close

माइक्रोसफ्टलाई एन्ड्रोइडको प्रभाव, ल्याउँदै छ दुईवटा स्क्रीन भएको फोल्डेबल फोन ‘सर्फेस डुओ’

टेकपाना टेकपाना

भदौ १, २०७७ १४:४३

माइक्रोसफ्टलाई एन्ड्रोइडको प्रभाव, ल्याउँदै छ दुईवटा स्क्रीन भएको फोल्डेबल फोन ‘सर्फेस डुओ’

काठमाडौं । अहिले बजारमा माइक्रोसफ्टको सर्फेस डुओको चर्चा चुलिएको छ । गतवर्ष नै कम्पनीले सार्वजनिक गर्ने भनेको यो उपकरण के हो भन्ने विषयमा धेरैको जिज्ञासा छ । धेरैले यसलाई फोन भन्छन् । यसबाट फोन गर्न र उठाउन सकिन्छ ।

यदि फोनको परिभाषा फोन सम्पर्कले दिन्छ भने यसलाई फोन भन्नु पनि उपयुक्त नै छ । तर तपाईंको पर्सनल कम्प्युटर, ट्याब्लेट र गेम कनसोल डिभाइसबाट पनि फोन गर्न सकिन्छ । यसकारण यसलाई कुन उपकरणभित्र राख्ने भन्ने यो छुट्टै विषय हो । 

माइक्रोसफ्टले आगामी सेप्टेम्बर १० देखि बजारमा ल्याउने भनेको यो सर्फेस डुओको प्रि-अर्डरहरु सुरु भइसकेको छ । एक हजार तीन सय ९९ डलर मूल्य रहेको यो एउटा फोल्डेबल उपकरण हो ।

यसमा गूगलको एन्ड्रोइड सफ्टवेयरको परिमार्जित संस्करण प्रयोग गरिएको छ । ग्यालेक्सी जेट फोल्ड टू, ग्यालेक्सी जेड फ्लिप, मोटोरोला राजरजस्ता फोल्डेबल उपकरणहरुको ट्रेण्ड चलिरहेको बेला माइक्रोसफ्टले सर्फेस डुओ सार्वजनिक गर्न लागेकाे हाे ।

तर अन्य फोल्डेबल फोनहरुभन्दा माइक्रोसफ्टको यो उपकरण फरक छ । किनभने यो उपकरण अन्य फोनजस्तो एउटै डिस्प्लेमा फोल्ड हुँदैन । यो एउटा डुअल स्क्रीनवाला उपकरण हो, जसलाई बीचमा एउटा यस्तो कब्जाले जोडेको छ । जसले गर्दा यो फोन ३६० डिग्री नै घुम्न सक्छ ।

फोल्डेबल उपकरण भएपनि यो एकदमै पातलो, हलुका र एकदमै सुन्दर छ । यसलाई जोकसैले आफ्नो गोजीमा राखेर हिँड्न सक्छन् । 

यो उपकरणले मोबाइल विश्वमा नयाँ अवधारणाको विकास गराएको छ । यसमा भएको सफ्टवेयरले यो उपकरणभित्रको दुईवटा स्क्रीनबीच अन्तर्क्रिया गराउँछ । प्रयोगकर्ताले एउटा स्क्रीनमा भएको तस्वीरलाई अर्कोमा तानेर ल्याउन सक्छ ।

कम्प्युटर प्रोग्रामको मिसावटका कारण एकैस्तरमा पुरै स्क्रीनभरी औंलाहरु डुलाउन सकिन्छ । यसमा भएको सेन्सरले यी डिस्प्लेहरु एकअर्कोसँग सम्बन्धित छन् वा छैनन् भनेर पनि ट्रयाक गर्दछ । 

यसको अन्य फिचरको बारेमा कुरा गर्दा यसमा डुअल ५.६ इन्चको एमाेलेड डिस्प्ले रहेको छ जुन संयुक्त रुपमा ८.१ इन्चको एमाेलेड रहेको छ ।

यसको तौल ८.८ आउन्स र २५० ग्राम रहेको छ । यसमा ११ मेगापिक्सलको ब्याक क्यामेरा रहेको छ तर फ्रन्ट क्यामेराको पिक्सलबारे माइक्रोसफ्टले स्पष्ट जानकारी दिएको छैन । 

यसले चार के सम्मको भिडियो खिच्न सक्छ । यसमा क्वालकम स्नापड्रागन ८५५ प्रोसेसर रहेको छ । ६ जीबी र्‍याम भएको यो फोनमा १२८ जीबी (एक हजार तीन सय ९९ डलर) र २५६ जीबीको इन्टरनल स्टोरेज रहेको छ ।

यसमा ३५७७ एमएएचको ब्याट्री रहेको छ । डुअल स्क्रीन भएको यो फोनमा नानो र ईसीम गरी डुअल सीम प्रयोग गर्न सकिन्छ । 

यो एउटा एन्ड्रोइड उपकरण हो । एप्पलका डिभाइसबाहेक अन्यमा प्रयोग हुने सम्पूर्ण एपहरु यसमा पनि प्रयोग गर्न सकिन्छ । माइक्रोसफ्टले यसमा विण्डोज सफ्टवेयरको सट्टा एन्ड्रोइड सफ्टवेयर प्रयोग गरेको छ । 

अहिले आइरहेका अधिकांश उपकरणहरु फाइभजीमा आधारित भइरहेको अवस्थामा सर्फेस डुओमा भने फोरजी नेटवर्क नै प्रयोग गरिएको छ । ब्याट्री लाइफलाई बढाउन र उपकरणलाई पातलो बनाउन माइक्रोसफ्टले पछिल्लो पुस्ताकै वायरलेस टेक प्रयोग गर्ने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०