close

नेपाल लक्षित गरेर आईपीओ जारी गरिएको होइनः सगून

टेकपाना टेकपाना

साउन २०, २०७७ १७:४२

नेपाल लक्षित गरेर आईपीओ जारी गरिएको होइनः सगून

काठमाडौं । अमेरिकास्थित सगून इनकर्पोरेसनले नेपालमा बस्ने नेपालीहरुका लागि लक्षित गरेर हालसम्म धितोपत्रको सार्वजनिक निष्कासन नगरेको जनाएको छ । नेपाल धितोपत्र बार्डले हालै सगूनलाई नेपालमा आईपीओ जारी गर्न अनुमति नरहेको भन्दै सूचना जारी गरेको थियो ।

बोर्डले जारी गरेको उक्त सार्वजनिक सूचनाको खण्डन गर्दै कम्पनीका नेपाल स्थित प्रतिनिधिले सोमबार बोर्डमा पत्र बुझाएका हुन् । उक्त खण्डनमा बोर्डले नै यो विषयमा तथ्यहीन भ्रम फैलाउन खोजेको आरोप लगाइएको छ ।

‘सगूनले अमेरिकाको डेल्वेयर राज्यमा कानून बमोजिम दर्ता भएको र अमेरिकाको धितोपत्र तथा विनिमय आयोगबाट शेयर सम्बन्धी कारोबार गर्न अनुमति प्राप्त गरेको छ,’ कम्पनीले बोर्डमा बुझाएको पत्रमा लेखिएको छ, ‘सोही अनुरुप नेपाल, इरान र उत्तर कोरिया बाहेकका राष्ट्रहरुमा सर्वसाधारणका लागि धितोपत्र सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।

नेपालबाहेक विश्वभर रहेका गैरआवासीय (प्रवासी) नेपाली र विश्वका अन्य देशका नागरिकले सगूनमा आफ्नो वार्षिक आम्दानीको १० प्रतिशत पूँजीको रुपमा शेयर लगानी गर्न पाउँछन् ।’

कम्पनीले हालसम्म नेपालमा बस्ने नेपालीहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्कासन नगरेको दाबी समेत गरेको छ । ‘तथ्य नकेलाई धितोपत्र बोर्ड जस्तो मर्यादित संस्थाले सूचना सार्वजनिक गरी लगानीकर्ताको मनोबल गिराउने खालको काम गरेको छ,’ पत्रमा उल्लेख गरिएको छ ।

धितोपत्र बोर्डले संस्थाको नाम उल्लेख गरी सूचना प्रकाशित गर्नुअघि आफूहरुसँग कुनै जानकारी तथा सुनुवाईको मौका समेत नदिइएको गुनासो गरेको छ । सगून कानून बमोजिम स्थापना भएको कानूनी संस्था भएकाले यसले कानून विपरीत कुनै कार्य हालसम्म नगरेको र नेपालमा कम्पनीको धितोपत्र निष्कासन गर्ने कुनै योजना समेत नरहेको पत्रमा उल्लेख गरिएको छ ।

‘यदि त्यसो गर्नुपरेको खण्डमा नेपालमा प्रचलित कानूनको पूर्णपालना गरेरै अगाडिब बढ्छौं,’ पत्रमा भनिएको छ । कम्पनीले जारी गरिएको सूचना सच्याउनका लागि समेत बोर्डलाई आग्रह गरिएको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३