close

क्राफ्ट बनाउने लिजलाको आर्किटेक्ट बन्ने सपना

टेकपाना टेकपाना

भदौ २, २०७७ १४:३९

क्राफ्ट बनाउने लिजलाको आर्किटेक्ट बन्ने सपना

काठमाडौं । कारखानामा प्रसारण हुने ‘हाम्रो प्रकृति, हाम्रै हातमा’ कार्यक्रमकी नियमित स्रोता हुन् सानी नानी लिजला शाक्य । उनी १० वर्षकी भइन् । निसर्ग बाटिका विद्यालय काठमाडाैंमा कक्षा पाँचमा पढ्छिन ।

लिजलाले सानै उमेरमा जीवन उपयोगी तथा ज्ञानमुलक धेरै कुराहरु यो कार्यक्रमबाट सिकिसकेकी छिन् । केही दिनअघि मात्र उनले रबरबाट गुड्ने गाडी जस्तो सुन्दर कलात्मक हस्तकला सामग्री बनाइन्।

कारखानामा प्रसारण हुने कार्यक्रम हेरेर लिजलाले यस्तो हस्तकला सामग्री बनाउने आइडिया बटुलेकी थिइन् । ‘रबर ब्याण्डले गुड्ने गाडी बनाउन सकिने रहेछ भनेर थाहा पाएर मैले आफ्नै तरिकाले गाडीको आकारमा यो क्राफ्ट तयार गरेँ,’उनी भन्छिन् ।

यसका लागि लिजलाले तीन दिनसम्म मेहेनत गरेकी थिइन् । यो मेहेनतमा उनलाई साथ, सहयोग र निरन्तर हौसला दिन उनकी आमा मन्जुश्री स्थापितसँगै थिइन् ।

यसरी आफ्नो खाली समयलाई सिर्जनात्मक काममा लगाएर लिजला कारखाना र टेकपानाकाे संयुक्त पहलमा भदाै महिनाभर हुने ‘मेकर अफ दी मन्थ २०२०’ काे पहिलो दिनको विजेता बनेकी छिन् । उनको कला र मेहेनतलाई सराहना गरेर हामीले पहिलो दिनका लागि यो फिचराइज गरिएको हो ।

काठमाडौं कुलेश्वरमा बस्दै आएकी लिजलाले लकडाउनको खाली समयमा पनि आफ्नो विद्यालयको ‘शेयरिङ टाइम’मा सिकेका कुराहरुलाई जीवनमा लागु गरिरहेकी छिन् । यसरी उनले खाली समयमा शेयरिङ टाइममा सिकेरै क्राफ्ट, आर्टका साथै पपेटहरु पनि बनाइन् । क्राफ्ट र आर्ट गर्नु उनको रुची नै हो ।

भविष्यमा उनको आर्किटेक्ट बन्ने सपना छ । तर आज भोलि लिजलाको विद्यालयमा नयाँ नियम बनेको छ । बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म उनी अनलाइन क्लासमै व्यस्त हुन्छिन् । यहीकारण आफ्नो रुचीको धेरै काम गर्न पाएकी छैनन् ।

यद्यपि उनी आफ्नो राम्राराम्रा र असल बानीहरुको भने सधैं नै अभ्यास गर्छिन् । अरुलाई पनि आफू जस्तै बन्न सल्लाह दिन्छिन् । आफूले जस्तै प्रदुषण नगर्ने, क्राफ्ट बनाउनमा आफ्नो समय लगाउने, खेर जाने चिजहरुलाई फेरी प्रयाेग गर्ने जस्ता काम गर्ने उनी अरूलाई सल्लाह दिन्छिन् ।

अरु बालबालिका जसरी लिजला धेरै समय मोबाइल तथा ग्याजेटमा बिताउँदिनन् । बरु उनी परिवारसँग समय बिताउँछिन् । क्राफ्ट बनाउन र कारखानाको ‘हाम्रो प्रकृति हाम्रै हातमा’ जस्तो ज्ञानमुलक कार्यक्रम हेर्न अनि स्कूलको प्रोजेक्ट गर्नमा समय खर्चिन्छिन् ।

साथै उनी आफूजस्तै उमेरका सबै साथीभाइहरुलाई ग्याजेट्सहरुमा धेरै समय खेर फाल्नु हुँदैन है भनेर सल्लाह दिन्छिन् । लिजला जस्तै विशेष प्रतिभा भएका कक्षा १ देखि १० सम्मका सबै बालबालिकाले आफ्नो काम र परियोजनाहरुलाई यहाँ क्लिक गरी ईमेल मार्पत पठाउन सक्नुहुनेछ ।

यसको लागि कुनै ठूलै वैज्ञानिक आविष्कार अथवा जटिल उपकरण प्रयोग गरिरहेको हुनुपर्छ भन्ने पनि छैन । हामी त बस् नानीबाबुहरुको साँचो प्रयास हेर्न चाहन्छौं । साँचो सिकाइ हेर्न चाहन्छौं । यस्तो प्रयास हेर्न चाहन्छौं, जसले केही समस्याको समाधान गर्न खोजेको होस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०