुपैयाँ) को नजिक पुर्‍याउने घोषणा गरेको हो । 

गत बुधबार टिकटकका महानिर्देशक भानिसा पप्पासले आफ्नो ब्लग पोस्टमा लेखेकी छिन्, ‘क्रियटर फण्डमा हामीले अतुलनीय प्रतिक्रिया पाएका छौं र यो फण्डलाई आगामी तीन वर्षभित्र अमेरिकामा मात्रै एक अर्बभन्दा धेरै र विश्वभर त्यसको दुई गुणा बढाउने गरी हामीले उत्साहजनक निर्णय लिएका छौं ।’

आफ्नो नवीन सामग्रीबाट जीवनयापनलाई सबल बनाउन अवसर खोजिरहेका महत्वकांक्षी क्रियटरहरुका लागि टिकटकले यसअघि उक्त कोषबाट सहायता प्रदान गर्ने घोषणा गरेको थियो । 

यसबाहेक टिकटकले आफ्नो दोस्रो वार्षिकोत्सव मनाउन छुट्टै कोष समेत सार्वजनिक गरेको छ । कम्पनीले सो कोष अमेरिका तथा चुनिन्दा युरोपेली क्षेत्रहरुमा रहेका क्रियटरहरुलाई प्रदान गर्नेछ ।

कम्पनीे पहिलो वर्ष  सात करोड डलरको फण्ड वितरण गर्ने र आगामी तीन वर्षभित्र कूल ३० करोड डलरको फण्ड बाँड्ने घोषणा गरेको छ । तर यो कोष विश्वभरका लागि टिकटकले ल्याउने दुई अर्ब डलर फण्डकै हिस्सा हो वा बेग्लै हो भन्ने विषयमा हालसम्म स्पष्ट भइसकेको छैन । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३