close

एप्पलले माफी मागेपछि वर्डप्रेस एपमा आउन थाल्यो नयाँ अपडेट

टेकपाना टेकपाना

भदौ ७, २०७७ १४:४

एप्पलले माफी मागेपछि वर्डप्रेस एपमा आउन थाल्यो नयाँ अपडेट

काठमाडौं । एप्पलले करिब एक महिनापछि आफ्नो एप स्टोरमा रहेको वर्डप्रेस एपका नयाँ अपडेटहरु अप्रुभ गरेको छ । निःशुल्क र ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सर्भिस (सीएमएस) को रुपमा विश्वभरी वर्डप्रेस चिनिन्छ ।

तर एक महिनाअघि एकाएक एप्पलले वर्डप्रेसका नयाँ अपडेट अप्रुभ गर्न छोडेको थियो । वर्डप्रेसले एप्पलको ‘ईन–एप पर्चेज मेकानिजम’ अनुसार एपभित्रै भुक्तानी प्रक्रिया समावेश नगरेकाले नयाँ अपडेटहरु अप्रुभ गरेकाे थिएन ।

तर यसले प्रयोगकर्तालाई कुनै पनि चिज बिक्री नगर्ने भएकाले नयाँ अपडेट राेक्नु एप्पलकाे गल्ती भएकाे प्रतिक्रियाहरू आएका थिए ।

वर्डप्रेसका संस्थापक मुलेनवेगका अनुसार आफूहरुले एपमा रहेका सपोर्ट पेजहरुलाई मात्र ब्लक गर्न अनुरोध गरेपनि एप्पलले आफ्नो प्रस्ताव अस्वीकार गरेको बताए ।

एप्पलको विचारमा वर्डप्रेस एपले सिधै केही चिज बिक्री नगरेपनि एपमा रहेका सपोर्ट पेजहरु मार्फत प्रयोगकर्तालाई ‘पेड वर्डप्रेस डटकम प्लानहरु’ वा डोमेन किन्न चाहेमा वर्डप्रेसको वेबपेजमा जान मिल्ने सुविधा दिएको छ ।

यही कारण एप्पलले वर्डप्रेस एपका नयाँ अपडेटहरु अप्रुभ नगरिदिएको हो । निःशुल्क रुपमा वेबसाइट र ब्लग बनाउन र व्यवस्थापन गर्न वर्डप्रेस एपको प्रयोग हुँदै आएको छ ।

एप्पलले वर्डप्रेस एपबाट ३० प्रतिशत आम्दानी लिनका लागि एपभित्र पेमेन्ट सिस्टम राख्न संकेत गरेपनि यो एपबाट कुनै पनि खरिदबिक्री नहुने भएकाले अन्ततः एप्पल आफ्नो कदमबाट पछाडि सरेको हो ।

एप्पलले वर्डप्रेसको डेभलपर अटोमेट्टिक टिमलाई खबर गरी आफ्नो तर्फबाट सिर्जना भएको भ्रमलाई लिएर माफी मागेको छ ।

‘हामीले डेभलपरलाई खबर गरेका छौं र हामीले सिर्जना गरेको भ्रमलाई लिएर हामीले माफी मागिसकेका छौं,’ एप्पलले भनेको छ ।

वर्डप्रेसका संस्थापकले एप्पलको यो कदमलाई स्वागत गरेका छन् ।

एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३