close

कति होला टिकटक एपको मूल्य ?

टेकपाना टेकपाना

साउन २३, २०७७ १५:६

कति होला टिकटक एपको मूल्य ?

काठमाडौं । टिकटकको मूल्य कति होला ? यसको तीव्र वृद्धि र ठूलो संख्यामा रहेका प्रयोगकर्तालाई हेरेर धेरैले यो एपको मूल्य ५० अर्ब डलर नजिकसम्म आंकलन गरिएको छ ।

छोटो भिडियो शेयरिङ यो एप खरिद गर्न चाहने माइक्रोसफ्ट वा जोकसैले १० देखि ३० अर्बसम्म रकम जुटाउनुपर्ने अधिकारीहरुको ठम्याई छ । 

टिकटकको तुलनामा इन्स्टाग्रामको मूल्य करिब सय अर्ब डलरको वरिपरी पर्ने आंकलन गरिएको छ । विश्वभर टिकटकका करिब ९० करोड सक्रिय प्रयोगकर्ता छन् । जसमा अधिकांश भारत र चीनका नागरिक हुन् । 

तर जब माइक्रोसफ्टले टिकटकको स्वामित्व खरिद गर्नेछ, त्यतिखेर उसले टिकटकको चिनियाँ भर्सन डोइनका ४० करोड चिनियाँ प्रयोगकर्ता पाउन सक्ने छैन । यसबाहेक करिब २० करोड  प्रयोगकर्ता रहेको भारतमा यो एप अहिले प्रतिबन्धित अवस्थामा छ ।

त्यसबाहेक बाँकी ३० करोड छाड्ने हो भने १० करोड अमेरिकी जनताहरु यसमा रहेका छन् ।टिकटकको स्वामित्व माइक्रोसफ्टको हातमा पुग्दा भारतमा यसमाथिको प्रतिबन्ध फुकुवा हुनसक्ने सम्भावना प्रबल छ ।

यस्तो भएमा माइक्रोसफ्टको टिकटकमा ५० करोड प्रयोगकर्ता संख्या पुग्नेछन् । यद्यपी यो पुरानो ९० करोड प्रयोगकर्ता भएको जस्तो आकर्षक र मूल्यवान भने हुने छैन । 

तर यदि टिकटकले भारतको बजारमा कमब्याक गर्न सकेन वा सकेको खण्डमा पनि पहिलेको जस्तो प्रयोगको अवस्थामा देखिएन भने ३० करोड प्रयोगकर्ताको टिकटकको बजार मूल्यमा हालको भन्दा व्यापक फरक पर्नेछ । 

टिकटकको स्वामित्व हत्याउन चाहने टेक जायन्टहरुको मनमा अहिले उठिरहेका केही प्रश्न मध्ये यो एउटा गम्भिर प्रश्न हो । सेप्टेम्बरसम्म टिकटकसँग आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकाबाट पूर्णरुपमा प्रतिबन्धित हुने भन्ने दुई विकल्पहरु छन् । यिनै कारण एप्पल यसअघि नै टिकटक खरिद गर्ने ट्रयाकबाट पछि हटिसकेको छ । 

बाँकी कुरा रह्यो फेसबुक, अमेजन र गूगलको । तीनै कम्पनीले आफ्नो बजारको वर्चस्वलाई दुरुपयोग गरेको भन्दै एन्टीट्रस्ट सम्बन्धी छानबीनको सामना गरिरहेको स्थितिमा यी कम्पनीहरुले अर्को जोखिम अवश्य पनि मोल्न चाहाने छैनन् । 

महत्वपूर्ण खेलाडी भएको नाताले माइक्रोसफ्टका लागि थोरै ठाउँ बाँकी छ । माइक्रोसफ्ट एक्लो इच्छुक खरिदकर्ता भए पनि यसलाई पूर्णता दिन उसले विविध विषयमा विचार गर्नेछ । 

यो सम्झौता साकार पार्नु अघि माइक्रोसफ्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको वक्तव्यमाथि पनि विचार गर्नेछ ।  ट्रम्पले अमेरिकी कम्पनीलाई टिकटकको स्वामित्व खरिद गर्न अनुमति दिदैँ गर्दा अमेरिकाको भकारीमा ठूलो धनराशी जानुपर्ने शर्त राखेका छन् ।

यदि टिकटक हत्याउन यो शर्त अनिवार्य हो भने खरिदबिक्रीमा यसले कस्तो भूमिका खेल्ला भन्ने प्रश्न पनि छ । इच्छुक कम्पनीले यो एपलाई छुट्याएर ल्याउदा आवश्यक पर्ने श्रम शक्तिको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ ।

एक वर्षभित्रमा ठूलो डेटा आफ्नो सिस्टममा ल्याउने पर्याप्त ब्याण्डविथ एकदमै कम अमेरिकी कम्पनीहरुसँग मात्र छ । माइक्रोसफ्टले टिकटकको स्वामित्व खरिद गर्दैगर्दा उसको सफ्टवेयर कोडलाई पनि आफ्नो सिस्टममा ल्याउनु पर्ने हुन्छ ।

जसमा एक करोड ५० लाख आर्टिफिसियल इन्टेलिजेन्सको लाइन छ । उसले बाइटड्यान्सबाट छुट्याएर त्यो कोडलाई आफ्नो सिस्टममा ल्याउनु पर्ने हुन्छ । तर यो सम्झौतालाई सम्पन्न गर्नु अघि चिनियाँ सरकारसँग उठ्ने सम्भावित मतभेदलाई पनि ती ठूला प्रविधि खेलाडी कम्पनीले विचार गर्नुपर्नेछ ।

निक्केई एसियन रिभ्यूमा लेखिएको छ, ‘नियमन अवरोधबीच चिनियाँ स्ट्रिमिङ एपको स्वामित्व अमेरिकालाई बेच्ने योजनालाई लिएर चीनमा आक्रोश उत्पन्न हुनसक्छ र यो सम्झौता सम्पन्न भएको खण्डमा चीनले पनि बदलाको धम्की दिनसक्छ । इन्टरनेट प्रयोगकर्ताले पनि एपको मालिकलाई गद्दार भन्दै भर्त्सना गर्नेछन् ।’

माइक्रोसफ्टले चीनबाट आफ्नो आयको ठूलो हिस्सा प्राप्त गर्दै आइरहेको छ । यस्तो अवस्थामा टिकटकको खरिद बिक्रीको गतिविधले उसको आफ्नै व्यवसायलाई त धरापमा पार्ने होइन भन्ने प्रश्न पनि उठेका छन् । 

यसअघि नै चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले अमेरिका र चीनबीच जारी व्यापार युद्धका कारण आगामी तीन वर्षभित्रमा चीनका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुबाट विदेशी कम्प्युटर उपकरण तथा सफ्टवेयरहरु हटाइसक्न निर्देशन दिइसकेको छ । 

उसोभए के टिकटक खरिदबिक्रोको सम्झौतामा नहोमिनु नै कम्पनीका लागि फाइदाको विषय होला त ? यी तमाम प्रश्नहरुको बावजूत ३० करोड प्रयोगकर्ता संख्यामा सीमित यो एपमा फेसबुकको समेत नजर परिसकेको छ । यो एपको मूल्य भने वास्तवमै अर्बौं डलरको छ । 

यो सम्झौता सम्पन्न हुने र टिकटक फेरी निरन्तर चल्ने कुरामा एकदमै कम सम्भावना देखिन्छ । यद्पी यो खेलका विभिन्न कारक तत्वहरुले यसको वास्तविक मूल्यबारे पनि महत्वपूर्ण प्रश्न उठाइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३