close

नियामकमा होइन, सामाजिक सञ्जालमा आउँछ मोबाइल र इन्टरनेट सेवाको गुनासो

टेकपाना टेकपाना

साउन २७, २०७७ १६:४३

नियामकमा होइन, सामाजिक सञ्जालमा आउँछ मोबाइल र इन्टरनेट सेवाको गुनासो

काठमाडौं । ठूला इन्टरनेट तथा मोबाइल सेवा प्रदायकको सेवा तथा सुविधामा थोरै प्रयोगकर्ताले मात्रै नियामक समक्ष गुनासो गर्ने गरेको पाइएको छ । नियामक नेपालद दूरसञ्चार प्राधिकरणमा गत आर्थिक वर्षभरमा जम्मा ९९ वटा गुनासो मात्रै दर्ता भएका छन् ।

तर दर्ता भएका गुनासो विश्लेषण गर्दा ठूला सेवाप्रदायककै नाममा बढी देखिएको छ । प्राधिकरणका अनुसार गत वर्ष नेपाल टेलिकमको सेवालाई लिएर सबैभन्दा बढी गुनासो दर्ता भएका छन् ।

दर्ता भएका कूल गुनासोमा ४१ प्रतिशतभन्दा बढी (४१ वटा गुनासो) नेपाल टेलिकम विरुद्ध छन् । जसमा धेरैजसो नेटवर्कमा समस्या देखिएको, जानकारी बिनै पैसा काटेको र मर्मत लगायतको काम समयमै नभएका गुनासा छन् ।

तर, यो गुनासो ग्राहक संख्याको अनुपातमा नियामकमा दर्ता भएका गुनासो संख्या नगन्य नै हो । नेपाल टेलिकमको जीएसएम, सीडीएमए, पीएसटीएन, डब्लूएलएल, भिस्याटमा गरेर कूल एक करोड ९७ लाख ४१ हजार १०४ प्रयोगकर्ता रहेका छन् ।

त्यस्तै इन्टरनेटतर्फ एक करोड ७ लाख ५३ हजार २३२ प्रयोगकर्ता छन् । एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन, वाईम्याक्स समेत गर्दा कम्पनीका कूल ग्राहकको संख्या दुई करोड नौ लाख ३१ हजार भन्दा बढी हुन्छ ।

यो हिसाबले हर्ने हो भने कूल ग्राहक मध्ये कम्पनीको सेवामा नियामक समक्ष गुनासो गर्ने ग्राहकको संख्या ०.०००१९ प्रतिशत मात्र हुन आउँछ ।

त्यस्तै अवस्था अन्य कम्पनीको हकम पनि देखिन्छ । एनसेलको नाममा २४ वटा गुनासो दर्ता भएका छन् । जसमा नेटवर्क समस्या, जानकारी नै नदिई पैसा काट्ने गरेको गुनासा धेरै छन् । प्राधिकरणको तथ्याङ्कका आधारमा हेर्न हो भने एनसका प्रयोगकर्ता हाल एक करोड ५९ लाख १६ हजार ३५४ छन् । कूल ग्राहकका आधारमा एनसेलको सेवामा गुनो गर्नेको संख्या जम्मा ०.०००१५ प्रतिशत हुन आउँछ ।

इन्टरनेट सेवा प्रदायकम मध्ये सबैभन्दा बढी गुनासो वर्डलिंक कम्युनिकेसन लिमिटेडको नाममा दर्ता भएका छन् । कूल ३ लाख ६८ हजार ७८७ ग्राहक रहेको वर्ल्डलिंकको नाममा जम्मा १५ वटा गुनासो आएका छन् । कूल प्रयोगकर्ताको हिसाबले हेर्ने हो भने यो संख्या ०.००४० प्रतिशत मात्रै हो ।

वर्ल्डलिङ्क विरुद्ध आएका गुनासोमा बढीजसो इन्टरनेट स्पीड सुस्त भएको, भनेजति ब्याण्डविथ नदिएको, इन्टरनेटमा समस्या आएको, इन्टरनेट काटिने लगायतका छन् । यस्तै किसिमका गुनासो भायनेट कम्यनुनिकेसन प्रालि र क्लासिक टेक प्रालिको नाममा पनि परेका छन् । उनीहरुको नाममा क्रमशः ६ र ५ ओटा गुनोसो दर्ता भएको उल्लेख गरिएको छ ।

त्यस्तै सुबिसु केबल नेट प्रालिको नाममा चार वटा गुनासो दर्ता भएका छन् । सुबिसु विरुद्ध पनि अन्य प्रतिस्पर्धी कम्पनीकै जस्तो समस्या बताइएको छ ।

यसबाहेक सञ्चालनमै नरहेको टेलिकम सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को नाममा पनि गत वर्ष एउटा गुनासो दर्ता भएको छ । कम्पनीको नाममा घरमा राखिएको टावरको बिजुलीको पैसा भुक्तानी नभएको, टावर नहटाएको, घरभाडाको रकम अहिलेसम्म नतिरेको गुनासो छ ।

त्यस्तै पोखरा इन्टरनेट प्राली, स्काई केबल इन्टरनेट प्रालि, म्याक्स नेट सोलुसन प्रालिको नाममा पनि एक–एक वटा गुनोसो आएका छन् । इन्टरनेट र टेलिफोनलाई छुट्टाछुट्टै प्रयोगकर्ता मानेर हेर्न हो भने नेपालमा कूल प्रयोगकर्ता (सब्सक्राइबर) पाँच करोड ९६ लाख भन्दा बढी रहेका छन् ।

एकजना व्यक्ति दुई वा दुई भन्दा बढी सेवाप्रदायकको उपभोक्ता हुने भएकाले नेपालमा सब्सक्राइबर संख्या नेपालको जनसंख्याभन्दा बढी देखिएको हो । यति धेरै प्रयोगकर्ता भएको ठाउँमा ९९ वटा गुनासो आउनुलाई कसरी लिने ? के ग्राहक सन्तुष्ट भएकै कारण गुनासो कम आएको हो त ?

यदि त्यस्तो हुन्थ्यो भने हरेक दिन सामाजिक सञ्जालमा इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकको नाममा गुनासो आउने थिएन होला । सामाजिक सञ्जालमा टेलिफोनको नेटवर्कले काम नगरेको, इन्टरनेट नचलेको, इन्टरनेट कम्पनीलाई सम्पर्क गर्दा केही समय चल्ने त्यसपछी फेरी उस्तै हुने भन्ने खालका गुनासो हरेक दिन आउने गरेका छन् ।

सामाजिक सञ्जालमा व्यक्त गर्नेले किन सम्बन्धित नियमनकारी निकायमा गुनासो दर्ता गराएनन् त ? यसमा गुनासो दर्ता गराउनु पर्छ भन्ने जनचेतनाको कमी भएको हुन सक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको अनुमान छ ।

‘यदि सेवा सम्बन्धी गुनासो छ भने सुरुमा सेवा प्रदायकलाई भन्ने र सेवा प्रदायकलाई भन्दा पनि समाधान नभएको खण्डमा प्राधिकरणमा उजुरी दर्ता गराउनु पर्छ भन्ने किसिमको जनचेतना अझै पर्याप्त मात्रामा थाहा नभएको हुनसक्छ,’ अर्याल भन्छन्, ‘अर्कोतर्फ गुनासो दर्ता गर्ने प्रक्रियाको विषमा जानकारी नहुँदा पनि यस्तो भएको हुनसक्छ ।’

हुन त गुनासो टिपाउँदा समाधान हुन्छ भन्ने कुरामा विश्वस्त हुन नसकेका कारणले गर्दा पनि प्रयोगकर्ताहरुले नियामक समक्ष गुनासो नटिपाएका हुनसक्छ । तर प्राधिकरणमा दर्ता भएका गुनासोहरु नियामकले सम्बन्धित सेवाप्रदायकमा पठाउँछ र तत्काल सम्बोधन गर्न निर्देशन दिन्छ ।

निर्देशन प्राप्त भएपछि सेवाप्रदायकले समाधान गरी त्यसका जानकारी समेत नियामकलाई गराउनुपर्ने कानूनी व्यवस्था छ । हालसम्म दर्ता भएका धेरैजसो गुनासो समाधान भइसकेको नियामकको रेकर्ड छ ।

अर्यालका अनुसार प्रयोगकर्ताले प्राधिकरणमा अनलाइन तथा ईमेलमार्फत पनि गुनासो दर्ता गराउने सकिने सुविधा छ । फोनबाट टिपाउन सकिने अर्को विकल्प छ । त्यतिमात्रै नभएर कार्यालमा उपस्थित भएरै पनि गुनासो दर्ता गराउन सकिन्छ ।

यति धेरै विकल्प हुँदा पनि थोरै मात्र गुनासो आउनुलाई सेवाको गुणस्तर राम्रो रहेको अर्थमा बुझ्नुपर्ने नियामकको ठम्याई छ । त्यसो त प्राधिकरणले गुनासो दर्ता प्रक्रियामा असहज भएकै कारण गुनासो कम आएको हुनसक्ने आँकलन समेत गरेको छ ।

त्यसैले दर्ता सिस्टमलाई परिमार्जन गरी सहज बनाउने योजना नियामकले तयार पारेको छ । त्यसपछि भने गुनासो दर्ताको अनुपात वृद्धि हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।

गुनासो टिपाउने कसरी ?

नियामकमा ०१४२५५४७४ नम्बरमा फोन गरेर तथा ०१४२५५२५० मा फ्याक्स गरेर इन्टरनेट तथा मोबाइल सेवाको विषयमा गुनासो टिपाउन सक्नुहुनेछ । साथै यहाँ क्लिक गरी प्राधिकरणमा ईमेलमार्फत गुनासो पठाउन समेत सकिन्छ भने यहाँ क्लिक गरेर अनलाइनबाटै गुनासो दर्ता गराउन सकिने व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३