close

नेपाली स्टार्टअप कम्पनी डकसुमोले जुटायो २ करोड ६३ लाखको ‘सीड फण्डिङ’

टेकपाना टेकपाना

साउन २९, २०७७ १२:३०

नेपाली स्टार्टअप कम्पनी डकसुमोले जुटायो २ करोड ६३ लाखको ‘सीड फण्डिङ’

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी डकुमेन्ट एआई स्टार्टअप कम्पनी डकसुमोले सीड फण्ड (बीउ पूँजी) को रुपमा दुई लाख २० हजार डलर (करीब दुई करोड ६३ लाख रुपैयाँ ) जुटाएको छ । एक वर्ष अघि मात्र स्थापना भएको यो कम्पनीले प्रारम्भिक चरणमा रहेको भेञ्चर फर्म बेटर क्यापिटलबाट बीउ पूँजीको रुपमा यो लगानी जुटाएको हो ।

बेटर क्यापिटलले रुपीके, ओपन, खाताबूक, याप लगायतका फिनटेकको कम्पनीहरुमा समेत लगानी गरिसकेको छ । यसपटक  डकसुमोमा पूजी लगानी गर्नेमा ग्लोबल एक्सिलेरेटर टेकस्टार्ट्स र बर्क्लेजले समेत छन् । 

स्टार्टअप कम्पनी डकसुमोले वित्तीय सेवा प्रदान गर्ने कम्पनीहरुको काममा अटोमेसनको सेवा प्रदान गर्दै आइरहेको छ । डकुमेन्ट डेटा क्याप्चर, एनालिटिक्स र फ्रड डिटेक्सन जस्ता कार्यहरुबाट यसले वित्तीय कम्पनीहरुको कार्यालय सञ्चालन तर्फको ७० प्रतिशतसम्मको खर्च कटौती गर्न सघाउँदै आएको छ ।

रकेट इन्टरनेट ईन एसियामा काम गरिरहेका नेपाली युवा बिक्रम दाहालले भारतीय नागरिक रुशभ शेठसँग मिलेर यो स्टार्टअप सुरु गरेका हुन् । दाहाल कम्पनीको प्रमुख प्राविधिक अधिकृत (सीटीओ) को रुपमा रहेका छन् भने शेठ कम्पनीका सीईओ हुन् ।  

डकसुमोको हेड अफिस भने भारतको मुम्बईमा छ । टेकपानासँगको कुराकानीमा दाहालले ब्यापारिक उद्देश्यका लागि मुख्य कार्यालय भारतमा राखिएको बताए । ‘मुख्य कार्यालय भारतमा रहेको भए पनि प्रडक्टको सबै प्राविधिक काम नेपालबाटै हुने गरेको छ,’ उनले भने ‘कम्पनीमा काम गर्ने सबै प्राविधिक पनि नेपाली नै छन् ।’

दाहाल र शेठ डकसुमो सुरु गर्नु अघि रकेट इन्टरनेटमा सहकर्मीको रुपमा काम गरिरहेका थिए । पूर्ववर्ती कम्पनीमा त्यहाँका वित्तीय प्रमुखले बैंक स्टेटमेन्टसँग बिल मिलाउन समय खर्चेको देखेर यो जोडीले आफ्नो डेटा साइन्स र सफ्टवेयर इन्जिनियरिङको विज्ञता उपयोग गर्ने सोँच अनुरुप डकसुमो खडा गरेको हो । 

हाल विश्वव्यापी रुपमा डकुमेन्ट एआईको बजार डेढ अर्ब डलरको रहेको छ र कम्प्युटर भिजनको पछिल्लो उद्विकासले गर्दा यो बजार प्रतिवर्ष ७० प्रतिशतले बढ्दो क्रममा छ ।

डकसुमोको प्राविधिक प्लेटफर्मले बैंक स्टेटमेन्ट, चेक भुक्तानी, ट्याक्स डेटा र व्यवसायसँग सम्बन्धित वित्तीय कागजात जस्ता तथ्याङ्कलाई अटोमेसन तथा विश्लेषण गर्न सहयोग गर्छ । जसले कम्पनी तथा फर्महरुलाई अव्यवस्थित कागजातलाई व्यवस्थित डेटाको रुपमा रुपान्तरण गर्न सघाउ पुर्‍याउने गर्दछ ।

यसका लागि विविध किसिमका एनालिटिक्स टेक्निक र डेटा साइन्सको प्रयोग हुन्छ । यसरी डकसुमोले आफ्ना सेवाग्राही कम्पनीहरुको खर्च तथा समय बचत गराउनुका साथै वास्तविक विवरण केलाउन समेत सहयोग गर्दै आएको  छ ।

एउटा स्टेटमेन्टमा रुशभ शेठले भनेका छन्, ‘भारतमा धेरैजसो फाइनाइन्सियल सर्भिस दिने फर्महरुले आफ्नो अफिस सञ्चालनका लागि आउटसोर्स गरेका हुन्छन् । जहाँ हजारौं मानिसहरु डेटा इन्ट्री गर्न र त्यसलाई भेरिफाई गर्न लागिपरेका हुन्छन् ।

लागतको हिसावले मात्र नभएर यसले समय पनि धेरै लिइरहेको हुन्छ । साथै यसले कयौं गल्तीहरु पनि पैदा गरिरहेको हुन्छ । नेचुरल ल्याङ्गेवज प्रोसेसिङको प्रयोगमार्फत डकसुमोले छिटो र सही निर्णयका लागि कागजात पढेर अटोमेसन गरिदिन्छ । हाम्रो उद्देश्य एउटा यस्तो एआईमा आधारित सोलुसन बनाउने हो, जसले कागजात पढेर मानिसले तथ्याङ्क व्यवस्थित गरेजस्तै काम गर्न सकोस् ।’

डकसुमोले यो लगानी आफ्नो प्रडक्टलाई थप मजबूत बनाउन, मार्केटिङ तथा सेल्स विस्तार गर्न र युरोप तथा अमेरिका जस्ता बजारमा उक्लिनका लागि प्रयोग गर्नेछ । साथै अगाडि कम्पनीले स्वीट एपीआई प्रडक्ट समेत बनाउनेछ, जसले उधारो कारोबार गर्ने तथा इन्स्योरेन्स कम्पनीहरुको सञ्चालनलाई अटोमेट गर्दै उनीहरुका ग्राहकलाई सहज र उत्तम किसिमको अनुभव दिलाउनेछ ।

कम्पनीका सहसंस्थापक द्वय बिक्रम दाहाल र रुशभ शेठ

‘डकसुमोले कम्प्युटर भिजन र नेचुरल ल्याङ्गवेज प्रोसेसिङमा कटिङ एज एड्मान्समेन्ट बनाउँदैछ। जसले डकुमेन्टभित्र रहेका डेटा तथा कन्टेक्स्टलाई तानेर अटोमेसन गर्नेछ । जुन डकुमेन्टको काममा यस अघि कहिल्यै  भएको छैन,’ बेटर क्यापिटलका वैभव डोमकुन्दवारले स्टेटमेन्टमा भनेका छन् । 

डकसुमोले हाल पेसेन्स तथा अन्य रियल टाइम कस्टुमर अनबोर्डिङ र अमेरिकाका बीमा कम्पनीको पोलिसी डकुमेन्ट रिडिङलाई एनेबल गर्ने काम समेत गरिरहेको छ । भारत, अमेरिका र यूरोपको बजारलाई लक्षित गरिरहेको कम्पनीको योजना नेपाल केन्द्रीत भने छैन ।

बिक्रमले टेकपानासँग अगाडि भने, ‘हाललाई हाम्रो प्रडक्ट नेपालमा बिक्री गर्ने कुनै योजना छैन । अहिले हाम्रो प्रडक्टले अंग्रेजी, युरोपियन र चिनियाँ भाषालाई सपोर्ट गर्छ । भारतमा पनि डकुमेन्टेसनमा अंग्रेजी भाषा नै चल्छ । त्यसैले हिन्दी र नेपाली भाषालाई हामीले समेटेका छैनौं ।’

डकसुमोले आफ्नो सेवा नेपाल लक्षित नगर्नुमा भाषा र यहाँको सानो बजार नै मुख्य कारण हो । नेचुरल ल्याङ्गवेज प्रोसेसिङमा निकै मेहनत र लगानी लाग्ने भएकाले बजार हेरेर मात्रै भाषामा काम गर्ने गरिएको दाहालले बताए ।

‘हामीले लक्षित गरेका धेरैजसो ग्राहकहरुलाई हिन्दी र नेपाली भाषाको आवश्यकता पर्दैन,’ उनले भने, ‘वर्षमा दुई तीन लाख डकुमेन्ट नहुने कम्पनीहरुलाई हामीले टार्गेट गरेका छैनौं । किन भने व्यावसायिक रुपमा त्यो संभव नै हुँदैन ।’

यद्यपी नेपालमा अंग्रेजी भाषामा डकुमेन्टेसनको काम गर्ने बैंक तथा बहुराष्ट्रिय कम्पनीहरुमा भने डकसुमोको प्रविधि उपयोग हुन सक्ने दाहालको भनाई छ । डकसुमोको प्रडक्ट बैंकिङ, बीमा र स्वास्थ्य क्षेत्रलाई लक्षित गरी बनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०