close

सुशान्त राजपूतको असर, धेरै डिसलाइक पाउने ‘टप टेन’ भिडियोमा आलिया भट्ट अभिनित फिल्मको ट्रेलर

टेकपाना टेकपाना

साउन २९, २०७७ ८:३३

सुशान्त राजपूतको असर, धेरै डिसलाइक पाउने ‘टप टेन’ भिडियोमा आलिया भट्ट अभिनित फिल्मको ट्रेलर

काठमाडौं । आखिर सुशान्तसिंह राजपुतमा र संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, आदित्य कपूर जस्ता स्टार रहेको तथा महेश भट्टद्धारा निर्देशित फिल्म ‘सडक २’ बीच के कनेक्सन छ ? सायद तपाईं सोचमग्न हुनु भयो होला ।

साँचो अर्थमा यो फिल्मसँग त्यस्तो कुनै कनेक्सन नभए पनि एक दिन अघि मात्र युट्युवमा रिलिज भएको ‘सडक २’ को ट्रेलरमाथि सुशान्तसँग जोडिएका मानिसहरुको भावना आक्रोशको रुपमा पोखिएको छ ।

त्यसो त १२ अगस्टमा रिलिज भएदेखिनै ‘सडक २’ युट्युव ट्रेन्डिङमा छ । नेपालको युट्युव ट्रेन्डिङ नम्बर वानमा पनि यही ट्रेलर चलिरहेको छ । यसमा एक दिनको अवधिमै १५ मिलियन यानिकि एक करोड ५३ लाखभन्दा बढी भ्यूज छ ।

तर ‘सडक २’ को ट्रेलरमा यही अवधिमा ४६ लाखभन्दा बढी डिसलाइक मिलेको छ । ‘सडक २’ को ट्रेलरमा लाइक र डिसलाइकबीच आकाश जमिनको अन्तर छ ।

युट्युवमा अपलोड भएको २४ घण्टामा यो ट्रेलर लाइक गर्नेको संख्या भने दुई लाख ५६ हजार मात्रै छ । यसको अर्थ यो भिडियोले करिब ९५ प्रतिशत डिसलाइक प्राप्त गरेको छ ।

युट्युवमा अपलोड भएको छोटो अवधिमै सबैभन्दा मन नपराइएको भिडियोको रुपमा यो ट्रेलरले नयाँ रेकर्ड कायम गरेको छ । अहिलेसम्मको आँकडा अनुसार विश्वभर मन नपराइएका ५० भिडियोहरुमध्ये ‘सडक २’ को ट्रेलर १० औं स्थानमा पुगेको छ ।

यति छोटो समयमै डिसलाइक पाउने भिडियोको टप टेनभित्र परेको ‘सडक २’ को ट्रेलर सबैभन्दा धेरै डिसलाइक बटुल्ने विश्वकै नम्बर वान भिडियो बन्छ वा बन्दैन भन्ने कुरा भने हेर्न बाँकी नै छ । अहिले युट्युवमा सबैभन्दा धेरै मन नपराइएको भिडियोमा करिब १७.९३ मिलियन अर्थात एक करोड ७९ लाख ९३ हजार डिसलाइक छ ।

यसको अर्थ स्पष्ट छ, मानिसहरु यो भिडियोको ट्रेलर त हेरिरहेका छन् तर बलिउडमा नेपोटिजमको केन्द्रमा खडा भएका कलाकार सहित बनेको यो फिल्मप्रित मानिसहरु आफ्नो आक्रोश पोखिरहेका छन् ।

उल्लेखनीय विषय के छ भने यो फिल्मा संजय दत्त, आलिया भट्ट, पूजा भट्ट र आदित्य रोय कपूर मुख्य भूमिकामा छन् । यी सबै स्टार कलाकारको सम्बन्ध फिल्मी परिवारसँग गाँसिएको छ ।

यो फिल्ममा अहम भूमिकामा देखिने आलिया भट्ट र पूजा भट्ट यो फिल्मका निर्देशक महेश भट्टकी छोरी हुन् । स्वयम् महेश भट्ट र फिल्मका निर्माता मुकेश भट्टको सम्बन्ध पनि बलिउड फिल्म इन्डस्ट्रीसँगै छ ।

भट्ट दाजुबाइका बुबा नानाभाइ भट्ट आफ्नो जमानामा दिग्गज सिनेम्याटोग्राफर थिए । सञ्जय दत्त सुनील दत्त तथा नरगिस दत्तका छोरा हुन् । यसैगरी आदित्य रोय कपूर प्रख्यात फिल्म निर्माता सिद्धार्थ रोय कपूरका भाइ हुन् ।

स्पष्ट छ कि मानिसहरु नेपोटिज्मसँग जेलिएको यो फिल्म नहेर्ने संकेत दिइरहेका छन् । सामाजिक सञ्जालमा यो फिल्मको ट्रेलरलाई लिएर प्रयोगकर्ताहरुका कडा शब्दमा लेखिएका कमेन्टमा पनि असन्तुष्टी झल्किरहेको छ ।

सुशान्तसिंह राजपूजको मृत्यपछि अमेरिकामा बस्दै आएका उनका भिनाजु विशाल कीर्तिले ट्वीटरमार्फत गरेको अपीलसँगै नेपोटिज्मसँग जोडिएको फिल्म नहेर्ने लहर छाएको हो । ‘सडक २’ लाई ९८ प्रतिशत नेपोटिज्मले भरिएको फिल्मको रुपमा ठहरिएको छ ।

यस्तै अन्य फिल्महरुलाई पनि नहेर्ने भाव अभिवक्त भइरहेको छ । यो फिल्म ओटीटी प्लेटफर्म डिज्ने हटस्टारमा रिलिज हुने तरखरमा छ । मानिसहरु ‘सडक २’ नहेर्ने घोषणाका साथ उक्त प्लेटफर्मलाई नै अनइन्स्टल गर्ने विषयमा समेत कतिपयले आफ्नो राय व्यक्त गरिरहेका छन् ।

यति मात्र नभएर नायिका आलिया भट्टले आफ्नो इन्स्टाग्राममा समेत यो ट्रेलर राखेकी छिन् । तर उनले आफ्नो कमेन्ट बक्स नै बन्द गरेर राखेकी छिन्, ता कि मानिसहरु उनको फिल्मलाई नराम्रो भन्न नसकुन ।

दुई महिना पहिला भएको सुशान्तसिंह राजपूतको मृत्युले बलिउडको जगलाई नै हल्लाइ दिएको स्पष्ट छ । मानिसहरु सुशान्तसिंह राजपूतलाई न्याय दिलाउन माग गर्दै आएका छन् ।

सँगसँगै नेपोटिज्मलाई लिएर समेत बलिउडका स्टार किड्स (फिल्मी परिवारसँग सम्बन्ध भएकै कारण स्टार भएकाहरु) विरुद्ध मानिसहरुले जबरजस्त किसिमको आक्रोश व्यक्त गरिरहेका छन् । हाल ‘सडक २’ को ट्रेलर यसैको सिकार बनेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०