close

अब एपबाटै जारको शुद्ध खाने पानी अर्डर गर्न सकिने

टेकपाना टेकपाना

साउन २२, २०७७ १८:४३

अब एपबाटै जारको शुद्ध खाने पानी अर्डर गर्न सकिने

काठमाडौं । तपाईंले पिउने पानी कत्तिको शुद्ध छ ? अनि त्यसमा पीएच तथा  टीडीएसको मात्रा कति छ ? पानीमा हुनुपर्ने मिनरल्स के कति छ, त्यो थाहा छ त ?

छैन भने पनि अब चिन्ता नगर्नुहोस् । नेपालमै पहिलो पटक विभिन्न कम्पनीले प्रशोधन तथा शुद्धिकरण गरेका पानीको गुणस्तर जाँच गर्ने, गुणस्तरीय पानीलाई मोबाइल एपबाट खरिद गर्न मिल्ने र खरिद गरिएको पानीलाई डेलिभरी गर्ने गरी मोबाइल एप नै तयार भएको छ ।

मोबाइल एप सरोभरमार्फत कुन कम्पनीको पानीको गुणस्तर के छ भनेर बुझ्न तथा  प्रशोधन एवम् शुद्धिकरण गर्ने कम्पनी रोजेर जारको पानी अर्डर गर्न सकिनेछ । कम्पनीले पहिलो चरणमा सीमित क्षेत्रका सेवाग्राहीहरुलाई सेवा दिने योजना बनाएको सरोभरका गुणस्तर विभाग प्रमुख सूर्य बानियाँले जानकारी दिए । 

उनका अनुसार अहिले सिनामंगल, पिंगलास्थान, गौशाला, पुरानो बानेश्वर, भिमसेनगोला क्षेत्रका सेवाग्राहीहरुले सरोभर एपमार्फत पानी खरिद गर्न सक्छन् । ती क्षेत्रभन्दा बाहिर रहेका सेवाग्राहीहरुका लागि पानी खरिद गर्न मिल्ने सुविधा भने हाललाई मोबाइल एपमा छैन । 

सरोभरका सूचना प्रविधि विभागका प्रमुख राम कार्कीले ती क्षेत्रभन्दा बाहिर रहेका सेवाग्राहीहरुको स्क्रीनमा एउटा फर्म उपलब्ध हुने बताए । उनले भने, ‘सेवाग्राहीहरुले त्यहाँ फर्म भरेर डिमाण्ड गरेकै आधारमा सेवा विस्तार गर्दै लैजाने  योजना बनाएका छौं ।’

विभिन्न कम्पनीले प्रशोधन तथा शुद्धिकरण गरेको पानीको गुणस्तर प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार भए/नभएको जाँच गरिन्छ । जाँचको नतिजा उपभोक्ताको जानकारीको लागि सार्वजनिक गर्ने, पानी प्रशोधन तथा शुद्धिकरण गर्ने स्थलको सरसफाई के कस्तो छ भनेर नियमित निरीक्षण गर्ने काम पनि कम्पनीले गर्छ ।

‘यसरी मापदण्ड पुरा गरेका पानीलाई मोबाइल एप्लिकेसनको माध्यमबाट खरीद गर्न मिल्ने व्यवस्था मिलाइएको छ । शुद्ध पानीलाई उपभोक्ताको घर तथा कार्यस्थलमा लगेर वितरण गर्ने उद्देश्यले सरोभरको स्थापना भएको हो” कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरज ढुंगेलले भने । 

जारको पानीमा प्रशोधन तथा शुद्धिकरण पश्चात पनि विभिन्न समस्या देखा पर्न सक्छ । ढुवानी तथा भण्डारणमा विशेष सावधानी अपनाइएन भने अनावश्यक संक्रमण हुन सक्छ । 

अनावश्यक संक्रमण  हुन नदिन घामको किरणमा पानी धेरै बेरसम्म रहन नदिने, ढुवानी गर्दा सरसफाईमा ध्यान दिनुपर्ने, भण्डारण स्थलको नियमित सरसफाई गर्नुपर्ने, डेलिभरी गर्ने कामदारहरु मास्क, पञ्जा र हेयर कभर लगाउनुपर्ने लगायतका पक्षहरुमा ध्यान दिनुपर्ने ढुंगेलको सुझाव  छ ।

‘हामी यी सबै मापदण्ड पुरा गरेर जारको पानी घर तथा कार्यस्थलमा पुर्‍याउने विश्वाश दिलाउन चाहन्छौं’, उनले भने ।

सरोबरको एप डाउनलोड गर्न एण्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३