close

१८ सय ब्याण्डमा टेलिकमलाई ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय

टेकपाना टेकपाना

साउन २३, २०७७ १७:५१

१८ सय ब्याण्डमा टेलिकमलाई ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई १८ सय मेगाहर्ज ब्याण्डमा पाँच मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय भएको छ । शुक्रबार बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले एनसेललाई दिइएकै मूल्यमा टेलिकमलाई फोरजी सेवाको फ्रिक्वेन्सी दिने निर्णय गरेको हो ।

यस अघि टेलिकमले बोलकबोल पूर्वको मूल्यमै उक्त उपलब्ध गराइदिन भन्दै समितिमा आवेदन दिएको थियो । सोही विषयमा छलफल गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा अध्यक्ष रहेको समितिले बोलकबोलबाट तय भएको नयाँ मूल्यमा फ्रिक्वेन्सी दिने निर्णय लिएको हो ।

एनसेलले गत फागुनमा भएको बोलकबोलमार्फत प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको थियो । अब टेलिकमले फ्रिक्वेन्सी लिन चाहे सोही अनुरुपको मूल्य तिर्नुपर्ने समिति स्रोतले टेकपानालाई बताएको छ । फ्रिक्वेन्सी अभावमा टेलिकमले फोरजी सेवामा अपेक्षित गुणस्तर कायम गर्न सकेको छैन ।

दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति २०६९ अनुसार प्रति वर्ष प्रति मेगाहर्ज (अनपेयर्ड) एक करोड ८० लाख रुपैयाँमा फ्रिक्वेन्सी उपलब्ध गराइँदै आएको थियो ।

कूल ७५ मेगाहर्ज फ्रिक्वेन्सी रहेको १८ ब्याण्डमा हाल वितरण हुन बाँकी फ्रिक्वेन्सी सात मेगाहर्ज मात्र छ । टेलिकमले पाँच मेगाहर्ज फ्रिक्वेन्सी लिएको खण्डमा दुई मेगाहर्ज मात्र बाँकी रहनेछ ।

१८ ब्याण्डको फ्रिक्वेन्सी कुन सेवाप्रदायकसँग कति ?

सेवाप्रदायकफ्रिक्वेन्सी
नेपाल टेलिकम१५ मेगाहर्ज
एनसेल२० मेगाहर्ज
यूटीएल१२ मेगाहर्ज
स्याटेलाइट टेलिकम९ मेगाहर्ज
स्मार्ट टेलिकम१२ मेगाहर्ज
श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३