close

अब सिस्टर रोबोटले गर्नेछ बुटवलको आइसोलेसनका कोरोना बिरामीको स्वास्थ्य निरीक्षण

टेकपाना टेकपाना

साउन २०, २०७७ १४:५२

अब सिस्टर रोबोटले गर्नेछ बुटवलको आइसोलेसनका कोरोना बिरामीको स्वास्थ्य निरीक्षण

काठमाडौं । रोबोटिक्स एसोसिएसन नेपालले बुटवल धागो कारखानालाई सिस्टर रोबोट हस्तान्तरण गर्ने भएको छ । एसोसिएसनले प्रदेश नम्बर पाँचका मूख्य मन्त्री शंकर पोखरेलमार्फत मंगलबार साँझ ५ बजे उक्त रोबोट कारखानालाई हस्तान्तरण गर्ने भएको हो ।

 र्‍यानका अध्यक्ष विकास गुरुङका अनुसार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी नेपाल) र व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र रिकास्टको आर्थिक सहयोगमा उक्त रोबोट विकास गरिएको थियो ।

रोबोट निर्माणका लागि यूएनडीपी नेपालले यूएनडीपी एक्सिलेरेटर ल्याबमार्फत दुईवटा रोबोट बनाउन ‘सिस्टर रोबोट’लाई आर्थिक सहयोग उपलब्ध गराएको थियो । यस्तै रिकास्टले पाँच वटा रोबोट बनाउन ४३० हजार रुपैयाँ सहायता दिएको थियो ।

बुटवल धागो कारखाना स्थित आइसोलेसनमा राखिएको कोरोना संक्रमितहरुलाई खाना तथा औषधी पुर्‍याउन र स्वस्थ्य अवस्था निरीक्षण गर्न उक्त रोबोट हस्तान्तरण गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए । 

सिस्टर रोबोटले विकास गरेका रोबोट यस अघि टेकू अस्पताल, हेटौंडा प्रादेशिक अस्पताल र एपीएफ अस्पताललाई हस्तान्तरण गरिसकिएको छ ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान), कान्तिबिर, ओज्टेक तथा रोबोनट्सले गत चैत ३० गते खाना तथा औषधी बोक्ने सिस्टर रोबोटको शिक्षण अस्पताल, महाराजगञ्जमा सफलतापुर्वक परीक्षण सम्पन्न गरेको थियो ।

सिस्टर रोबोटलाई ३०० देखि ५०० मिटरसम्मको दुरीबाट ट्रान्समिटरको सहायताले आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा प्रयोग गर्न सकिन्छ । यो रोबोटमा जडित क्यामेराले कोरोनाका बिरामीको स्वास्थ्य्य अवस्था निरीक्षण गर्न

सकिने र कोभिड १९ सङ्क्रमित बिरामीहरूले रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट आफ्नो हात सफा गर्न सक्छन् । साथै बिरामीले त्यसमा राखिएको ट्याब्लेटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुराकानी समेत गर्न सक्नेछन् ।

फोहोर व्यवस्थापनका निम्ती रोबोटमा डस्टबिन समेत राखिएको छ । र्‍यानले कोभिड १९ नियन्त्रणका लागि विभिन्न नवीन प्रविधि अन्वेषणका लागि पहल गर्दै आइरहेको छ ।

ड्रोन र्‍यापिड रेस्पोन्स टिम कोभिड १९ नेपाल फ्रेमवर्क, नेपाल इनोभेसन म्यापर र १९ वटा स्वाब कलेक्सन बुथ निर्माण गरिसकेको एसोसिएसनले कोभिड सम्बन्धी प्रचार भइरहेका भ्रामक तथा वास्तविक समाचारलाई पहिचान गर्ने अभियानमा पहलकदमी लिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३