close

घरभित्र मोबाइल नेटवर्क नटिप्दा हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन २४, २०७७ २१:५५

घरभित्र मोबाइल नेटवर्क नटिप्दा हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । फोनमा कुरा गर्दागर्दै सिग्नल गयो भने हामी हैरान हुन्छौं । कसैसँग एकदमै महत्वपूर्ण कुरा गरिरहेको बेला यस्तो समस्या आइलाग्यो भने झन् धेरै परेशान भइन्छ ।

तपाईंले पनि पक्कै यस किसिमको समस्याको सामना गर्नुपरेको हुनसक्छ । जब तपाईं आफ्ना साथीहरूसँग कुरा गर्नुहुन्छ, अफिसका सिनियरहरूसँग कुनै प्रोजेक्टको बारेमा कुरा गर्नुहुन्छ वा तपाईंको घरपरिवारको हालखबर बुझ्न खोज्नुहुन्छ, यस्तै कुनै बेला अवश्य तपाईंलाई मोबाइल नेटवर्कले तनाव दिएको हुनसक्छ ।

यस किसिमको समस्यालाई समाधान गर्नका लागि हामी केही यस्ता सामान्य टिप्स दिँदै छौं, जसलाई अपनाएर तपाईं आफ्नो घरभित्रै हुँदा कलको गुणस्तर सुधार गर्न केही हदसम्म भए पनि मद्दत गर्नेछ ।

  • कोठाको झ्याल तथा ढोका खुल्ला राख्नुहोस्ः मोबाइलको रेडियो तरंगलाई पर्खालहरु पार गर्न संघर्ष गर्नुपर्छ । त्यसैले यदि तपाईंले कोठाको झ्याल ढोका खुल्ला राख्नुभयो भने कुराकानी गर्दा फोन काटिने समस्या कम गर्न सघाउँछ ।
  • स्पिकर तथा इयरपिस सफा गर्नुहोस् ।
  • फोन कभर हटाउनुहोस् ।
  • फोनको ब्याट्री चार्ज २५ प्रतिशत माथि राख्ने कोसिस गर्नुहोस्ः मोबाइलमा कल गर्दा निकै धेरै ऊर्जा खपत भइरहेको हुन्छ । फोनमा कल सुरुवात गर्न, सिग्नल ट्रान्समिट गर्न र त्यसलाई विश्वसनीय स्तरमा राख्न तपाईंको मोबाइलमा पर्याप्त चार्ज हुन जरुरी छ ।
  • ठाउँ परिवर्तन गर्नुहोस् र ख्याल राख्नुहोस् कहाँनिर राम्रो सिग्नल आउँदछ।
  • इलेक्ट्रोनिक डिभाइसलाई टाढा राख्नुहोस्ः ल्यापटप, आईप्याड र माइक्रोवेभ जस्ता इलेक्ट्रोनिक डिभाइसले तपाईंको मोबाइल फोनको सिग्नललाई अवरोध पुर्‍याउन सक्छन् । त्यसैले फोनको गुणस्तरका लागि संघर्ष गर्दै हुनुहुन्छ भने यस्ता डिभाइसहरुबाट सकेसम्म टाढा रहनुहोस् । यसका साथै मोबाइलमा रहेको वाईफाई र ब्लुटुथलाई समेत अफ गरेर राख्नुहोस् । यसो गर्दा मोबाइल नेटवर्क कनेक्सनलाई निश्चित स्तरमा कायम राख्न सघाउँछ ।
  • सही किसिमले समात्नुहोस्ः आफ्नो फोनलाई राम्रोसँग समात्नुहोस्ः यसो भन्दा तपाईंलाई अनौठो लाग्ला । तर तपाईंले फोनलाई होल्ड अर्थात समाउने तरिकाले समेत तपाईंको फोनको सिग्नललाई अवरोध पुर्‍याइरहेको हुनसक्छ । यही विषयमा विगतमा आईफोनका लागि एप्पलले थुप्रै आलोचना समेत खेप्ने गरेको थियो । फोनलाई हातमा लिँदा फोनको शिरानीतर्फको एन्टेना रहने भागलाई केही खुला छोड्नुहोस्, ता कि सिग्नललाई कुनै किसिमको अवरोध नपुगोस् । यसको विकल्पमा तपाईंले कलको समयमा ह्याण्डस् फ्री हेडसेटको प्रयोग समेत गर्न सक्नुहुन्छ ।
  • मोबाइल फोनको कभरेज स्थानअनुसार फरक पर्न सक्छ । कुनै निश्चित स्थानमा एउटा सेवाप्रदायकको तुलनामा अर्को सेवाप्रदायकको कभरेज राम्रो हुनसक्छ । त्यसैले अनेक उपाय अपनाउँदा समेत नेटवर्कले राम्रोसँग काम गरेन भने अर्को सेवाप्रदायकको सिमकार्ड प्रयोग गरी हेर्नुहोस् । यस्तोमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम मध्ये एउटा विकल्प हुन सक्छ ।

यसरी जाँच गर्नुहोस्, मोबाइल सिग्नलको गुणस्तर

मोबाइलको सेटिङमा अबाउट हुँदै नेटवर्कमा जानुहोस् । त्यसमा तपाईंले फोनको डीबीएम भ्यालु देख्न सक्नुहुनेछ । यसको आधारमा तपाईंले आफू रहेको स्थानमा फोनको नेटवर्क क्वालिटी कस्तो छ भनेर थाहा पाउन सक्नुहुनेछ ।

यदि तपाईंको मोबाइल नेटवर्कको डीबीएम भ्यालु -५० देखि -७९ छ भने त्यो एकदमै राम्रो गुणस्तरको नेटवर्क हो । यस्तो गुणस्तर भएको स्थानमा नेटवर्कको टावर चार वटा देखिनेछ ।

यसैगरी डीबीएम भ्यालु -८० देखि ८९ छ भने राम्रो, -९० देखि -९९ छ भने औषत, -१०० देखि -१०९ छ भने कमजोर र -११० देखि १२० छ भने धेरै कमजोर मानिन्छ । मोबाइल नेटवर्क धेरै कमजोर हुँदा तपाईंको मोबाइलमा टावर नै देखिने छैन, देखिए पनि मुस्किलसँग एउटा मात्र दखिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३