close

लकडाउनले खोलेको ईन्फीस्टोर, जसले घरघरमा पुर्‍याउँदैछ नेपाली उत्पादन

युजु खालिङ युजु खालिङ

साउन ३१, २०७७ १४:२४

लकडाउनले खोलेको ईन्फीस्टोर, जसले घरघरमा पुर्‍याउँदैछ नेपाली उत्पादन

काठमाडौं । लकडाउनको समयमा ताजा फलफूल तथा सब्जी र ग्रोसरी वस्तु पाउन एकदमै कठिन थियाे । घर वरपरका पसलहरुमा पनि अभावै थियो । त्यहीबेला लकडाउनको खाली समय पनि कटाउनै पर्ने थियो ।

यसैले वर्तमान विश्व परिदृश्यको बारेमा चर्चा परिचर्चा गर्न यशु थकाली लगायत २१ जना साथीहरु निरन्तरजसो जूम मिटिङमा बसिरहेका हुन्थे । कामको सिलसिलामा एकले अर्कोलाई चिनेको आधारमा बनेको नेटवर्क थियो त्याे ।

सबैको आ-आफ्नै ‘फिल्ड अफ एक्सपर्टिज’ भएका । लकडाउनको विषम परिस्थितिमा समुदायको लागि के गर्न सकिन्छ भनेर चर्चा गर्दा सबैले भोगिरहेको खाद्य उपलब्धतामा समस्या र अभावमा सबैको ध्यान गयो ।

टोलीकै साथीहरुले बल्कमा आपूर्ति गर्ने होलसेलरहरुसँग कुरा गर्दा उनीहरुसँग पनि डेलिभरी च्यानल नभएको थाहा पाए ।

खाद्य वस्तु बजारमा थिए । भान्सामा पनि अभाव थियो। अब यो दुईबीच सेतुको रुपमा सेवा दिने २१ जना युवाको जमातले निर्णय गर्‍यो । भविष्यमा स्टार्टअप सुरु गर्ने भनेर पहिल्यै केही साथीहरु मिलेर ई-कमर्स कम्पनी दर्ता गराएका थिए । त्यो पनि काम लाग्ने भयो ।

कुरा गर्दागर्दै तीन दिनमै मे २१ मा उनीहरुले एउटा एमभीपी बनाएर अनलाइन स्टोर सुरु गरे । जसलाई उनीहरुले नाम दिए ‘ईन्फीस्टोर’  ।

सुरुमा त ईन्फीस्टोरमा ताजा फल, सब्जी र ग्रोसरी आइटमहरु मात्र राखे । अन्य व्यावसायिक कम्पनीले जस्तो मार्केटिङ गरेनन् । आफन्त साथीभाइ र नाता गोतालाई मात्र यस्तो काम सुरु गरेका छौं भनेर सुनाए ।

तर सुरुवाती चरणमा नै उनीहरुको सेवाले राम्रो प्रतिक्रिया पायो । स्टाेरमा प्रडक्ट रेन्ज बढ्दै गयो । विस्तारै भेन्डरहरु आफै प्लेटफर्ममा ठाउँ माग्न थाले ।

आज लकडाउनपछिको सटडाउनमा पनि ईन्फीस्टोर निरन्तर चलिरहेको छ । यस अवधिमा स्टोरले ३० हजारभन्दा धेरै ग्राहकहरु कमाइसकेको छ । उत्साह बढेको छ ।

योजनाहरु थपिएका छन् । कम्पनीले अहिले फोन नम्बर र वेब एप्लिकेसनबाट अर्डर लिने काम गरिरहेको छ ।

एकदमै थोरै लगानीमा खाली समय समुदायको सेवामा लागाउने गरी सुरु भएको ईन्फीस्टोरलाई सुरु गर्दै गर्दा लामो समयसम्म लाने कुनै योजना नबनाएको संस्थापकमध्येका एक यशु थकाली सनाउँछन् ।

‘लकडाउनको खाली समयलाई सदुपयोग गर्न मात्र ईन्फीस्टोर सुरु गरेका थियौं,’ यशु भन्छन्, ‘त्यसैले मार्केटिङ पनि त्यसरी गरेनौं । लामो समयसम्म जाने भन्ने कुरा पनि निश्चित थिएन ।’

तर ग्राहकहरुबाट राम्रो प्रतिक्रिया आयो । प्रडक्ट रेन्ज बढ्यो । ग्राहक बढे । अब अहिले आएर दीर्घकालीन योजनाहरु थपिएका छन् । अहिले यसलाई के कसरी हुन्छ निरन्तर बढाउँदै लैजाने चाहना यी युवामा भरिएको छ ।

यसरी ईन्फीले एउटा राजमार्गको गति पकडेको छ । अल्पकालका लागि सुरु गरेको एउटा स्टार्टअपले निश्चित दिशा समातेको छ । सेवागत भावले सुरु गरेको व्यापारिक रणनीतिलाई नै यो स्थानसम्म आउनुको मुख्य श्रेय यशु ।

ईन्फीले सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने गरेको यशुको दाबी छ । छोटो समयमै राम्रो छलाङ मार्नुको पछाडिको युनिक सेलिङ प्रोपोजिसन (यूएसपी) अर्थात बिक्री सम्बन्धी मौलिक ढाँचा नै मूख्य कारण भएको उनको बुझाई छ ।

‘लकडाउनका कारण मानिसहरुको क्रयशक्ति घटेको छ । यसैले हामी थोरै मार्जिन राखेर सस्तोमा सामानको नि:शूल्क डेलिभरी गराउँछौं,’ यशु भन्छन् ।

उनी थप्छन्, ‘कस्टमर सर्भिस र कस्टमर सपोर्ट हाम्रो मुख्य प्राथमिकता हुन् । सब्जी एकदमै संवेदनशील वस्तु हो । बिहान राम्रो हुन्छ, बेलुकासम्म बिग्रिसक्छ । त्यस्तो अवस्थामा हामीले साटफेर समेत गराइदिन्छौं । सुलभ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउनु नै हाम्रो व्यापारको धर्म र सिद्धान्त हो ।’

डेलिभरीमा ईन्फी अब्बल रहेको यशुको दाबी छ । कम्पनीले २४ घण्टाभित्र डेलिभरी सेवा प्रदान बाचा गरेको छ । त्यही बाचा पुरा गरेकै कारण ग्राहकहरुले आफूहरुलाई पत्याएको उनको बुझाई छ ।

ईन्फीमा न्यूनतम बास्केट साइज भन्ने कुनै सीमितता पनि छैन । ५० रुपैयाँको टूथपेस्ट पनि कम्पनीले डेलिभरी दिने गरेको यशु बताउँछन् । हाल नि:शूल्क डेलिभरी दिँदै आइरहेको ईन्फीले सोही दिनमा डेलिभरी गर्ने एक्सप्रेस सेवाका लागि भने ग्राहकबाट एक सय ५० रुपैयाँ लिने गरेको छ ।

लकडाउनका कारण अहिले विश्व अर्थतन्त्र नै डामाडोल भएको अवस्था छ । यस्तो बेला देशको अर्थतन्त्रलाई आड दिन स्वदेशी वस्तु र उद्यमीलाई सहायता गर्नुपर्ने संघीन घडी आएकैले ईन्फी स्वदेशी प्रडक्टमा समर्पित प्लेटफर्म बन्ने दीर्घकालीन योजनामा छ ।

यसको लागि कम्पनीले काम पनि गरिहरेको छ । ‘आवश्यक वस्तुहरु त राख्नैपर्यो । सबै कुरा नेपालमा पाउन गाह्रो छ । तर कुनै कुरा नेपालमा बनेको छ भने त्यसलाई प्राथमिकताको सूचीमा राखेर विदेशी प्रडक्टलाई हटाउने योजना छ,’ यशुले टेकपानासँग भने ।

पतञ्जली, मिनिसो, गितारसप, डुल्ला, गोल्डस्टारजस्ता ब्राण्डहरु पनि अहिले ईन्फीमा आउन थालेका छन् । ‘सकेसम्म मेड ईन नेपाल प्रडक्टहरुलाई नै किन प्रमोट नगर्ने भनेर हामी अभियान सुरु गर्न खोजिरहेका छौं । सुरुवाती दिनमा हामीले डुल्ला, गोल्डस्टार जस्ता स्थापित ब्राण्डलाई ल्याएर काम गर्न खोजिरहेका छौं,’ उनले भने ।

राम्रो गुणस्तर भएका साना एसएमईलाई पनि कम्पनीले सूचीमा राखेकाे उनले जनाए । सेवालाई विस्तार गर्दै आगामी दिनमा अन्य सेग्मेन्ट थप्ने याेजना ईन्फीले बनाएको छ । चाँडै नै विद्युतीय सामग्रीलाई पनि प्लेटफर्ममा राख्ने तयारी भइरहेकाे छ । यसका लागि हाल मिनिसोसँग साझेदारी भइरहेको उनले सुनाए ।

‘यसबाहेक ईन्फी स्टोरबाट भोलिको दिनमा भेन्डरहरुलाई नि:शूल्क परामर्श सेवा दिने योजना पनि बनाएका छौं,’ उनले भने, ‘नेपाली वस्तु पनि गुणस्तरमा केही कम हुँदैनन् । विदेशी प्रडक्ट प्याकेजिङ मार्केटिङमा धेरै केन्द्रीत हुन्छन् । त्यो लेभलमा लान भेन्डरहरुले के के गर्नु पर्छ भन्ने परामर्श पनि दिने कि भन्ने हाम्रो योजना छ ।’

एमएमईहरुलाई बढाउँदै उपत्यकाबाहिर पनि उनीहरुको पहुँच र व्यापारलाई कसरी विस्तार गर्न सकिन्छ भन्नेतर्फ कम्पनीले गृहकार्य थालिसकेकाे छ । ‘उनीहरुको वस्तुलाई आयातित वस्तुहरुको स्तरमा कसरी पुर्‍याउन सकिन्छ, ताकि भेन्डरहरुले वस्तुको गुणस्तरमा मात्र केन्द्रित हुन् सकुन् भनेर हामीले आगामी दिनमा सेल्स, मार्केटिङ र डेलिभरी सबै हाम्रो प्लेटफर्मबाट गराइदिने योजनामा वर्कआउट गरिरहेक छौं,’ यशुले भने ।

काठमाडौं उपत्यकामा ई-कमर्सको कमी छैन । ठूला-ठूला खेलाडीहरुको उपस्थिति छ यहाँ । यद्यपि सही व्यवसायिक रणनीति लिएर अगाडि बढे यहाँ सबैलाई खेल्ने र गर्ने ठाउँ हुने यो युवा टोलीको विश्वास छ ।

औषत २५ वर्ष उमेर समूहका यी २१ युवाको समूह आफूले सुरु गरेको ईन्फीस्टोरको भविष्यप्रति आशावादी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०