close

भारतको भोडाफोन आईडियाबाट बाहिरियो एनसेलमा लगानी रहेको आजियाटा

टेकपाना टेकपाना

भदौ ५, २०७७ १७:१३

भारतको भोडाफोन आईडियाबाट बाहिरियो एनसेलमा लगानी रहेको आजियाटा

काठमाडौं । मलेसियन आजियाटा समूहले भारतीय टेलिकम कम्पनी भोडाफोन आईडियामा रहेको आफ्नो बाँकी शेयर बिक्री गरेको छ । नेपालमा एनसेलमा लगानी गरेको समूहको एसियाका विभिन्न टेलिकम कम्पनीमा लगानी रहेको छ ।

पछिल्लो समय भोडाफोन आईडियाको बजार लगातार खस्किँदै गएपछि कम्पनी भारतबाट बाहिरिएको हो । आजियाटा समूहले सन् २००८ मा आईडिया सेलुलरको २० प्रतिशत शेयर खरिद गरेको थियो ।

तर यसको होल्डिंग र स्टकको मूल्यमा पछिल्लो दशक निरन्तर गिरावट आएको थियो । सन् २०१८ मा भोडाफोनसँग पुनः सम्झौता गर्दा आजयाटाले आफ्नो शेयर घटाएर ८.१५ मा झारेको थियो ।

जसको मूल्य ३५.२ अर्ब भारु (५६ अर्ब ३२ करोड रुपैयाँ) रहेको थियो । तर कम्पनीले मर्जरमा भाग नलिने निर्णय गरेपछि उक्त शेयर २.४८ प्रतिशतमा झरेको थियो । यसमाथि अझ घट्दै गएर सन् २०१९ डिसेम्बर सम्म आइपुग्दा भोडाफोनमा आजियाटाको शेयर १.०५ प्रतिशतमा सीमित हुन पुगेको थियो ।

उक्त मितिमा कम्पनीको शेयरको भ्यालु १.२ अर्ब भारतिय रुपैयाँ (एक अर्ब ९२ करोड रुपैयाँ) मात्रै रहन पुग्यो । यति सानो शेयरका साथ कम्पनीमा रहनुभन्दा बाहिरिनु उचित रहेको भन्दै आजियाटाले सन् २०२० मार्चमा कम्पनीबाट बाहिरिने प्रक्रिया अगाडि बढाएको थियो ।

त्यसैका आधारमा समूह भोडाफोन आईडियाबाट पूर्ण रुपमा बाहिरिएको हो ।भोडाफोनबाट बाहिरिएको भएतापनि कम्पनीले भारतकै अर्को ठुलो टेलिकम कम्पनी रिलायन्स जियोमा एक अर्ब अमेरिकी डलर (एक खर्ब २० अर्ब रुपैयाँ) लगानी गर्ने विषयमा छलफल अघि बढाएको इकोनोमिक्स टाइम्समा उल्लेख छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३