close

नियामकका सबै कर्मचारी ‘वर्क फ्रम होम’मा, सहजीकरणमा अफिस अटोमेसन सिस्टम

टेकपाना टेकपाना

भदौ ३, २०७७ १४:५८

नियामकका सबै कर्मचारी ‘वर्क फ्रम होम’मा, सहजीकरणमा अफिस अटोमेसन सिस्टम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारले जारी गरेको निषेधाज्ञाको समयमा पनि आफू मातहतका सम्पूर्ण कार्य उपलब्ध गराउने भएको छ । त्यसका लागि नियामकले सम्पूर्ण कर्मचारीलाई वर्कफ्रम होममा राख्ने छ ।

‘आज रातिदेखि आगामी १० गतेसम्म जारी हुने निषेधाज्ञा अवधिभर प्राधिकरणका कर्मचारीहरुले वर्क फ्रम होमको रुपमा कार्यरत रहने छन्,’ जारी गरिएको सूचनामा भनिएको छ, ‘जसमार्फत सेवा प्रदायकहरुलाई निरन्तर सहजीकरण गरिने छ ।’

त्यसका लागि कर्मचारीहरुले घरबाट नै अफिस अटोमेसन सिस्टमबाट आफ्नो दैनिक काम कारबाही चलाउनु पर्नेछ । त्यस्तै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निरन्तर सम्पर्कमा रहन नियामकले आफ्ना कर्मचारीलाई निर्देशन समेत दिएको छ ।

साथै अत्यावश्यक कार्यका लागि बोलाइएको खण्डमा कार्यालयमा उपस्थित हुनेपर्ने छ ।प्राधिकरणका अनुसार वर्कफ्रम होमबाट कामकाज गरेको अवधिभरका लागि प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७६ बमोजिम बिना भत्ता हाजिरी काज उपलब्ध हुनेछ । यसले अत्यावश्यक सेवा अन्तर्गत पर्ने दूरसञ्चार सेवालाई सहजीकरण कायम राख्न मद्दत पुग्ने अपेक्षा नियामकले राखेको छ ।

सेवा प्रदायकले सहजीकरका लागि प्राधिकरणको ईमेल ठेगानाहरु [email protected][email protected] मा पत्राचार गर्न सक्नेछन् । साथै सेवा प्रदायकलाई अत्यावश्यक कामको लागि न्यूनतम कर्मचारी र सवारी साधन परिचालन गरी सहयोग गर्न समेत नियामकले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०