close

भारतमा झुटा समाचार, घृणा र हिंसा फैलाउन भाजपालाई फेसबुकको साथ !

टेकपाना टेकपाना

भदौ २, २०७७ ९:२६

भारतमा झुटा समाचार, घृणा र हिंसा फैलाउन भाजपालाई फेसबुकको साथ !

काठमाडाैं । फेसबुकले भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का लागि आफ्नो घृणास्पद अभिव्यक्तिबारेको नीतिमा सम्झौता गरेको खबर बाहिर आएको छ । जसका कारण अहिले कम्पनीले भारतभर आलोचना खेप्नुपरेको छ । 

भारतको आन्तरिक राजनीतिमा पक्षपाती आवरण देखाएको भन्दै सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेस दुवैले फेसबुकको आलोचना गरेका छन् । 

सत्ताधारी दल भाजपाका एक सदस्यको पोस्टमा फेसबुकले आफ्नो घृणास्पद अभिव्यक्तिको नीति लागू गर्न नमानेको खबर वाल स्ट्रीट जर्नलमा शुक्रबार प्रकाशित भएपछि भारतमा अहिले यो मुद्दाले विवादको रुप लिएको हो । 

प्रकाशित समाचारका अनुसार भाजपाका तीन व्यक्तिगत र ग्रुप पेजहरुमा ‘हिंसामा सहभागी हुन प्रोत्साहन’ गर्ने किसिमका पोस्टहरु भेटिएका थिए । वालट्रिट जर्नलसँग कुराकानी गर्दै अंखी दासले भनेकी छिन्, ‘नरेन्द्र मोदीको पाटीका राजनीतिज्ञको हिंसात्मक गतिविधिलाई सजाय दिने कुराले कम्पनीको भारतमा संभावित व्यवसायलाई असर गर्न सक्छ ।

रिपोर्टमा कम्पनीका हालका तथा पूर्व कर्मचारीलाई उदृत समेत गरिएको छ । फेसबुकले यसै वर्ष भारतको स्थानीय टेलिकम कम्पनी जियोमा ५.७ अर्ब अमेरिकी डलर लगानी गरेको छ । जुन भारतका सबैभन्दा धनाड्य व्यक्ति मुकेस अम्बानीको कम्पनी हो । अम्बानी समेत मोदिसँग नजिकको सम्बन्ध भएका व्यक्ति हुन् ।

एक वक्तव्यमा फेसबुकका प्रवक्ताले प्लेटफर्ममा घृणास्पद अभिव्यक्ति तथा हिंसाजनित सामग्री प्रतिबन्धित रहेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘यो नीतिले विश्वव्यापी रुपमा कसैको राजनीतिक पद तथा पार्टीप्रतिको संवद्धतासँग समेत सरोकार राख्दैन ।’ ‘निष्पक्षता र सत्यता सुनिश्चित गर्न हाम्रो प्रक्रियाको कार्यान्वयन र सञ्चालनमा नियमित सुधार गर्दै लगिरहेका छौं,’ वक्तव्यमा अगाडि भनिएको छ ।

गत वर्षको मध्यसम्म भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष पदमा रहेका राहुल गान्धीले केही दिन अघि ‘भाजपाले भारतमा ह्वाट्सएप तथा फेसबुक नियन्त्रण गरिरहेको’ भन्दै ट्वीट गरेका थिए । ‘यिनीहरु मतदाताहरुलाई प्रभावमा पार्न झुटा समाचार र घृणा फैलाउन यसको प्रयोग गरिरहेका छन् ।’

शशी थरुर लगायतका अनेकौं भारतीय राष्ट्रिय कंग्रेस सम्बद्ध राजनीतिज्ञले समेत समान किसिमका धारणाहरु सार्वजनिक गरेका छन् । ‘भारतमा फेसबुकले घृणास्पद अभिव्यक्ति फैलाउने गरेको भन्दै आएका यी रिपोर्टहरुमा संसदको सूचना प्रविधि समितिले सुनुवाई गर्न जरुरी छ,’ उनले ट्वीट गर्दै भनेका छन् ।

भाजपाका अधिकारीहरुले भने यी आरोपहरुको खण्डन गर्दै आएका छन् । भारतका आईटी मन्त्री रविशंकर प्रसादले कंग्रेसलाई क्याम्ब्रिज एनालिटिकासँगको सम्बन्धलाई उल्लेख गर्दै चुनाव अघि फेसबुकसँग मिलेर यस अघिको चुनावमा डेटालाई हतियार बनाएको आरोप लगाएका छन् ।

उनले अगाडि भनेका छन्, ‘अहिले उनीहरुले नै उल्टै हामीलाई प्रश्न गर्ने ?’ भारतमा हाल ४० करोड भन्दा धेरै फेसबुक प्रयोगकर्ताहरु रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०