close

अहिलेको शिक्षा प्रणाली नै फेर्न जरुरी छ

गोपाल साउद गोपाल साउद

भदौ ३, २०७७ १९:५२

अहिलेको शिक्षा प्रणाली नै फेर्न जरुरी छ

कोभिड १९ को विश्वव्ययापी महामारीका कारण विगत पाँच महिनाभन्दा लामो समयदेखि नेपालको शैक्षिक क्षेत्र नराम्ररी प्रभावित बनेको छ । सूचना प्रविधिको अहिलेको युगमा अन्य मुलुकहरुले शैक्षिक गतिविधि सुचारु राखे पनि नेपाल भने अझै अन्यौलताकै स्थितिबाट गुज्रिरहेको छ । मुलुककै जेठो विश्वविद्यालयको रुपमा रहेको त्रिभुवन विश्व विश्वविद्यालय अन्तर्गतको इन्जियिरिङ अध्ययन संस्थान समेत यो नियतिबाट अछुत छैन । विगत करिब ३६ वर्षदेखि संस्थानमा अध्यापन गराउँदै आएका प्राध्यापक डा शशिधरराम जोशी यहीबेला नयाँ डीनको रुपमा नियुक्त भएका छन् । त्यसो त संस्थान प्राविधिक शिक्षातर्फ प्रायः सबैजसो विद्यार्थीको पहिलो रोजाईमा रहँदै आएको छ । आईटी पृष्ठभूमीबाट संस्थानको इतिहासमै पहिलो डीन बन्न सफल प्रा डा जोशीसँग टेकपानाका लागि गोपाल साउदले नेपालमा प्राविधिक शिक्षाको अवस्था, कोभिड १९ ले निम्त्याएको जोखिम लगायत समसामयिक विषयमा गरेको कुराकानीः

नेपालको वर्तमान सूचना प्रविधि शिक्षालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

नेपालमा सूचना प्रविधि शिक्षाको अध्ययन/अध्यापन करीब २५ वर्षदेखि हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयमा पहिलोपटक कम्प्युटर विज्ञान र कम्प्युटर इन्जिनियरिङको पढाइ सन् १९९५ मा सुरु भएको थियो । त्यसयता नेपालमा सूचना प्रविधिका विभिन्न पाठ्यक्रमहरुमा अध्ययन अध्यापन हुँदै आएको छ ।

यसैबीच हाम्रो सूचना प्रविधिको जनशक्ति अहिले विश्वभर आफ्नो कार्यक्षमता प्रस्तुत गर्न सफल भइरहेका छन् । उदाहरणको रुपमा पुल्चोक क्याम्पसबाट उत्तीर्ण भएका मेरै विद्यार्थीहरु अहिले विश्वका विभिन्न ठाउँका विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् । कतिपयले एप्पलजस्ता आईटी इण्डस्ट्रीमा काम गरिरहेका छन् ।

नेपालमा सूचना प्रविधि अध्यापनको जग बसाल्ने कार्यमा तपाईंको पनि महत्वपूर्ण भूमिका छ । तपाईं आफैंले चैं नेपालको सूचना प्रविधि शिक्षाको गुणस्तरलाई कस्तो देख्नुहुन्छ ?

म अध्यापन पेशामा लागेको करीब ३६ वर्ष भयो । पुल्चोक क्याम्पसमा आइसकेपछि हामीले डिप्लोमा प्रोग्रामदेखि ब्याचलर्स, मास्टर्सहुँदै पीएचडीसम्मका प्रोग्राम ल्यायौं । यसदौरान धेरै प्रोग्रामहरु सञ्चालन गर्‍यौं ।

सूचना प्रविधि शिक्षाको बारेमा कुरा गर्दा हाम्रै पुल्चोक क्याम्पस र यसका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा पढेका विद्यार्थीहरु अहिले संसारभर नै पुगेका छन् । उनीहरूको पर्फर्मेन्स राम्रै छ ।

जहाँसम्म गुणस्तरको सवाल जाेड्नुभएकाे छ, संसारमा सबै कुरा पर्फेक्ट भन्ने कहिँपनि हुँदैन । हामीले विस्तारै परिमार्जन गर्दै लैजानुपर्छ ।

के नेपालका विश्वविद्यालयका पाठ्यक्रमहरुले विश्वको पछिल्लो उद्योग र यसकाे आवश्यकतालाई सम्बोधन गर्न सकेका छन् त ?

सूचना प्रविधिको क्षेत्र भनेको अहिले संसारमै सबैभन्दा तीव्र रुपमा विकास भइरहेको क्षेत्र हो । अहिले हामी क्वान्टम कम्प्युटरको कुरा गर्दै छौं ।

क्वान्टम कम्प्युटरको रियल एप्लिकेसनहरु अहिले चलिरहेका छन् । यसले सेक्युरिटीमा असर गर्छ । क्लासिकल कम्प्युटरमा १० वर्ष लाग्ने सिमुलेसन अहिले क्वान्टम कम्प्युटरमा आठ घण्टामै हुन्छ ।

त्यसैले इन्जिनियरिङको सबै क्षेत्रमा सूचना प्रविधिले प्रभाव पारिरहेको हुन्छ । त्यही भएर अहिले हामी स्नातक तहको पाठ्यक्रम परिमार्जन गर्दै छौं । समयसापेक्ष कस्तो शिक्षा दिँदा उत्कृष्ट हुन्छ भन्ने हिसाबले त्यसको काम सुरु गर्दै छौं । अन्य काेर्षहरू पनि समयसापेक्ष रुपमा परिमार्जन गर्दै लैजानुपर्ने छ ।

अहिले कोरोनाको महामारीले सबै क्षेत्रमा प्रभाव पारिरहेको छ । संभवतः शिक्षा क्षेत्रले सबैभन्दा ठूलो मार खेपिरहेको छ । प्रावधिक शिक्षाको नेतृत्व गर्ने एउटा संस्थाको नाताले इन्जिनियरिङ संस्थान स्वयम्‌ले हालसम्म त्यसको वैकल्पिक उपाय पहिल्याउन किन नसकेको होला ?

कोभिड–१९ ले संसारभर नै विषम् परिस्थिति सिर्जना गरेको छ । म यहाँ डीन भएर आएको केही सातामात्र भयो । इन्जिनियरिङ अध्ययन संस्थानका निवर्तमान सरहरुले अनलाइन शिक्षाका लागि निकै प्रयास पनि गर्नुभएको थियो ।

केही सरहरुले अहिले पनि अनलाइन कक्षा लिइरहनु भएको छ । अनलाइन कक्षा लिँदा विद्यार्थीहरुको सहभागिता कति हुन्छ भनेर वैशाख महिनातिरै ‘स्टाटिस्टिकल डेटा’ संकलन गरेका थियौं ।

त्यो समयमा स्नातकोत्तर तहका ७० प्रतिशत र स्नातकका ६० प्रतिशत विद्यार्थीले मात्र गूगल फर्ममा रिप्लाई गर्नुभयो । अब सबै विद्यार्थीलाई सहभागी नगराई कक्षा सञ्चालन गर्नु पनि उपयुक्त हुँदैन ।

म डीन भएर आएदेखि वैकल्पिक तरिकाबाट परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भनेर धेरै समय खर्चेको छु । वर्तमान समस्यालाई सबैभन्दा सजिलो रुपमा समाधान गर्ने उपाय खोज्दा भविष्यमा त्यसको के प्रभाव पर्छ भनेर पनि ख्याल गर्नुपर्छ ।

किनभने हामी आफूलाई प्रवुद्ध प्राणी ठान्छौं । चेतनशील प्राणीको हिसाबले अहिलेको समस्यालाई सजिलो हिसाबले समाधान गर्नु मानवीय स्वभावको कुरा पनि हो ।

तर त्यसरी वर्तमानमा सजिलो उपायको रुपमा समस्याको समाधान गर्दा त्यसको भविष्यमा कस्तो प्रभाव पर्छ भनेर हामीले अहिलेदेखि नै विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसैले हामीले सकेसम्म फेस टु फेस एक्जाममा जानुपर्छ । त्यो नै उपयुक्त मूल्याङ्कन विधि हो ।

भनेपछि प्राविधिक शिक्षाको सवालमा अनलाइन प्रणालीमा जान अझै चुनौती देख्नुहुन्छ ?

तपाईंलाई विक्रम सम्वत् २००७ सालको एसएलसीको बारेमा कति जानकारी छ भनेर मैले हाम्रा विद्यार्थी भाइबहिनीहरुलाई बेला बखत सोध्ने गर्छु । जतिखेर नेपालमा राणाकालीन समयबाट प्रजातन्त्रको प्रादुर्भाव हुने बेला थियो ।

त्यतिखेर एसएलसीका सबै कापीहरु बबरमहलमा राखिएको थियो । आन्दोलनको समयमा कापीहरु सबै जले । अनि २००७ सालको एसएलसीमा सबैलाई पास गराइयो ।

त्यसैले मैले अहिले विद्यार्थी भाइबहिनीहरुलाई त्यही भन्छु, हामीले सजिलो उपायको रुपमा समस्याको समाधान खोज्यौं भने आजभन्दा पाँच/सात वर्षपछि तपाईंहरुकै सिनियर र जुनियरहरुले प्रश्न उठाउँछन् ।

सजिलो उपायबाट पार पाउने कुरा समस्याको समाधान होइन । त्यही भएर अनलाइन क्लास चाहिँ कात्तिक ७ गतेसम्म सक्छौं । भनाइको मतलव झण्डै झण्डै नौ हप्ता हामी क्लास लिन सक्छौं ।

क्लास लिए पनि त्यहाँ समस्या रहन्छ । हामी प्राविधिक संस्था हौं । क्लास लिए पनि प्राक्टिकल धेरै हुन्छ । प्राक्टिकल त हामी अनलाइन गर्न सक्दैनौं ।

तर निश्चित प्राक्टिकल खासगरी आईटीसम्बन्धी प्राक्टिकललाई भने अनलाइनमा गर्न सक्छौं । तर ल्यावमा गर्नुपर्ने इलेक्ट्रोनिक डिभाइसहरुको प्राक्टिकल, सिभिलको सर्भे, मेकानिकलको मसिनको प्राक्टिकल अनलाइनमा गर्न सक्दैनौं । दशैं-तिहारपछि ल्यावको प्राक्टिकल गर्न सकिन्छ ।

यो अवस्थाले त हजारौं विद्यार्थीहरुलाई थप अन्यौल बनाइदिएको छ । यसको सहज उपाय के हुन सक्ला त ?

हाम्रो सेमेस्टर सकिन ६ महिना लाग्छ । अहिले अनलाइन कक्षा सुरु गरेका छौं । हाम्रा विद्यार्थी भाइबहिनीहरुको सेमेस्टर अब दुई महिना पछाडि जाने देखिन्छ ।

त्यही भएर त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकबाट त्रिभुवन विश्वविद्यालयका संस्थान र संकायहरुमा अब अनलाइन कक्षा लिने भनेर माइन्युटिङ भयो ।

हामी त्रिभुवन विश्वविद्यालय अन्तर्गत छौं । सबैलाई थाहा छ कि विद्यार्थी संख्याको हिसावले धेरै विद्यार्थी हुने संसारका थोरै विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय पनि पर्छ ।

विश्वविद्यालयले निर्णय गर्दा सबैलाई एकरुपता हुने गरी लिनुपर्छ । हुन त हामी स्वायत्त छौं । फेस टु फेस परीक्षा लिने मामिलामा हामी स्वायत्त छौं ।

अरु कुरामा हामी त्रिभुवन विश्वविद्यालयको निर्देशनअनुसार चल्नुपर्छ । त्यही कारणले पनि सायद अलिकति ढिलो भयो ।

म डीन भएर आइसकेपछि यीनै कुराहरुमा लागिरहेको छु । विद्यार्थी भाइबहिनीहरुलाई समस्या हुनु भएन । हामी अलिकति ढिलो त भइसक्यौं ।

अब यो ढिलोको प्रभाव अन्तिम वर्षका विद्यार्थीहरुलाई केही बढी पर्छ । तेस्रो, दोस्रो र पहिलो वर्षलाई विस्तारै व्यवस्थित गरेर लगिहाल्छौं ।

समस्या परेपछि उपयुक्त र न्यायोचित हिसावले समाधान गर्नुपर्छ र त्यसको दीर्घकालिन प्रभाव के पर्न सक्छ, त्यसको पनि विचार गर्नुपर्छ ।

शिक्षाजस्ताे संवेदनशील क्षेत्र यत्रो लामो समयसम्म अन्यौलमै गुज्रियाे । समयमै वैकल्पिक समाधान पहिल्याउन किन गाह्रो भएकाे हाेला ?

पुरानो एउटा उखान छ, खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । भन्नुको अर्थ समस्या अन्यत्र पनि छ । भारतमा पनि छ । सबैतिर छ ।

मान्छे भइसकेपछि आफ्नो समस्या बढी भएको ठान्छौं । अरुको चाहिँ हामीलाई कम लाग्छ ।

संसारभर नै कोभिडको समस्या छ । सबैले आ–आफ्नो हिसावले समस्याको समाधान गरिरहेका छन् । मूल्याङ्कन पनि आआफ्नै हिसावले गर्ने काम भइरहेको छ ।

अब समग्र रुपमा नेपालको लागि यो मेरो लामो अनुभवले के भन्छ भने अहिलेसम्म फेस टु फेस एक्जाम नै बढी उपयुक्त विधि हो । हामीकहाँ खुला विश्वविद्यालय छ ।

कोभिडको कुरा नहुँदाको समयमा पनि उसले अनलाइनमै कक्षा लिइरहेको थियो । मूल्याङ्कन पनि अनलाइनमै हुन्छ । तर अन्तिम मूल्याकंन चाहिँ फेस टु फेस परीक्षामै गरिरहेको छ ।

अनलाइनबाट परीक्षा लिँदा त्यति उपयुक्त नहुने ठानेरै खुला विश्वविद्यालयले त्यसो गरेको हो । अब संसारका विकसित मुलुकहरुमा अनलाइन परीक्षा लिने पद्दतिको विकास त भएको छ ।

तर त्यहाँ पनि यो नयाँ चुनौती हो । संसारमा धेरै खुला विश्वविद्यालय छन्, जसले अनलाइन परीक्षा लिन्छन् । प्रविधिको हिसावले याे प्रणालीकाे विकास पनि भइसकेको छ ।

अब हाम्रो परिवेशमा खुला विश्वविद्यालयमा सबै क्रियाकलाप अनलाइनमा हुनुपर्ने, तर गुणस्तर कायम गर्नका लागि अन्तिम परीक्षा फेस टु फेस गर्नुपर्छ भनेर चलिरहेको छ । त्यसैले परीक्षाका लागि सकेसम्म फेस टु फेस नै जाने भन्ने सोचिरहेका छौं ।

अब हामीसँग दुई/तीन महिनाको समय छ । अब दुई महिना अनलाइन क्लास लिन्छौं । कोभिडको समस्या घट्दै गयो भने हामी फेस टु फेसमै जान्छौं ।

भएन भनेदेखि सबैलाई न्यायोचित हुने गरी र मूल्याङ्कनमा समस्या नआउने गरी हामीले वैकल्पिक रुपमा पनि सोचिरहेका छौं । यसका लागि त्रिभुवन विश्वविद्यालयले चारवटा विधि तयार पारेको छ ।

शैक्षिक शत्र धेरै पछाडि धकेलिन नदिन क्यालेन्डरअनुसार विदाहरुको व्यवस्थापनको प्रश्न पनि महत्वपूर्ण हुन आउँछ । यसको सन्दर्भमा संस्थानको धारणा के छ ?

यस्तो विषम परिस्थिति बेलाबेला आउने गर्छ । नेपालमा मैले आफैले अनुभव गरेको घटना ०४६ सालमा पञ्चायतबाट प्रजान्त्रको रूपान्तरण हुने समयमा तीन/चार महिना समस्या आयो । विश्वविद्यालयका कक्षाहरू भएका थिएनन् ।

त्यस्तो बेला त्रिवि इन्जिनियरिङ संस्थानको इतिहासमा हामीले ‘फुल्फी’को अवधारणा ल्याएका थियौं । म सहायक डीन थिएँ, त्यो बेला ।

डीन राजेन्द्रधर जोशी सर हुनुहुन्थ्यो । त्यस्तै भूकम्प आयो, केही महिना कक्षा भएनन् । अहिले फेरि कोभिडको विपत्तिको समय छ । समस्या आयो भने हामीले समाधानको उपाय खोज्ने हो ।

अहिले पनि कसरी सुरक्षित हिसाबले उचित उपायहरु अवलम्बन गरेर कक्षाहरु सञ्चालन गर्न सक्छौं भन्नेतर्फ ध्यान दिइरहेका छौं । स्नातक तहमा पहिलो, दोस्रो र तेस्रो वर्षका कक्षाहरुका लागि त्यति समस्या देख्दिनँ ।

चौथो वा अन्तिम वर्षको हकमा हामीले यसअघि बनाएको योजनाअनुसार हेर्ने हो भने केही महिना बढी समय धकेलिन्छ । वास्तवमा भन्ने हो भने शैक्षिक क्यालेन्डरअनुसार कतैपनि समयमा काम नहुने भयो । कक्षा १२ कै परीक्षा ढिला हुने देखियो ।

त्यहाँबाट पास भएका विद्यार्थीहरु इन्ट्रान्स एक्जामका लागि यहाँ आउनपर्‍यो । अब इन्ट्रान्स एक्जाम कहिले गर्ने, त्यो अन्यौल नै छ । यो त संसारभर व्याप्त भइरहेको समस्या हो । सेसन केही ढिला चैं हुन्छ, तर धेरै ढिला हुन नदिन हामी प्रयासरत छौं ।

कक्षा १२ को प्रसंग निकाल्नुभयो । यसअघि असार/साउनमै संस्थानमा इन्ट्रान्स हुने समयतालिका थियो । अब प्लस टूकै परीक्षा हुन नसकिरहेको बेला यो समस्याको व्यस्थापन कसरी गर्न सकिएला ?

मैले प्लस टूको बारेमा बोल्न धेरै उपयुक्त हुँदैन होला । सम्बन्धित व्यक्तिहरूले नै यसको समाधानका लागि काम गरिरहनु भएको छ होला । मैले इन्जिनियरिङ शिक्षाअन्तर्गत स्नातक, स्नातकोत्तर र पीएचडीमा के-के गर्न सकिन्छ भनेर बोल्नु उपयक्त हुन्छ ।

स्नातकको तुलनामा स्नातकोत्तर तहमा समस्या छैन । यहाँ विद्यार्थीको संख्या थोरै हुन्छ । पीएचडीमा चैं केही समस्या होला ।

त्यहाँ पनि हामीले अनलाइन प्रविधिको व्यवस्था गर्ने भनेका छौं । हामी स्वायत्त संस्था भएपनि त्रिविअन्तर्गत छौं ।

हामीले केही नयाँ गर्नु छ भने त्रिविको अनुमति चाहिन्छ । पीएचडीको लागि नेपाल र नेपालबाहिरका एक्सपर्ट चाहिन्छ ।

हामीले नेपाली एक्स्पर्ट त फेस टु फेस गर्न सक्छौं, तर यो पनि कोभिडको कारण सबैतिर तत्काल हुने सम्भावना छैन । तर पीएचडीको सवालमा अनलाइनमार्फत् विदेशी विशेषज्ञको सहयोग लिन मिल्छ भनेर त्रिविले स्वीकृति दिएको छ ।

थाेरै सन्दर्भ बदलाैं । इन्जिनियरिङ संस्थानलाई एकथरी आरोप के लाग्ने गरेकाे छ भने याे पर्याप्त अनुसन्धान गर्ने संस्थानभन्दा प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा मात्रै चिनियो । संस्थानले अनुसन्धानको पाटोलाई खासै प्राथमिकता दिएन । अब तपाईं डीन भएपछि अनुसन्धानको विषय कत्तिकाे प्राथमिकतामा पर्ला ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो । इन्जिनियरिङ संस्थानको डीन भएर आएलगत्तै मलाई यही प्रश्न गरिएको थियो । इन्जिनियरिङ संस्थानमा अनुसन्धानका धेरै कार्य भइरहेका छन् ।

नभएको भन्न मिल्दैन । तर एउटा समस्या के हो भने ती भएका कार्यलाई एक्सपोज गर्न सकेनौं । वर्ल्ड र्‍याङ्कमा जानका लागि हामीले गरेका कार्यहरुलाई रिसर्च अर्गनाइजेसनहरुको र्‍याङ्किङमा लैजान सक्नुपर्छ ।

त्यसमा एउटा र्‍याङ्किङ भनेको गूगल स्कलर पनि हो । त्यसलाई उचित प्रयोग गर्न सकिन्छ । मैले सहायक डीनको संयोजकत्वमा आईओईअन्तर्गत भएका अनुसन्धानलाई कसरी एक्सपोजर दिन सकिन्छ भनेर कार्याविधि बनाउन निर्देशन दिएको छु । यसअनुसार पक्कै काम हुनेछ ।

यहाँ अनुसन्धान कम भएको भने होइन । हाम्रा प्राध्यापक साथीहरुले आफ्नै प्रयासबाट फन्डिङ ल्याएर अनुसन्धानका कार्य गरिरहनु भएकै छ ।

विश्वविद्यालय अनुदान आयोग, नास्ट आदिबाट फन्डङि आइरहेकै छ । यहाँ काम भइरहेकै छ । अब भने अनुसन्धान भएका वा भइरहेका कामलाई अन्तर्राष्ट्रिय मान्यता दिन म अग्रसर हुनेछु ।

अनुसन्धानकै लागि विश्वविद्यालय अनुदान आयोगले ५० करोड रुपैयाँ दिने भनेको छ । यसलाई उपयोग गर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउनेतर्फ के कस्तो योजना बनाउनु भएको छ ? साथमा अन्य ठाउँमा पनि फन्डिङका लागि कुनै प्रयास हुन सक्छ ?

अनुसन्धानका लागि स्तरीय ल्यावहरु जरुरी हुन्छन् । हाम्रो देशका ल्यावहरु स्नातक र स्नातकोत्तर कार्यक्रम कसरी चलाउने भन्नेतिर जोड दिन्छन् ।

यो फन्डिङको एउटा उद्देश्य भनेको रिसर्चका लागि ल्याव बनाउने पनि हो । साथै रिसर्च गरिरहेका प्रोफेसरहरुलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्नेतिर जाेड दिँदै छाैं ।

अझ यसलाई सुनियोजित रुपले कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्यविधि नै बनाएर जानुपर्छ । हामीले हरेक कामका लागि पहिले सिस्टम डेभलप गर्नुपर्छ ।

त्यो भयो भने अनुसन्धानको काम गर्न सक्छौं । मलाई यही प्रश्न ६ महिनापछि सोध्नुभयो भने पक्कै केही नयाँ र सकारात्मक जवाफ पाउनुहुनेछ ।

कोभिडको समस्याबाट सहज हुनासाथ अनुसन्धानलाई व्यवस्थित बनाउने र इन्जिननियरिङ संस्थानको र्‍याङ्किङलाई माथि उकास्ने बाटोमा हामी अग्रसर हुनेछाैं।

इन्जिनियरिङ संस्थानलाई वर्ल्ड र्‍याङ्कमा लैजाने तपाईंको सपना त छ । यो सपना पुरा गर्न संस्थानअन्तर्गतका संरचनाहरुको भूमिका महत्वपूर्ण हुन्छ । तर संस्थानअन्तर्गतका आईसीटी सेन्टर, डिजास्टर सेन्टर लगायतका संरचनाको भूमिका त्यति प्रभावकारी देखिँदैन । त्यसलाई प्रभावकारी बनाउन तपाईंसँग के छ योजना ?

इन्जिनियरिङ अध्ययन संस्थानमा अनुसन्धानसँग सम्बन्धित १० वटा केन्द्रहरु रहेका छन् । त्यसको प्रगति के छ भनेर केन्द्रका निर्देशकहरुसँग छलफल गरेको थिएँ ।

उहाँले काम गरिरहनु भएकै छ । तर कहिलेकाहीँ सोचेजस्तो परिणाम आउन सक्दैन । विभिन्न परिस्थितिका कारण परिणाम आउन सक्दैन ।

जस्तो अहिले कोभिड पनि एउटा कारण हुन सक्ला । उहाँहरु (केन्द्रका पदाधिकारी) एक्टिभ हुनुहुन्छ । अझै कसरी राम्रो गर्ने, कसैरी सबैलाई समेट्ने भन्नेतर्फ उहाँहरुसँग म निरन्तर छलफल अघि बढाउने छु ।

नेपालको शिक्षा पद्धतिकै कुरा गर्दा शिक्षालाई उद्योगसँग जोड्ने सवालमा धेरै बहसहरु भइरहेका हुन्छन् । पछिल्लो समय संस्थानअन्तर्गत इन्क्युबेसन सेन्टर पनि सञ्चालनमा आएको छ । तर पूर्ण रुपमा यसले काम थाल्न बाँकी नै छ । तपाईंको कार्यकालमा यसलाई कुन स्तरमा विकास भएको पाउँछौं ?

आजभन्दा २० वर्ष पहिले शिक्षण संस्था र उद्योगबीचको कन्फ्ल्क्टिको विषयमा बहस हुन्थ्यो । मैले त्यतिबेलै भन्थे कि यी दुईबीच सहकार्य पो आवश्यक छ । मैले विदेशका विकसित देशका सिस्टमहरुबारे अनुभव गर्न पाएँ ।

शिक्षा प्रणालीको चर्चा गर्दा नेपालमा क्लासिकल ब्रिटिश सिस्टम रहेको छ । यसले अघि बढिदैँन । टियूको पाठ्यक्रम बनाउने क्रममा मैले स्पस्ट रुपमा इन्डस्ट्रीसँग जोड्ने विषय राख्ने प्रयास गरेको छु ।

टेक्नोलोजीको बारेमा राम्रो जानकारी लिन सके विद्यार्थीहरू उद्योगमा जान सक्नुहुन्छ वा उच्च शिक्षा हासिल गर्न जान सक्नुहुन्छ । क्लासिकल ब्रिटिश सिस्टममा साधारण कुरा जटील तरिकाबाट पढाइन्छ ।

यता कोरिया, जापानजस्ता देशहरु जटील कुरा सरल रुपले सिकाउँछन् । वास्तवमा रियल प्राक्टिकल एप्लिकेशनमा जाने कुरामा हामीले पनि जोड दिनुपर्छ ।

जापान, कोरियाको जस्तै मास्टर्स र ब्याचलर्सको विषय सरल हुनुपर्छ । यसका लागि पाठ्यक्रम उद्याेगमैत्री हुनैपर्छ । हाम्रा प्राध्यापक सरहरु र सम्बन्धित ठाउँमा बसेका व्यक्तिहरु सबै मिलेर यसमा पक्कै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरेको छु ।

अहिले संस्थानअन्तर्गत पाँच वटा आंगिक क्याम्पस र दश वटा सम्बन्धनप्राप्त निजी कलेज छन् । आंगीक क्याम्पसमा विद्यार्थीको अभाव नहुने । यता निजी कलेजमा सिभिल, कम्प्युटरमा चासो देखिए पनि इलेक्ट्रोनिक्समा विद्यार्थी नै नपुग्ने अवस्था छ । यो समस्या किन आएको होला ?

यो समयअनुसार परिवर्तन हुने कुरा रहेछ । २० वर्षपहिले इलेक्ट्रोनिक्स इन्जिनियरिङको माग धेरै थियो । भूकम्पपछि सिभिलको माग बढ्यो । कम्प्युटर इन्जिनियरिङको माग यथावत् नै छ ।

यसअघि हामीले इलेक्ट्रोनिक्समा कम्युनिकेसन्सको विषय बढी भयो, यसमा कम्प्युटरसम्बन्धी कोर्षहरु पनि राख्नुपर्छ भनेर इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड इन्फरमेसन विषय राखेका हौं ।

अर्कोकुरा अघिको प्रश्नको जवाफमा हामीले मास्टर्सको प्रोग्राम नयाँ डिपार्टमेन्टबाट सञ्चालन गराउने तयारी गरेका छौं । यो प्रोगाम इन्डस्ट्री ओरियन्टेड हुन्छ ।

हाम्रोमा मसिन लर्निङको ट्रेनिङ पनि चलिरहेको छ । त्यसमा मैले मसिन लर्निङको परिचयबारे की नोट स्पीच पनि दिएको थिएँ ।

हामीले अन्तरक्रिया गरिरहेका हुन्छौं । नयाँ पाठ्यक्रममा आईटीसम्बन्धी विषय समट्ने तयारी भने गरिरहेका छौं ।

यता कम्प्युट र प्राविधिक विषयसमेत समेट्न इन्जिनियरिङ अध्ययन संस्थान छ । अर्कोतिर विज्ञान संकायअन्तर्गत कम्प्युटर विज्ञानको केन्द्रीय विभाग छ । पढाई हुने विषयमा खासै फरक देखिँदैन । एउटै विश्वविद्यालयअन्तर्गत आईटीका फरक फरक कोर्षहरु राख्दा कसरी समन्वय हुने गरेको छ ?

मैले समन्वयकाे अभाव त देख्दिनँ । कम्प्युटर साइन्सको स्नातक तहको कार्यक्रम सुरु गर्दा म सहायक डीन थिएँ । मेरै कोठामा भारतीय विज्ञ पनि आएर बसेर पाठ्यक्रम तयार पारेका थियौं ।

एउटा फरक चैं कम्प्युटर साइन्स र इन्जिनियरिङमा के छ भने कम्प्युटर इन्जिनियरिङमा बेसिक इन्जिनियरिङका सिद्धान्त पढाउँछौं । त्यो भनेको इन्जिनियरिङ ड्रइङ, टेक्निकल एप्लिकेसनको हिसाबले अप्लाइड मेकानिक्स जस्ता विषयहरु हुन् ।

इन्जिनियरिङका लागि मसिनसँग काम गर्नुपर्ने भएकाले वर्कशपहरु बढी हुन्छन् । कम्प्युटर साइन्सका विषयमा भने हामी बढीजसो सफ्टवेयरतर्फ गइरहेका हुन्छौं ।

विधाको हिसाबले नै यी विषयबीच केही फरक छ । हाम्रो जस्तो देशमा हार्डवेयरमै जान नसकेको सन्दर्भले सफ्टवेयर डेभलपमेन्टतिर जोड दिने कोर्ष आवश्यक हुन्छ ।

कम्प्युटर इन्जिनियरिङ होस् वा कम्प्युटर साइन्स दुवैमा सफ्टवेयर डेभलपमेन्टका विषय समावेश गरिएको छ । यसर्थ धेरै फरक त छैन । पहिलो वर्षको पाठ्यक्रममा चाहिँ फरक नै हुन्छ ।

बाहिर पढेर आउने विद्यार्थीले एक्वीभ्यालेन्ट सर्टिफिकेट लिन धेरै झन्झट व्यहोर्नुपरेको देखिन्छ । विशेषगरी सूचना प्रविधिसम्बन्धी विषय पढेका विद्यार्थीलाई इन्जिनियरिङ संस्थानले कम्प्युटर साइन्सको केन्द्रीय विभाग पठाउने, उसले फेरि यहीँ फर्काउने भइरहेको छ । यस्तो किन भएको होला ?

इन्जिनियरिङ अध्ययन संस्थानले कुनै पनि विद्यार्थीलाई सर्टिफिकेटको इन्वीभ्यालेसन (मान्यता) दिन निश्चित मापदण्ड अपनाउँछ । मुख्य कुरा स्नातक तहमा इन्जिनियरिङ पढेको हो कि होइन भनेर जाँच्छौं ।

स्नातकोत्तर तह पनि इन्जिनियरिङ हो कि होइन भनेर हेर्छौं । इन्जिनियरिङमा पृष्ठभूमि नभएको पाएमात्र उता पठाउँछौं ।

सौभाग्यवश दुवैबाट जाँच्ने टिमको सदस्यमा म छु । हामीले सकेसम्म कसैलाई अन्याय नपरोस् भन्ने चाहेका हुन्छौं । इक्वीभ्यालेसनका लागि आवेदन दिने भाइबहिनीहरुले पनि पहिल्यै यो कुरा सोचेर आउनुपर्छ ।

सूचना प्रविधिको सवालमा उपल्ला निकायहरू नै गम्भीर र स्पष्ट देखिँदैनन् । कहिले यो पाटाे विज्ञान मन्त्रालयले हेर्ने, कहिले सञ्चार मन्त्रालयले हेर्ने । अर्काेतर्फ सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरणजस्ता निकायहरूकाे काम पनि बाझिने गरेको देखिन्छ । नीतिगत तहदेखि नै संरचनागत दुविधा कायम छ । यसलाई तपाईंले कसरी हेर्नु भएको छ ?

यसको जवाफ दिन मैले विश्वकै सन्दर्भ निकाल्नुपर्छ । विश्वका प्रमुख १० धनी व्यक्तिमध्ये ६ जना सूचना प्रविधि क्षेत्रका छन् । अर्कोतिर धनी भएका देशहरुमा सूचना प्रविधिको छुट्टै मन्त्रालय खडा गरिएको छ ।

हाम्रै छिमेकी देश भारतमा पनि छ । हामीले विकसित देशहरुको मोडेल नक्कल गर्न नसकेपनि सार्क मुलुकको मोडेल हेरेर भए पनि अभ्यासमा ल्याउन त सकिन्छ ।

मैले विभिन्न बैठकहरुमा पनि यो भन्ने गरेको छु कि छुट्टै र एकीकृत सूचना प्रविधि मन्त्रालय चाहिन्छ । त्यसबाट हरेक निकाय र कामकाे नियन्त्रण हुनुपर्छ ।

आजको विकासमा आईटीको भूमिका धेरै छ । कृषि, पर्यटनजस्तै अब आईटी पनि मुख्य क्षेत्रको रुपमा परिभाषित गरिनुपर्छ ।

हामीले जति पनि कुरा गरिरहेका छौं, ती सबै राज्यको नीतिसँग जोडिन्छन् । तर राज्यको नीतिमा त्यो स्पष्टता छैन । राज्यमा त्यो प्रकारको विज्ञताको अभाव हुने, तर यता प्राज्ञिक क्षेत्र विज्ञतालाई सरकारले उपयोग गर्न नसक्ने । यस्तो किसिमको ग्यापलाई मेट्न के गर्नुपर्ला ?

यो कुरा मेरो तहभन्दा माथिको पर्‍याे । माथिको संयन्त्रबाटै यस्ता विषय कसरी सम्बाेधन गर्ने भन्ने कुरा हुनुपर्छ । विज्ञको हिसाबले हामीले आफ्नो विज्ञता प्रस्तुत गर्ने हाे ।

सरकारका पनि आफ्ना धेरै समस्याहरु छन् । त्यसलाई सम्बन्धित सबै सराेकारवाला बसेर, सहकार्य गरेर समाधान गर्न नसकिने भन्ने होइन ।

यसअघि पनि विज्ञहरुसहितका विभिन्न निकाय गठन भएकै हुन् । जस्तो सूचना प्रविधि परिषद् गठन भयो । म पनि सदस्य बनेको थिएँ ।

सरोकारवालाबीच पक्कै पनि सहकार्य हुनुपर्छ । धेरै देशमा राष्ट्रपति, प्रधानमन्त्रीले विश्वविद्यालयका प्राज्ञिक वर्गसँग छलफल गर्छन् र नीति तर्जुमा गर्न सजिलाे हुन्छ ।

यहाँ हामीले पनि आफूलाई अन्तर्राष्ट्रिय जगतमा एक्सपोज गराउनपर्ने आवश्यकता छ । त्यस्तै सरकारले पनि सहकार्य कसरी गर्न सकिन्छ भनेर सोच्नपर्छ । एक हातले ताली बज्दैन भन्ने कुरा सबैले बुझ्नुपर्ने हुन्छ ।

अहिले ज्ञानमा आधारित समाजको अवधारणा आइरहेका बेला प्राज्ञिक क्षेत्र अझ व्यस्त हुनुपर्ने हो । तर सरकारको माथिल्लो तहमा बस्ने व्यक्तिहरुमा आफैँ जान्ने भन्ने किसिमको दम्भ देखिन्छ । प्राज्ञिक क्षेत्र र माथिल्लो तहबीचको यस प्रकारको असहिष्णुता कसरी मेट्न सकिएला ?

मलाई तपाईंले यो गारै प्रश्न सोध्नुभयो । अब हामी सबै विश्वविद्यालयका मान्छेहरु पर्फेक्ट छौं भनेर पनि म भन्न सक्दिनँ । हामी विस्तारै पर्फेक्ट हुँर्दै जानपर्‍याे । माथिल्लाे तह तल आउन सक्नुपर्छ, अनि तलको तह माथि जानपर्छ । अनिमात्र मिलन विन्दु हुन सक्छ ।

इतिहासमा भएका कमजोरीबाट सिकेर हामीले भविष्य कसरी राम्रोसँग परिमार्जित गर्न सक्छौं, त्यसमा साेच्न जरूरी छ ।

माथिल्लो तहमा पुगेपछि म अधिकारसम्पन्न भएँ भन्न थाल्यो भने सिस्टम बिग्रन्छ । मेरो गोरुको बाह्रै टक्का भनेर हुँदैन । हामीभित्रको अहमलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा हाम्रै हातमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३