close

अब सबै सार्वजनिक सवारीमा जीपीएस राखिने, एपमै बूकिङदेखि ट्र्याकिङको सुविधा

टेकपाना टेकपाना

भदौ ८, २०७७ १२:४७

अब सबै सार्वजनिक सवारीमा जीपीएस राखिने, एपमै बूकिङदेखि ट्र्याकिङको सुविधा

काठमाडौं । सार्वजनिक सवारी साधनलाई व्यवस्थित गरी दुर्घटना न्यूनीकरण गर्न चालू आर्थिक वर्षभित्रै ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताए । बोलपत्र मूल्याङ्कन सम्पन्न भइसकेको भन्दै उनले सम्झौता हुने क्रममा रहेको बताए ।

उनका अनुसार नेपाली कम्पनीले एक वर्षमा सबै सार्वजनिक यातायातमा जीपीएस जडानको काम गर्नेछ । छ महिना सफ्टवेयरको काम गर्ने र छ महिनामा हार्डवेयरको काम गर्ने हमालको भनाई छ ।

सुरुमा दुई/तीन सय सवारी साधनमा विभाग आफैँले परीक्षण गर्ने बताइएको छ । त्यसपछि एसियाली विकास बैङ्क (एडीबी) सँगको सम्झौता अनुसार काम गरिनेछ ।

त्यसका लागि एडीबीसँग विभागले सहकार्य सुरु गरिसकेको छ । सार्वजनिक सवारीसाधनमा राख्ने जीपीएसको हार्डवेयर सवारीधनीले नै किन्नुपर्नेछ । बजारमा त्यसको मूल्य पाँच/छ हजार रुपैयाँ पर्ने बताइएको छ ।

‘जीपीएस र इम्बोस्ड नम्बर प्लेट एकअर्कामा अन्तरसम्बन्धित रहने गरी जडान गर्दै छौं । हाल इम्बोस्ड नम्बर प्लेट वितरणको आवेदन खुला भए पनि बन्दाबन्दीले प्रभावित भएको छ,’ महानिर्देशक हमालले भने ।

जीपीएस जडान पश्चात सवारी साधनको गति, अवस्था र स्थानको जानकारी लिन सकिने र निगरानी गर्न सकिने बताइएको छ । जीपीएस जडान हुँदा दुर्घटना समेत न्यूनीकरण हुने दाबी उनको छ ।

तीव्र गतिका कारण दुर्घटना हुँदै आएकोमा गति तीव्र भएको खण्डमा तुरुन्त चालकलाई म्यासेज जाने उनको भनाई छ । यसरी चालकको निगरानी हुने र त्यसबाट उनीहरुको व्यवहारमा परिवर्तन हुनुका साथै अटेर गरे कारबाहीसम्म गरिने जनाइएको छ ।

त्यस्तै गाडी कहाँ छ भन्ने कुराको जानकारी जीपीएसबाटै प्राप्त हुनेछ र यात्रुले समेत प्रयोग गर्न मिल्ने गरी जीपीएस सहितको मोबाइल एप तयार पारिनेछ ।

जसमा यात्रुले आफू जाने स्थान र रुट अनुसार टिकट बूक गर्नसक्ने तथा गाडीको अवस्था वा गाडी कहाँ छ भनेर हेर्न सक्ने छन् ।

गोरखापत्रबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३