close

अरुको नजरबाट जोगाउन स्मार्टफोनमा यसरी तयार पार्नुहोस् सेफ फोल्डर

टेकपाना टेकपाना

साउन २७, २०७७ १२:२९

अरुको नजरबाट जोगाउन स्मार्टफोनमा यसरी तयार पार्नुहोस् सेफ फोल्डर

काठमाडौं । यदि तपाईंसँग स्मार्टफोन छ भने घरमा आफ्ना बालबालिकाबाट त्यसलाई अलग राख्न सक्नुहुन्न । बालबालिकाले स्मार्टफोनका लागि जिद्दी गरिनै रहन्छन् । 

तर यस्तोमा तपाईंको फोनमा भएको कुनै महत्वपूर्ण डेटा डिलिट हुन पनि सक्छ । यसका लागि तपाईं स्मार्टफोनमा कुनै यस्तो सुरक्षित स्थान होस् भन्ने चाहनुहुन्छ, जहाँ महत्वपूर्ण डेटा सुरक्षित रुपमा राख्न सकियोस् ।

यसका लागि तपाईं गूगल फाइल्स एपको सहयोग लिन सक्नुहुन्छ । गूगल फाइल्स एपले प्रारम्भिक रुपमा एण्ड्रोइड प्रयोगकर्तालाई सहजै फाइल व्यवस्थित गर्ने र फोनमा स्पेस खाली गर्ने समाधान दिँदै आएको थियो । 

यो एपले फाइल्स एपभित्र सेफ फोल्डर फिचर थप गरेको छ । यो फोल्डरमा आफ्नो संवेदनशील डेटा, भिडियो, प्रिजेन्टेसन आदि चिजहरु राखेर तपाईं अरुको नजरबाट जोगाउन सक्नुहुन्छ । सेफ फोल्डरमा तपाईंले चार अंकको पिन नम्बर राख्नुपर्ने हुन्छ ।

यो एक इन्क्रिप्डेड फोल्डर हो, जसले तपाईंको व्यक्तिगत डेटा सुरक्षित रुपमा राख्न सक्छ । गूगलका अनुसार तपाईं गूगल फाइल्स एप्लिकेसनबाट बाहिर निस्किने वित्तिकै यसभित्रको फोल्डर सुरक्षित रुपमा स्वतः लक हुन्छ । यस्तो अवस्थामा कसैले पनि यसमा उपलब्ध तपाईंका कुनै पनि डेटामा पहुँच बनाउन सक्दैन ।

यसमा राखिएका फाइलहरुमा एक्सेस बनाउन गूगल फाइल्स एपको यही फोल्डरमा जानुपर्ने हुन्छ । एण्ड्रोइड पुलिसले चेतावनी दिँदै भनेको छ गूगल फाइल्समा फाइल ट्रान्सफर गर्नुको अर्थ ती फाइल तथा फोल्डर ब्राउजर तथा ग्यालरी एपमा देखिने छैन ।

त्यसैले आफ्नो डेटा सधैंका लागि गुम्न नदिन फाइल एपलाई डिलिट वा अनइन्स्टल गर्ने काम नगर्नुहोस् र यसको एप डेटा क्लियर पनि नगर्नुहोस् । पिन नम्बर बिर्सिँदा समेत तपाईंले यो जोखिम उठाउनुपर्ने हुनसक्छ ।

गत वर्ष माइक्रोसफ्टले समेत यस्तै किसिमको फिचर पिन प्रोटेक्सन सहित आफ्नो वन ड्राइभमा समेत समावेश गरेको थियो । जसमा तपाईं फिंगरप्रिन्ट, फेसियल अथेन्टिकेसन जस्ता बायोमेट्रिक सक्युरिटी तथा टू फ्याक्टर अथेन्टिकेसन कोड समेत प्रयोग गर्न सक्नुहुन्छ ।

माइक्रोसफ्टको यो टूलले क्लाउडमा समेत सुरक्षा दिन्छ । तर गूगलको फाइल्सभित्रको सेफ फोल्डरले डिभाइसमा मात्रै काम गर्ने एक्सडीए डेभलपर्सले जनाएको छ ।  

हाललाई यो फिचर बेटा भर्सन प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । जसमा हाल विश्वभर १५ करोड प्रयोगकर्ता रहेका छन् । कम्पनीले चाँडै सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने बताएको छ ।  

कसरी गर्ने प्रयोग ? 

यो फिचर गूगल फाइल्स एपको बेटा भर्सन १.०.३२३ मा उपलब्ध छ । यसलाई तपाईं गूगल प्ले स्टोरको बेटा प्रोग्रामबाट प्राप्त गर्न सक्नुहुन्छ । यो एप इन्स्टल गरिसकेपछि तपाईंलाई केही चरणहरु पुरा गर्नुपर्ने हुन्छ । 

  • सबैभन्दा पहिले गूगल फाइल्स एपलाई खोल्नुहोस् । अब तलतर्फ रहेको मेनु बारमा ट्याप गर्नुहोस्, जसबाट तपाईंका सिंक भएका फोल्डरहरुमा एक्सेस पाउन सक्नुहुनेछ । यो पेजमा तपाईं कलेक्सनको सेक्सन देख्न सक्नुहुनेछ । यसभित्र तपाईंले सेफ फोल्डरको अप्सन पाउनुहुनेछ । 
  • अब सेफ फोल्डरमा क्लिक गर्नुहोस् र चार अङ्कको पिन नम्बर सेट गर्नुहोस् । यति गरिसकेपछि सेफ फोल्डर तयार हुनेछ र तपाईं आफ्ना महत्वपूर्ण फाइल तथा फोल्डरहरु यहाँ ट्रान्सफर गर्न सक्नुहुन्छ । 

सेफ फोल्डरमा यसरी सार्नुहोस् फाइल 

  • यसका लागि तपाईंलाई फाइल्स एप खोल्नुपर्ने हुन्छ । त्यसपछि ब्राउजर सेक्सनको सहयोगमा कुनै पनि फोल्डरमा प्रवेश गर्न सक्नुहुनेछ । 
  • अब आफूले सेफ फोल्डरमा राख्न चाहेको फाइलहरु छनौट गर्नुहोस् । 
  • छनौट गरिएका फाइलमा केही समयसम्म दबाएर राख्नुपर्ने हुन्छ । त्यसपछि सेलेक्सन मूडको अप्सन देखिनेछ । 
  • यति गरिसकेपछि माथि दायाँ कुनामा रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् । यसमा क्लिक गरेपछि तपाईं मुभ टू सेफ फोल्डरको विकल्प प्राप्त गर्नुहुनेछ । 

यसरी तपाईं आफ्ना संवेदनशील फाइलहरुलाई पिनमार्फत सुरक्षित गरिएको फोल्डरमा राख्न सक्नुहुनेछ । 

गूगल प्लेको बेटा प्रोग्राम बाहेक यहाँ क्लिक गरी एपीके मिररबाट समेत टेस्टिङ चरणमा रहेको एप डाउनलोड गरी प्रयोग गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३