close

सार्वजनिक यातायातमा डिजिटल सिस्टम जडान गर्दै थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स

टेकपाना टेकपाना

भदौ ५, २०७७ १६:३५

सार्वजनिक यातायातमा डिजिटल सिस्टम जडान गर्दै थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स

काठमाडौं । सार्वजनिक सवारीसाधनमा डिजिटल भुक्तानी प्रणाली लागु गर्न थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रालि र सिद्धार्थ बैंकबीच हकार्य सुरु भएको छ । सार्वजनिक सवारीको क्षेत्रमा नवीनतम् प्रविधि  विकास गरी आधुनिकीकरण गर्ने क्रममा दुई पक्षबीच व्यावसायिक सम्झौता भएको हो । 

सम्झौतापत्रमा थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत श्री खुशल रेग्मी तथा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरे ।

थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रालिले विकसित गरेको उक्त प्रणालीमा डिजिटल रुपमा भाडा भुक्तानीसँगै जीपीएस ट्र्याकिङ, बहुउपयोगी स्मार्ट बोर्ड, मोबाइल एप्लिकेसन लगायतका प्रविधि रहेका छन् । 

थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले कम्पनी आफैंले विकास गरेको यो सिस्टमको प्रयोगबाट यातायात व्यवसायी, सर्वसाधारण, सरकार, यातायात कर्मचारी लगायत सम्पूर्ण सरोकारवालालाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।

सम्झौताअनुसार थ्रीसिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सअन्तर्गत सञ्चालनमा रहेका यातायातमा सिद्धार्थ बैंकको पस (पीओएस) मसिन राखिनेछ ।  यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड, क्यूआरकोड आदिको प्रयोग गरी पसमार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । 

सवारीसाधनमा भाडा भुक्तानीका लागि प्रयोग गरिने स्मार्ट कार्ड यातायातबाट र सिद्धार्थ बैंकका शाखाहरुबाट खरिद गर्न सकिनेछ । साथै कार्डमा आवश्यकता अनुसार नगद लोड गर्न सकिने सुविधा समेत रहेको छ । 

यस किसिमको अग्रसरताबाट हालको कोरोनाको महामारीको समयमा राष्ट्र बैंकको नीति अनुरुप नगद रहित तथा डिजिटल भुक्तानीको प्रयोग बढ्ने विश्वास गरिएको छ ।  

थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्समा प्रविधि विकासको कार्य गरिरहेका अनुसन्धानकर्ता रामप्रसाद रिमालका अनुसार सार्वजनिक यातायातमा डिजिटाइजेसनका लागि कार्ड सहित विभिन्न छ प्रकारका उपकरणहरु जडान गरिनेछ ।

सार्वजनिक यातायातको क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाई छ ।

प्रमुख कार्यकारी अधिकृत खुसल रेग्मीले संस्था गैर आवासीय नेपाली, जलविद्युत क्षेत्र, वित्तीय तथा मानव संसाधन व्यवस्थापनका क्षेत्रमा काम गरिरहेका संस्थापकहरुबाट संचालित भएकाले छिट्टै आम सर्वसाधारण, व्यवसायी लगायतको विश्वास जित्ने दाबी गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३