close

सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोन पेले दियो साथ

टेकपाना टेकपाना

साउन ३२, २०७७ १८:२०

सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोन पेले दियो साथ

काठमाडाैं । सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने नेपाल भेन्टिलेटर बैंंककाे अभियानमा फाेन पे पेमेन्ट सर्भिस लिमिटेडले साथ दिएको छ । यस अभियानअन्तर्गत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा हरेक कारोबारमा एक रूपैयाँ रकम छुट्याइने छ ।

यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइने छ । भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उद्धेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ ।

हरेक कारोबारमा एक रुपैयाँ छुट्याउने सम्झौताको सम्झौतापत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरे ।

भदाै १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ । सम्झौतापछि एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने ‘यो विषम् परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ।’

नेपालमा तीन करोड जनताका लागि करीब छ सय वटामात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा तीनदेखि पाँच हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

यही रिक्तता पुर्ति गर्नका लागि भेन्टिलेटर बैंकले यो अभियान सुरू गरेको हो । यस किसिमको पूर्वाधारको विकास समुदायको प्रतिबद्धता र रचनात्मक प्रयासहरूले सम्बोधन गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०