close

किन हटाइरहेका छन्, फेसबुक र ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पका पोष्ट

टेकपाना टेकपाना

साउन २२, २०७७ १९:४५

किन हटाइरहेका छन्, फेसबुक र ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पका पोष्ट

काठमाडौं । पछिल्लो समय अमेरिकी राष्ट्रपती डोनल्ड ट्रम्पका पोष्टमाथि सामाजिक सञ्जाल फेसबुक र ट्वीटर आक्रामक बन्न थालेका छन् । एकपछि अर्को गर्दै ट्रम्पले गरेका पोष्टमाथि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरको हमला अहिले सबैभन्दा चर्चाको विषय बन्न थालेको छ ।

यसको सुरुवात भने केही समय अघिबाटै भएको हो । पहिलो पटक ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्टमा फ्याक्ट चेकिङ लेबल लगाएसँगै यसको सुरुवात भएको थियो । ट्वीटरले भ्रामक जानकारी नियन्त्रण गर्नका लागि ट्वीटर पोस्टमा वार्निङ लेबल राख्ने नीति अनुसार ट्रम्पको पोष्टमा उक्त लेबल लगाएको थियो ।

आफ्नो पोस्टमा त्यस प्रकारको लेबल लागेपछि ट्रम्पले ट्वीटरले अभिव्यक्ति स्वत्नत्रतालाई दबाएको आरोप लगाएका थिए । उनले त्यसको प्रतिशोध स्वरुप ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियन्त्रर्ण गर्ने खालको आदेश नै जारी गरे ।

यतिबेलासम्म फेसबुक र ट्वीटरबीच नै अन्तरविरोध देखिएको थियो । तर, फेसबुकका कर्मचारीले नै ट्रम्पको भ्रामक सूचनालाई प्राथामिकता दिएको भन्दै आफ्नै कम्पनीको बिरोध गर्न थाले । विज्ञापनदाताले विरोध स्वरुप विज्ञापन कटौती गर्दा फेसबुकले अर्बौं डलर नोक्सान व्यहोर्नुपर्‍यो ।

तर अन्ततः फेसबुक पनि गलत सूचनाको विषयमा कडा रुपमा प्रस्तुत हुन थालेको हो । त्यसपछिका दिनमा फेसबुक र ट्वीटरले ट्रम्पले राखेको भिडियोले गलत सन्देश प्रवाह गरिरहेको भन्दै पोस्ट नै हटाइदिए । त्यस्तै घटना अहिले फेरी दोहोरिएको छ ।

फेसबुक र ट्वीटरले हालैमात्र कोरोनाभाइरस सम्बन्धी गलत सूचना सहितको अमेरिकी राष्ट्रपति ट्रम्पको पोष्ट हटाइदिएका हुन् । फेसबुक र ट्वीटरले डोनल्ड ट्रम्प र उनको अभियानलाई दण्डित गर्दै उनका भनाइहरु हटाएका छन् ।

ट्रम्पले फक्स न्युजलाई दिएको अन्तरवार्ताको एक क्लिपलाई फेसबुक पोस्टमा राखेका थिए । जसमा ट्रम्पले बच्चाहरुमा कोरोनाभाइरसको लागि ‘लगभग रोग प्रतिरोधक शक्ति’ भएको दाबी गरेका छन् ।

सोही पोष्टलाई फेसबुकले हटाइदिएको हो । फेसबुकले उक्त पोष्टमा ‘कोभिडका लागि हानिकारक सूचना’ उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३