close

क्वालकमको प्रोसेसरमा भेटियो बग, ह्याक हुन सक्छ तपाईंको मोबाइल

टेकपाना टेकपाना

साउन २६, २०७७ ११:३०

क्वालकमको प्रोसेसरमा भेटियो बग, ह्याक हुन सक्छ तपाईंको मोबाइल

काठमाडौं । सामान्यतया कुनै पनि प्रोसेसर वा चिपमा बग (सुरक्षा कमजोरी) फेला परेको रिपोर्ट बाहिर आउँदैन । तर यसपटक भने क्वालकमको चिपमा बग फेला परेका खबरहरु चर्चामा छन् । 

यही बगका कारण दुनियाभरका करिब ४० प्रतिशत एण्ड्रोइड अर्थात तीन अर्बभन्दा बढी स्मार्टफोनमा सुरक्षाको खतरा पैदा भएको छ । सिंगापुरको एक एजेन्सीले यो विषय बाहिर ल्याएको हो ।

सेक्युरिटी एजेन्सी चेक प्वाइन्टले आफ्नो रिपोर्टमा भनेको छ कि स्नाप ड्रागनको प्रोसेसरको डिजिटल सिग्नल प्रोसेसर अर्थात डीएसपीमा एक बग देखिएको छ । यो बग एण्ड्रोइड फोनमा स्पाइवेयर (जासुसी गर्ने सफ्टवेयर) इन्स्टल गर्न सक्षम रहेको बताइएको छ ।

यही बगका कारण गूगल, सामसङ, एलजी, साओमी, र वानप्लसका करोडौं स्मार्ट फोन ह्याकरको निशानामा परेका छन् ।  गूगलको रिपोर्टको रिपोर्ट अनुसार अप्रिल २०१९ सम्म विश्वभर दुई अर्ब एक्टिभ एण्ड्रोइड फोन रहेका थिए । त्यसयता करोडौं नयाँ डिभाइस उत्पादन तथा बिक्री भइसकेका छन् । 

यो बगको फाइदा उठाएर ह्याकरहरुले प्रयोगकर्ताको फोनमा स्पाइवेयर इन्स्टल गर्न सक्छन् । एक पटक फोनमा स्पाइवेयर इन्स्टल भइसकेपछि ह्याकरले कल, कन्ट्याक्ट लिस्ट, फोटो, लोकेसन र माइक्रोफोनमा पहुँच प्राप्त गर्न सक्छ ।

क्वालकम समक्ष यो बगको जानकारी पुगिसकेको छ बताइएको छ । कम्पनीले सम्बन्धित टिमलाई फिक्स (समाधान) गर्ने काम सुम्पिसकेको छ । क्वालकमले यो बगको विषयमा साओमी, एलजी, गूगल र सामसङ जस्ता आफ्ना भेण्डरहरुलाई समेत जानकारी दिइसकेको छ । 

अपडेटमार्फत यो बग अपडेट गरिनेछ । तर उक्त अपडेट आउने बारेमा भने स्पष्ट जानकारी आइसकेको छैन । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३