close

नेपालकै ‘पहिलो’ प्रिन्टिङ ईकमर्स बन्दै प्रिन्टनेप, अब प्रिन्टिङको सबै काम अनलाइनमा

युजु खालिङ युजु खालिङ

साउन २४, २०७७ १६:१७

नेपालकै ‘पहिलो’ प्रिन्टिङ ईकमर्स बन्दै प्रिन्टनेप, अब प्रिन्टिङको सबै काम अनलाइनमा

काठमाडौं । अहिलेको महामारीको समयमा जत्तिको प्रविधिको महत्व सायद यस अघि कहिल्यै स्थापित भएको थियो । प्रविधिले व्यवसायलाई बूस्ट मात्र गर्दैन, यसले सेवा आदान प्रदानमा व्यवसायी र सेवाग्राहीबीच सहजीकरण समेत गरिदिन्छ ।

साथै व्यापार तथा आयका नयाँ आयाम पहिल्याउन समेत ठूलो भूमिका खेल्छ । आजको युवा पुस्ताले यो कुरा बुझेको छ । यसैकारण कतिले त पारिवारिक व्यवसायलाई त्यागेर प्रविधिमा आधारित व्यवसाय अपनाउन थालेका छन् । केहीले भने पारिवारिक व्यवसायलाई नै प्रविधिमा ढालेका छन् । 

पछिल्लो शैली अपनाउनेमा पर्छन्, शैलेन्द्र पाण्डे । १७ वर्ष पुरानो डीजी फ्लेक्स शैलेन्द्रको पारिवारिक प्रिन्टिङ व्यवसाय हो । उनी चाँडै अब डीजी फ्लेक्सलाई ईकमर्स अनलाइन प्रिन्टिङ सिस्टममा परिणत गर्न तम्तयार अवस्थामा छन् । 

अब जोकसैले जुनसुकै ठाउँबाट शैलेन्द्रको नयाँ प्लेटफर्म प्रिन्टनेपको वेबसाइटमा गएर आफूलाई मन पर्ने फ्लेक्स तथा प्रिन्टिङ डिजाइन गर्न सक्नेछन् । ‘हामी प्रिन्टिङ प्रडक्सन कम्पनी हौं । हाम्रो प्रिन्टनेपमा विज्ञापन सामग्रीहरु तथा प्रमोसनल आइटम, कप, फ्लेक्स, आउटडोर तथा इनडोर साइनेज बन्छ,’ प्रिन्टनेपका संस्थापक तथा सीईओ पाण्डेले भने । 

अनलाइन प्रिन्टिङ नेपालको ईकमर्समा एकदमै नयाँ अवधारणा भएको शैलेन्द्र बताउँछन् । प्रिन्टनेप नेपाल एक्लो र पहिलो अनलाइन प्रिन्टिङ इकमर्स भएको उनको दाबी छ ।  ‘हामी १७ वर्षदेखि प्रिन्टिङ व्यवसायमा छौं ।

लकडाउनमा सबै क्षेत्र अनलाइनमा गयो । तर यो क्षेत्र भने अहिलेसम्म अनलाइनमा जान सकेको छैन ।  त्यसैले हामीले यो प्रक्रिया थालेर ईकमर्समा जान लागेका हौं ।’

अनलाइन प्रिन्टिङ प्रणालीबाट लामो प्रक्रियालाई छोट्याएर सेवाग्राहीलाई सुविधा दिने आफूहरुको उद्देश्य रहेको शैलेन्द्र बताउँछन् । 

‘पुरानो प्रक्रिया एकदमै झन्झटिलो र लामो थियो । डिजाइन गराउने, एडिट गर्ने, एडिट गरेर प्रुफ हेर्ने, प्रिन्टिङमा दिने, कुर्ने लगायतको प्रक्रिया एकदमै लामो र झन्झटिलो हुन्छ ।’ 

प्रिन्टनेपको वेबसाइटमा रहेका मेन टेम्प्लेट र प्रि डिजाइन टेम्प्लेटबाट सजिलैसँग आफै डिजाइन गर्न सकिन्छ । साथै प्रिन्टनेपले वेबसाइटमा राखेका विभिन्न डिजाइन टेम्प्लेटलाई पनि आफ्नो प्रिन्टिङका लागि प्रयोग गर्न सकिन्छ । 

‘उदाहरणका लागि तपाईंलाई विजनेस कार्ड चाहियो भने वेबसाइटमा गएर एउटा सेक्सनभित्र विजनेस कार्ड छान्न सक्नुहुन्छ, त्यसमा बाइ नाउ भित्र वर्क विथ डिजाइनर सेक्सन हुन्छ, अर्को भनेको रिअर्डर हुन्छ, जसमा वेबसाइटबाट नै अर्डर गरेर लाइभ डिजाइन गराउन सकिन्छ ।

लाइभ डिजाइन चाहिँ भिडियो कन्फ्रेन्सिङ वा जीमेलबाट पनि गर्न सकिन्छ । भिडियो सिस्टम हाम्रो आफ्नै सिस्टममा इन्टिग्रेट गरेर गरेका छौं । 

साथै हामीले डिजाइनहरु राखेका छौं । मन परेको खण्डमा भने तपाईंले टेम्प्लेटमा आफ्नो नाम, विवरण तथा लोगो परिवर्तन गर्न सक्नुहुन्छ । यसरी सबै काम आफ्नो इच्छाअनुसार एकैछिनमा गर्न सकिन्छ ।’ 

अनलाइन प्रिन्टिङ परम्परागत प्रिन्टिङभन्दा महंगो नपर्ने शैलेन्द्र बताउँछन् । ‘हामीले यसका लागि दुई तीन वर्षदेखि वर्कआउट गरिरहेका थियौं । तर अब चाहिँ सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौं’ शैलेन्द्रले टेकपानालाई सुनाए । यसले डिजिटल मार्केटिङलाई पनि सहयोग गर्ने उनी बताउँछन् ।

‘डिजिटल मार्केटिङको लागि हामी छुट्टै सेक्सन प्रदान गर्छौं । फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्नका लागि हामी टेम्प्लेटहरु उपलब्ध गराउँछौं,’ उनले भने, ‘यसबाट मान्छेहरुले आफूलाई मन परेको टेम्प्लेटमा आफूलाई उपयुक्त लागेको फोटो र टेक्स्ट राखेर त्यसलाई डाउनलोड गरी साइटमा पोस्ट गर्ने सक्नेछन् । यसले डिजिटल मार्केटिङको लामो प्रक्रियालाई पनि छोट्याउन मद्दत गर्नेछ ।’

हाल प्रिन्टनेपले पाँचवटा प्रडक्ट मात्र ल्याएको छ । समयअनुसार नेपालको परिवेश सुहाउँदा अन्य प्रडक्ट पनि थप गर्दै जाने कम्पनीको योजना छ । प्रिन्टनेप आउँदो भदौ ४ गते औपचारिक रुपमा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको शैलेन्द्रले बताए ।   

 प्लेटफर्म सार्वजनिक भएपछि ओभरनाइट, स्ट्याण्डर्ड वा एक्सप्रेस गरी डेलिभरीका तीन विकल्प चयन गर्न सकिनेछ । डेलिभरीका लागि प्रिन्टनेपले नेप एक्सप्रेससँग सम्झौता गरिसकेको छ ।

कम्पनीले सीमित मूल्यमा ओभरनाइट, एक्सप्रेस तथा स्ट्याण्डर्ड डेलिभरीको सुविधा उपलब्ध गराउने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३