close

हाम्रो कीबोर्डमा बोलेकै भरमा नेपाली टाइप हुने फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

साउन २९, २०७७ १६:५४

हाम्रो कीबोर्डमा बोलेकै भरमा नेपाली टाइप हुने फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । ‘हाम्रो पात्रो’ले बोलेरै टाइप गर्न सकिने गरी ‘हाम्राे नेपाली कीबोर्ड’ एपको नयाँ संस्करण सार्वजनिक गरेको छ । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा टाइप गर्न सकिने कीबोर्डलाई थप परिमार्जन गरी नयाँ सुविधा थप गरिएकाे हो ।

नयाँ संस्करणमा आएको नयाँ फिचरले प्रयोगकर्ताले बोलेको नेपाली शब्दलाई (भ्वाइस टाइपिङ) नेपाली अक्षरमा टाइप गरिदिनेछ । यो खालको सुविधा उपलब्ध गराउने नेपाली एपमध्ये यो नै पहिलो बनेको छ ।

नयाँ फिचर प्रयोगका लागि प्रयोगकर्ताले हाम्रो नेपाली कीबोर्डको नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ । त्यसका लागि गूगल प्लेस्टोर र एप्पलको एप स्टोरमा गएर अपडेट अथवा डाउनलोड गर्न सकिने छ ।

नयाँ अपडेटसँगै तपाईंले बोलेर कुनैपनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्टाटस, प्रतिक्रिया, ट्वीट, च्याट आदि गर्न सक्नुहुनेछ ।

कम्पनीका अनुसार भ्वाइस टाइपिङको सहयोगमा बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लेटफर्ममा नेपालीमा लेखिदिनेछ । यसले नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्तालाई सहज हुने अपेक्षा कम्पनीको छ ।

यसमा शुद्ध नेपाली शब्दको विकल्प समेत देखिनेछ, जसले गर्दा तपाईंले टाइप गर्दा त्यस्ता शब्द छनोट गर्न सक्नुहुनेछ ।

त्यतिमात्रै नभएर नयाँ संस्करणमा कीबोर्डको आकार बढाउन सकिने सुविधा पनि थपिएको छ । टाइपिङमा आवश्यकताअनुसार सजिलोको लागि कीबोर्डको आकार बढाउने सुविधा थप गरिएको कम्पनीले जनाएको छ ।

मोबाइल अनुसार टाइपिङ गति तथा औंलाको आवश्यकता अनुसार कीबोर्डको आकार चाहेजस्तो सानो वा ठूलो बनाउन सकिने सुविधा यसमा समेटिएको छ । यसले प्रयोगकर्तालाई टाइप गर्न सहज हुने अपेक्षा गरिएको छ ।

एपमा नेपाली भाषा चयन गरिसकेपछि ‘ञ’ अक्षरको ठीक माथिपट्टी भ्वाइस टाइपिङका लागि माइकको अप्सन देख्न सक्नुहुनेछ । त्यसमा क्लिक गरी तपाईंले बोलेको कुरा नेपालीमा टाइप गर्न सक्नुहुनेछ ।

त्यसो त गूगलको जीबोर्डमा समेत तपाईंले यस किसिमको सुविधा देख्न सक्नुहुनेछ । तर यसमा तपाईंले बोलेको कुरा प्रस्ट नभएमा संभावित विभिन्न शब्दावली सुझाइएको हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०