close

सिभिल मलका सामान ग्यापुमा, अनलाइन अर्डरकै भरमा होम डेलिभरी

टेकपाना टेकपाना

साउन २२, २०७७ १३:४५

सिभिल मलका सामान ग्यापुमा, अनलाइन अर्डरकै भरमा होम डेलिभरी

काठमाडौं । ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (ग्यापु डटकम) र सिभिल मलबीच सहकार्य सुरु भएको छ । यससँगै काठमाडौंको सिभिल मलमा रहेका सबै पसलका सामान ग्राहकले आफ्नो घरमै बसेर अडर गर्न सक्ने भएका छन् ।

सामान अर्ड गर्दा थप कुनै पनि शूल्क नलाग्ने बताइएको छ । लकडाउनको समयमा सेवा सुरु गरेको ग्यापुले छोटो समयमै आक्रामक रुपमा व्यापार विस्तार गरिरहेको छ ।

यही क्रममा कम्पनीले सिभिल मलसँग सम्झौता गरेको हो । सम्झौताअनुसार ग्यापु दुई वर्षसम्म सिभिल मलको एक मात्र अनलाइन साझेदार कम्पनी रहने छ ।

यससँगै ग्यापु डटकमको वेबसाइटमा सिभिल मल एउटा भेन्डरको रुपमा देखिन थालेको छ । सिभिल मलका १५० वटा पसलमा चार लाख भन्दा बढी सामान उपलब्ध छन् । ग्राहकले ग्यापुको वेबसाईट तथा मोबाइल एप प्रयोग गरी सिभिल मलमा रहेका सामान अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।

सिभिल मलमा ग्यापुको सेल्स सपोर्ट टिमको छुट्टै अफिस नै रहनेछ । जसले समयमै सामान डेलिभरी, फिर्ता र साटफेरका लागि ग्राहकलाई सहजीकरण गर्ने बताइएको छ ।

यसका लागि सिभिल मलले ग्यापुलाई आवश्यक ठाउँ उपलब्ध गराउने छ । अनलाइनमा अर्डर आउनासाथ भौगोलिक दूरी हेरी केही घण्टादेखि चौबीस घण्टाभित्र डेलिभरी गरिने ग्यापु डटकमका निर्देशक एवम् सीईओ ज्ञानेन्द्र खड्काले बताए ।

काठमाडौं उपत्यकासँगै काभ्रेपलाञ्चोकको बनेपासम्म डेलिभरी सेवा उपलब्ध हुनेछ । ग्राहकले डेलिभरी अघि ई–सेवाबाट सामानको भुक्तानि गरी क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्ड, आईएमई पे, फोने पे, कनेक्ट आईपीएस, प्रभु पेमार्फत सामानको भुक्तानी गर्न सक्नेछन् । यसैगरी डेलिभरीको समयमा नगदै भुक्तानी गर्न सकिने विकल्प समेत ग्यापुले दिएको छ ।

ग्यापु डटकमका तर्फबाट संस्थापक एवम् सीईओ खड्का र सिभिल मलका तर्फबाट सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हाल काठमाडौं उपत्यकाभित्र सेवा उपलब्ध गराइरहेको ग्यापुले कोरोना भाइरसको महामारी अन्त्य भएलगत्तै देशका मुख्य सहरहरुमा समेत विस्तार गर्ने योजना बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३