close

एनसेल अबदेखि पब्लिक कम्पनी, छिट्टै सेयर जारी गर्ने, नाम पनि फेरियो

टेकपाना टेकपाना

साउन २१, २०७७ ८:१

एनसेल अबदेखि पब्लिक कम्पनी, छिट्टै सेयर जारी गर्ने, नाम पनि फेरियो

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेल पब्लिक कम्पनीमा परिणत भएको छ । एनसेलले कम्पनी रजिष्ट्रार कार्यालयबाट यहीं सोमबार पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति पाएको हो । यससँगै एनसेल प्रालिको रुपमा सेवा तथा कारोबार गर्दै यो कम्पनीले अबदेखि एनसेल आजियाटा लिमिटेडको रुपमा सेवा प्रवाह गर्नेछ ।

पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि एनसेल अब सर्वसाधारणलाई सेयर जारी गर्ने प्रक्रियामा अगाडि बढेको छ । लाभकर विवादका कारण अल्झिएको सेयर जारी गर्ने प्रक्रिया अब भने नजिक पुगेको हो ।

कम्पनी ऐन २०६३ को पछिल्लो संसोधित व्यवस्था अनुसार आगामी बैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने व्यवस्था अनुसार एनसेलले आफ्नो संरचना परिवर्तन गरेको हो । पब्लिक कम्पनीमा रुपान्तरण हुन कम्पनीले २०७५ साालको बैशाखमै आवेदन दिएको थियो ।

पछिल्लो पटक २०७४ सालमा भएको संसोधित व्यवस्था अनुसार पाँच करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनीमध्ये ‘हाल दर्ता भएका प्राइभेट कम्पनीहरुले दुई बर्षभित्र यस दफा(१२) बमोजिम पब्लिक कम्पनीमा परिणत भइसक्नुपर्नेछ’ उल्लेख छ ।

२०७४ बैशाख १९ गते प्रमाणिकरण भएको उक्त संसोधन विधेयकका अनुसार चुक्ता पूँजी पुगेका त्यस्ता कम्पनीहरुले पब्लिक कम्पनीमा परिणत हुनु परेको हो । एनसेलको चुक्ता पूँजी १० करोड रुपियाँ छ ।

मेरो मोबाइलको नाममा आफ्नो सेवा विक्रि गर्दै आएको स्पाइस नेपालले सन् २०१० मा स्विडेनको दूरसञ्चार कम्पनी टेलियासोनेरालाई विक्रि गरेपछि त्यसयता एनसेलको रुपमा सेवा सञ्चालन हुँदै आएको छ ।

मुख्य लगानीकर्ता टेलियासोनेराले २०७२ पुस ६ गते एनसेलमा रहेको आफ्नो ६०.४ प्रतिशत सेयर १ अर्ब ३ करोड अमेरिकी डलरमा मलेसियाली कम्पनी आजियाटालाई विक्रि गर्ने निर्णय सार्वजनिक गरेको थियो । सो निर्णय पछि त्यतिबेला एनसेलमा स्थानीय साझेदारका रुपमा रहेका निरज श्रेष्ठको २० प्रतिशत सेयर पनि एजियटाले छनोट गरेको स्थानिय साझेदार भावना सिंह श्रेष्ठलाई विक्रि गरिएको थियो ।

भाइजर क्यापिटलको नाममा बाँकी रहेको १९.६ प्रतिशत सेयर पनि एजियाटाई नै पछि विक्रि गरिएको थियो । यस अनुसार एनसेलको ८० प्रतिशत सेयर हाल एजियटा र बाँकी २० प्रतिशत सेयर स्थानीय साझेदार श्रेष्ठसँग रहेको छ । एजियटाले २०७३ बैशाखमा एनसेलको सेयर खरिदविक्रि सम्बन्धि सम्पूर्ण काम पुरा गरेर कम्पनी आफ्नो मातहत ल्याएको थियो ।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीको रुपमा रहेको एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो । प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार एनसेलका हाल १ करोड ६० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् । पछिल्ला बर्ष एनसेलले बार्षिक आम्दानी औषतमा ५५ अर्ब रुपैयाँ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३